पद्मरत्‍न तुलाधार र नागेन्द्र कुमालबीच सँगै आन्दोलन गर्ने सहमति

Padmaratna and nagendra

काठमाडौं- जातीय पहिचानसहितको संघीयताका लागि आन्दोलन गर्न पदमरत्न तुलाधरको नेतृत्वमा गठित राष्ट्रिय आन्दोलन समिति र नेपाल आदिवासी जनजाति महासंघबीच संयुक्त आन्दोलन गर्ने सहमति भएको छ। आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको पहलमा सोमबार महासंघ अध्यक्ष नागेन्द्र कुमाल र राष्ट्रिय आन्दोलनका अध्यक्ष तुलाधरबीच भएको वार्ताबाट संयुक्तरुपमा आन्दोलनमा जाने सहमति भएको फोनिज अध्यक्ष डण्ड गुरुङले जनाएका छन्।

कुमाल र तुलाधरले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा जातीय पहिचान सहितको संघीय संविधान जारी गर्ने मुद्दामा एक भएर आन्दोलन गर्ने सहमति भएको उल्लेख छ। आन्दोलनको स्वरुप र कार्यक्रमबारे थप छलफल गर्ने संयुक्त वक्तव्यमा जनाइएको छ।
यसअघि महासंघसँग सल्लाह नगरी तुलाधर नेतृत्वमा राष्ट्रिय आन्दोलन घोषणा गरिएपछि महासंघका पदाधिकारी बिभाजित भएका थिए।

‘तुलाधर हैन लेखी मुर्गा’

आदिवासी जनाजति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले आदिवासी जनाजतिका मुद्दा नसमेटिएको भन्दै तुलाधर नेतृत्वको मोर्चालाई नसघाउने बताएका थिए। त्यतिमात्र हैन, उनले थारु कल्याणकारिणी सभालाई तुलाधर मोर्चालाई नसाघाउन निर्णयसमेत गराएका थिए। हिजोमात्र लेखीले एक अन्तर्वार्तामा ‘पहाडे जनाजतिले पद्मरत्‍न तुलाधरलाई मुर्गा बनाएको’ बताएका थिए। आदिवासी जनाजति महासं‌घका अध्यक्ष कुमाल र तुलाधरको सहमतिपछि लेखी आफैं मुर्गा बनेको एक जनाजति नेताले बताए।

मंसिर ४ गते खबरदारी सभा

जनजाति महासंघले मंसिर ४ गते प्रज्ञा प्रतिष्ठानमा ‘खबरदारी सभा’ गर्ने निर्णय गरेको छ। संविधान सभाबाटै पहिचानसहितको संघीय संविधान जारी गराउने उद्देश्यले खबरदारी सभा आयोजना गरेको महासंघले जनाएको छ। सो सभामा तुलाधर नेतृत्वको नेताहरु पनि उपस्थित हुने बुझिएको छ।

तुलाधर र कुमालबीच भएको सहमति पत्र यस्तो छ:

NEfin Agreement

One thought on “पद्मरत्‍न तुलाधार र नागेन्द्र कुमालबीच सँगै आन्दोलन गर्ने सहमति

  1. थारु कल्याणकारिणी सभाका नेतृत्वकर्ताहरु यतिबेला आवश्यकता भन्दा बढी जान्ने भएका कारण यस्तो हुँदैछ । चिरैयक जिउ जाइता लडकनके खेलवाड भन्ने थारु उखान जस्तै अहिले मोर्चाबन्दी गरी संयुक्त रुपमा लड्नुपर्ने बेलामा ब्यक्तिगत अहंकार स्वार्थ मान सम्मानका कारण आन्दोलनलाई जानी जानी कमजाेर पारिंदैछ । भोलीका दिनमा थरुहट आन्दोलनलाई धक्का पुग्यो भने जिम्मेवार को हुने ? प्रश्न उब्जेको छ । थारु कल्याणकारिणी सभाका केन्द्रीय नेता सबै जिम्मेवार हुनुपर्छ यसको लागि ।
    ७ प्रदेशको खाकालाई लिएर जति गम्भिर थारु सभासद देखिए यतिबेला थारु कल्याणकारिणी सभाका नेताहरु देखिएनन् । जिम्मेवार हुन अनुरोध छ । थारु कल्याणकारिणी सभा कैलाली र थारु नागरिक समाज कैलाली चाहिं संयुक्त रुपमा गरिने आन्दोलनलाई खुला दिलले समर्थन गर्नेछ ।

Leave a Reply

Your email address will not be published.