लोप हुँदै थारू समुदायका परम्परागत गहना

tharu ornaments

गणेश चौधरी, टीकापुर- पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारू समुदायको रहनसहन र ठाउँअनुसार भेषभूषा तथा गहना फरकफरक रहेको पाइन्छ। दाङदेखि पश्चिम कञ्चनपुरसम्मका दंगाली थारूको गहना विशेष किसिमको छ। यिनीहरूले लगाउने गहना विशेषगरी चाँदी र सुनका हुने गर्छन्। पछिल्लो समय यिनीहरूले लगाउने पुराना गहना लोप हुँदै जान थालेका छन्।

थारू महिलाले लगाउने गहना उहिले थारू बस्तीमै पुगेर सुनार जातिले थारू परम्परा र संस्कृति सुहाउँदो बनाउने गरेका थिए। अहिले भने गाउँमा आएर गहना बनाउने चलन हराएको छ। बजारमा पनि थारू जातिका महिलाले लगाउने पुराना गहना नपाइने टीकापुरका सुनचाँदी व्यवसायी अभिशेष ज्वेलर्सका विश्वशान्ति वडले बताए। ‘पुराना परम्परागत गहना आजभोलि कसैले लगाउने चाहना नै गर्दैनन्,’ उनले भने, ‘ती पुराना गहना बनाउन पनि गाह्रो छ।’ १० हजारको गहना बनाउन करिब १५ हजारको मिहिनेत लाग्ने उनले बताए।

उनका अनुसार थारू महिलाले लगाउने सबै गहना करिब ५ किलोसम्मको हुन्छ र सबै गहनाको मूल्य जोड्दा कम्तीमा ५ लाख हुन्छ। पुराना गहना लगाउने चलन पनि हराउँदै गएकाले परम्परागत गहना बनाउने सीप पनि आफूहरूसित नभएको उनले बताए।

दुर्गौली-७, सूवर्णकी बसपती चौधरी पुराना दिन सम्झदै भन्छिन्, ‘हामीकहाँ दांगबाट वर्षोनी गहना बनाउन सुनार आउँथे। महिना, दुई महिना डेरा गरेर गाउँभरिको गहना बनाएर फर्कन्थे। अब पहिलाजस्तो गहना सुनारले बनाउन पनि जान्दैनन्।’

आधुनिक परिवेशसँगै थारू महिलाले गहना लगाउने अभ्यासमा पनि कमि भएकाले पुराना गहना लगाउने र बनाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ। गरिबीका कारण थारू महिलाले प्रयोग गर्ने गहना प्रयोग गर्न र संग्रह गर्न गाह्रो भइरहेको छ। नयाँ पुस्ता आधुनिक प्रकारका गहनातर्फ आकषिर्त हुन थालेपछि पुराना गहना लगाउने परम्परा हराउँदै गएको स्थानीय चम्मन चौधरीले बताउँछन्। ‘पुराना गहना बिगारेर नयाँ बनाउने चलन बढ्दै गएको छ,’ उनले भने, ‘अर्कोतर्फ अहिलेका कतिपय सुनारसित पुराना गहना बनाउने सीप पनि पाइँदैन।’

थारू महिलाका अनुसार उनीहरूले लगाउने गहनामा कपालमा चाँदीको सगिया, जुर्रा वा मगौरी, निधारमा सुनको वा बजारमा पाइने टिकुली, नाकमा सुनको बुलाकी, नथ्या, फेंफी वा फुली, कानमा चाँदीको वीर प्रमुख हुन्।

यसैगरी अइरम, टर्की वा मरवारी, सुनको लुर्की, घाँटीमा चाँदीको हुमेल, सिक्री, गटैया, कनसेहरी, सुटिया वा टौंक, हातमा लाखक चुरिया, सुन वा चाँदीको मुन्द्री, काचको चुरिया, चाँदीको लगरही, टरिया, विजाइट र खुट्टामा चाँदीको विछिया, रुन्झुन, छारा, पैंरी कारा वा चुरुवा उनीहरूका पुराना मौलिक गहना हुन्।

Leave a Reply

Your email address will not be published.