एकनाथ चौधरी- मेरा यी अनुभव कसैलाई चित्त दुखाउन वा घोचपेच गर्न लेखिएको होइन। थारु माननीय सभासदहरु जो अलगअलग पार्टीबाट प्रतनिधित्व गरेपनि जातिगत पहिचानको मुद्दामा एकजुट भएर जाने आँट देखाउनुभएको छ। उहाँहरुको कदम एकदमै सराहनीय छ। इतिहास रचेको यस कदमप्रति हामी सबै थारु युवा गौरवान्वित छौं। आ-आफ्नो पार्टीको दायराभन्दा माथि उठेर आपसी छलफलद्वारा निष्कर्षमा पुगि मागपत्र पेस गर्नु, नेपालकै कुनै एक जाति विशेषको संसदीय समूहद्वारा मागपत्र पेस भएको सायद इतिहासमै पहिलो घटना हो। यसले मलाई एकदमै हर्षित बनाएको छ। केही अगाडि नै हुनुपर्ने कुरा ढिलै सही भए। माघ ८ मा संविधान नआउने पक्कापक्की भएकाले अब नेपाली राजनीतिमा यो एकताले कसो असर नपार्ला? यो एकता सधैंभरिका लागि कायम राख्न मेरो मनको कुराले ऊर्जा पुगोस् भनेर अन्तराष्ट्रिय दबाब समितिमार्फत् खुशीका दुई शब्द पोखेकोमात्रै हुँ।
मैले मेरो जीवनको बाल्यकालदेखि उत्तर युवावस्थाको २३ वर्ष पञ्चायती व्यवस्थामा जानीनजानी ‘हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ’को नारा लगाएँ। मध्य युवावस्थामा नाममात्रको संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र, तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’पछिको प्रत्यक्ष शासनकाल र ज्ञानेन्द्रको उत्तराखण्डपश्चात् आएको लोकतन्त्रको नाममा अर्पित गरे। अब उत्तर युवावस्थामा कछुवाको चालमा हिँडिरहेको कथित गणतन्त्र र संघीयताबीचको पौठेजोरी हेर्दै बस्न बाध्य भइरहेको छु। अचानक हिजो हाम्रा अगुवाहरुले लामबद्ध भएर एकै स्वरमा आवाज उठाएको कुरा डिजिटल छापामा पढ्न पाउँदा हर्षले मेरो खुट्टाले झन्डै भूइँ नै छुन छोडेको थियो। मैले आजसम्म बिताएका ४८ वर्षे जीवनकालमा हाम्रो पहिलो सन्तान जन्मिदा पाएको खुसी पछाडिको यो दोस्रो खुसीको क्षण थियो, मेरा लागि।
खुसी नहुनु पनि कसरी? राजनीतिक परिवर्तनबीच यत्रा वर्ष बितिसक्दा पनि कहीँ कसैले तराईको औंलोसँग प्राणको बाजी थापेर दिनरात पसिना चुहाइ घना जंगलले ढाकिएको जमिनलाई बसोबास र खेतीयोग्य जमिन बनाएर सारा नेपालीलाई खाद्यान्नमा योगदान पुर्याउने पूर्खाका सन्ततीहरुका भाषा र संसकृति, हक अधिकारको विषयमा संगठितरुपले देशकै कार्यपालिकामा आवाज उठाउने इतिहासमै पहिलो घटना हो। हो, तपाईँले सही पत्ता लगाउनुभयो, मैले कुरा गर्दैछु हामी थारू जातिको। जुन कूलमा जन्म लिएकोमा हामी गौरव गर्छौं।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका फाँटहरुमा गएर हेर्नुस्, गारा गारामा खोज्नुस, हाम्रा पूर्खाका परिश्रम गरेको पसिनाको थोपा अझै टिल्पिलाइरहेको भेट्नु हुनेछ। तीनका सन्तानहरु कान्लाका डल्लाहरू फुटाइरहेका भेट्नु हुनेछ। यति ठूलो त्याग र बलिदान दिनेक़ा छोराछोरीहरु दुःख सुखका कुरा सुनसरीका दाइले नवलपरासी बसेका भाइलाई सुनाउनुपर्दा माध्यम भाषाको रुपमा अर्काको लवजको सहारा लिनुपर्ने हुन्छ। त्यतिखेर मेरो मन कटक्क दुखेर आउँछ। हरे कस्तो विडम्बना? आज दुबै ठाउँका दाजुभाइको बोली एकै भइदिएको भए! आँखा रसाएर आउँछ के गर्ने? भाग्यले यस्तो भएको होइन, न प्रकृतिले नै यस्तो बनाएको हो। मोरंगकी राधा चौधरीले अचरा, खरकी भने कैलालीकी वसन्ती दहितले घाघ्रा चोली लाउनुपर्ने पनि आफ्नै बाध्यताका कथा हुन्। दुवै पहिरनले आङ्ग छोप्न र आकर्षक बन्न लगइन्छ तर समान छैनन्, किन? उत्तर खोज्ने अहिले उचित समय हो। यस्तै अवस्था सायद नेपालका प्राय: सबै जनजाति आदिवासीका सन्तानहरुले पनि भोगिरहेका छन् कि? एक खोजीको विषय हुनसक्छ।
कारण विगतका शासक वर्गमध्ये प्राय: सबै एकै वंशजबाट आए। तिनीहरुले आश्वासनका पहाड पनि न बाँडेका होइनन् तर त्यसका खेस्राहरु रद्दीका टोकरीमा थन्किनुबाहेक केही भएन। त्यसमाथि ‘हाम्रो भाषा हाम्रो भेष…’ भन्दै आफ्नो भाषा र संस्कृति लाद्ने अर्घेल्याइ गरी नै रह्यो। हेर्नुस् आज म पनि त्यहीँ चपेटामा परी तपाईँहरुसँग मेरो मनको कुरा गर्न मनले न मान्दामान्दै पनि त्यही जबरजस्ती लादिएका बोलीको अनुकरण गर्न बाध्य छु। मेची र काली जोड्ने हाम्रो पनि एकै लवज भएको भए कस्तो राम्रो हुन्थ्यो हगि? देशको ५ प्रतिशत जनताले पनि नलगाउने ढाका र कालो भादगाउँले टोपीलाई नेपाली हो भनि चिनाउने माध्यमको रुपमा मान्ने परम्परा पञ्चायतले सुरु गरेयता अझसम्म कायमै छ। नपत्याए टोपी नलगाइ खिचिएको तस्बिर बेगर नागरिकताको प्रमाणपत्र लिएर देखाउनुस् त, सक्नुहुन्छ? तराईका ग्रामीण भेगमा अझ पनि धोती लगाउनेको संख्यामा कमि आएको छैन। तर, धोती लाउनेलाई ‘ए धोती’ भनि हेप्ने मानसिकताको विकास तिनै शासक वर्गका मुट्ठी भरका व्यक्तिहरुको कारणले भएको हो भन्नुमा अत्युक्ति नहोला।
हाम्रो भाषाको विकासमा टेवा पुग्ने विद्यालय भएन। न पाठ्य पुस्तककै विकासमा ध्यान दिने काम भयो। प्रत्येक पटक नयाँ शिक्षा नीति लागू गर्ने बेलामा जनजाति आदिवासीको भाषाको विकासका लागि पाठ्यपुस्तक छपाइ गर्ने योजना त बनाइन्छ तर त्यो कागजमा मात्र सिमित हुन पुग्छ र अन्तमा रद्दीको टोकरीमा थन्काइन्छ। हामी कहाँ मलेसियाबारे नजान्नेको संख्यामा कमि छैन। जहाँ अलग-अलग भाषा संस्कृति भएका रैथाने मलय, चाइनिज र भारतीय गरी तीन मुख्य जातिका मानिसहरुको बसाइ छन्। प्रत्येकको भाषा र संस्कृतिको विकासका लागि छुट्टै स्कुल कलेजहरुको व्यवस्था छ। जहाँबाट उत्पादित जनशक्तिले देशको विकासमा समान अवसर पाएका छन्, जसले गर्दा आज मलेसियाको आर्थिक उन्नति हाम्रो दाँजो कहाँ पुगिसकेको छ। हाम्रा बेरोजगार युवा समूहका लागि एक प्रमुख रोजगारीको गन्तव्य बनेको कुरा सर्वविद्धितै छ। तर, विडम्वना यहाँ हाम्रो देशमा भने चाहना र योग्यता हुँदा पनि सम्पूर्ण देश नै मुट्ठीभरका एकै समूहका व्यक्तिहरुको पेवा बनेका छन्। सम्पूर्ण प्रसाशन र कर्मचारीतन्त्रमा नातावाद र कृपावादले जरा गाडेको पनि युगौ भइसक्यो। नेपाल राज्यको गठन भएदेखि नै हामी थारुलगायत अरु जनजाति आदिवासी, मधेसी र दलितका सन्तानलाई नाममात्रका अवसर प्राप्त हुने तथ्य जगजाहेर नै छ।
त्यसैले आज ती सरकार र कर्मचारीतन्त्रमा जरो गाडेर बसेका वर्ग, संघीयता र पहिचानका मुद्दाका कारण भित्रभित्रै आफ्नो सिदा पानि गुम्ने हुन कि? भनेर तर्सिँदैछन्। देश टुक्रिने हौवा खडा गरी कहिले ज्ञानेन्द्र कार्ड त कहिले कमल थापा कार्डहरुको प्रयोगले नपुगेर हुँदाहुँदा अब मोदी कार्डलाई भजाउने कोसिस गर्न धर्म निरपेक्ष घोषणा भइसकेको देशलाई फेरि हिन्दू अतिवादको भूमरीमा फर्काएर ल्याउने दिवास्वप्न देख्न थालेका छन्। नपत्याए प्रत्येक दिनको पत्रपत्रिका या अनलाइन पोर्टलका समाचारहरु पढ्नुस् त। मानौं भारतीय प्रधानमन्त्री मोदी यिनीहरुका लागि गडफादर बनेर आउँदैछ। कति त धोती भनेर नथाक्नेहरु दक्षिण दिशाको दौडाहामा व्यस्त पनि भइसकेको कुरा यहाँहरुलाई विद्धितै छ।
कमजोरी हामी र हाम्रा सिंगो थारु समुदायभित्रै पनि नभएको होइन। वर्षभरि नै खेती किसानी काममा व्यस्त रहने हाम्रा पूर्खाहरुले आफू र आफ्ना सन्तानलाई शिक्षाको पहुँचभन्दा टाँढा राखे। यही कमजोरीको फाइदा उठाउने तिनै शासक र देशलाई चुस्न पल्केका वर्गले उठाउनसक्ने फाइदा उठाए। थारुका छोरा-छोरीका लागि उनीहरुकै भाषामा शिक्षा दिने व्यवस्था भयो भने उनीहरुलाई लुटन सकिँदैन भनेर नै होला हाम्रो भाषाको विकासमा कहिलयै ध्यान दिएनन्। बरू सोझा सरल हाम्रा पूर्खालाई कहीँ काका कहीँ दाजु आदि बनावटि साइनो जोड्दै लुटिरहे।
यो त भयो १९औं र २०औं शताब्दीका कुरा। तर, २१औं शताब्दीको संघारमा आएर अहिले हाम्रो समुदायमा पनि शिक्षित युवा वर्गको एउटा जमात नै खडा भएको छ। कति त अवसरको खोजी गर्दागर्दै आजित भएर रोजगारीको लागि मजस्तै विदेशिएका छन्। कोही भने स्वदेशमै संघर्षरत छन्। यिनै युवा जमात हाम्रो पहिचानसहितको संघीयता पाउने लडाइँका शक्ति हुन सक्छन्। यिनै जमातको बलमा तराई खडा हुने थारुहट प्रदेशहरुमा विकासका मूल फुटाउन सक्छौं। दुनियाँलाई हामी आदिवासी भूमिपुत्रहरु पनि कम छैनौं भनेर प्रमाणित गर्न सक्छौं।
माननीय सभासदज्यूहरु, तपाईँहरु सधैं एकजुट भएर आफूले पेस गर्नुभएको प्रस्तावको पक्षमा अडिग रहनुस्। युवा पुस्ताले दिएका सल्लाह सुझाव सुन्नुस्। थारु कल्याणकारिणी समिति र अन्य गन्य मान्य हाम्रा थारु अगुवासँगको परामर्श जारी राखनुस्। आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति अगुवा दाजुभाइसँग पनि हार विमर्श जारी राखनुस्। तर, आफ्नो अडानमा ज्युँका त्युँ अलिकति पनि विचलित नभइ अडिग रहनुस्। सम्पूर्ण थारु युवापुस्ता तपइँहरुको साथमा छ। होइन भने शासन गर्न पल्केकाहरु फेरि हाबी हुन सक्छ। हाम्रा पूर्खाका रगत पसिनाले आर्जिएको तराई प्रदेश फेरि गुलाम भएरै बस्न बाध्य हुनेछ। स्मरण रहोस्! यतिबेला तपाइँहरु असफल हुनुको अर्थ हाम्रा भाबी पुस्ता पनि असफल हुनु हो। जसका लागि तपाइँहरुलाई आउने पुस्ताले कहिल्यै माफ गर्ने छैनन्। यो अकाट्य सत्य हो गाँठो परेर राख्दा हुन्छ।
संघर्षको यस दौरानमा तपाइँहरुमाथि साम्प्रदायिक भएको आरोप लगाउने मुखहरू धेरै होलान्। त्यसलाई वास्ता नगर्नुस्। किनकि हामी भूमिपुत्र हौं। हामीलाई आफ्नो हकअधिकार प्राप्तीका लागि लड्ने हक छ। यो कसैले खोस्न सक्दैनन्। हामी भारत र पाकिस्तानबाट आएका हैनौं। यो कुरा इतिहाँसले प्रमाणित गरिसको छ। तराई हाम्रो घर हो। यही जन्मिऔं। यहीँ विकासको मूल फुटेको हेर्न चाहन्छौं। यहीँको माटोमा मर्न चाहन्छौं। हामी रैथाने हौँ। बसाइ सरेर आएकाहरुलाई के माया लाग्छ र यहाँको? डुल्न पल्केकाहरु त हिजो भारत र पाकिस्तान थियो। भोलि आसाम,त्रिपुरा नागाल्याण्डको बाटो बर्मा थाइल्याण्ड पुग्ला। अझ देशबाट चुसेको सम्पति बोकेर अमेरिका नै पुग्ला। तर, तराई सिचने कल्ले? डुलुवाहरुलाई त बानि बसेको छ। तिनीहरुको रगतमै वंसानुगत गुण छ। एक ठाउँमा जन्मिने हुर्किने फेरि त्यस ठाउँको हेरचाह वास्ता नगरी अर्कै ठाउँमा सर्ने र उततै आफ्नो जाल फैलाउने। तर हामी बहुसंख्यक तराईबासी भूमिपुत्र थारुहरुलाई हामी जन्मेको यो ठाउँको कति माया छ, यो कुरा त जगजाहेर छ। हामी भारतको रासन कार्ड थाप्न आसाम जादैनौं। न जम्मु काश्मिरमा हात थाप्न। उत्ताको रासन कार्ड थापेर यताको नागरिकता चोरेर भए पनि लिने र दुई तिरकै नागरिक भएर बस्नेलाई सोध्नुस्, उनीहरु नेपाली हुन् कि भारतीय? उता बस्दा सधैं सलाम गरिरहेका यता भेट भएको बेला हामी सँच्चा नेपाली हुँ भन्ने देखाउन ‘धोती’ भन्न पछि नपर्नेहरु त यहाँ पचेकै छ भने, हामीलाई कसैले साम्प्रदायिक भयो भनेर आरोप लगायो भने हामीले ‘हो हाम्रो जन्मस्थलको रक्षाका लागि हामी साम्प्रदायिक नै भएका हौं’ भनेर मुक्खभरिको जवाफ दिन किन डराउने?
एकम्बा-७, सुनसरी। हालः कतार
अन्तर्राष्ट्रिय दबाब समिति/कतार