जनजाति महासंघको दबाबमूलक अभियानमा थाकसले सहयोग गर्ने

nagendra Kumal

लक्की चौधरी, काठमाडौं- आदिबासी जनजातिहरुको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघले ‘पहिचानसहितको संघीयता र संघीयतासहितको नयाँ संविधान’ निर्धारित समयभित्र निर्माणकालागि मंसिर ४ गतेदेखि दबाबमूलक अभियान सुरु गर्ने भएको छ। महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले पूर्वनिर्धारित दबाबमूलक कार्यक्रमलाई मंसिर ४ गतेदेखि प्रभावकारीरुपमा अगाडि बढाउने तयारी भएको जानकारी दिए। राज्यबाट सदियौंदेखि चेपुवामा परेका आदिबासी जनजातिको मुख्य सवाल नै पहिचानसहितको संघीयता रहेको भन्दै अध्यक्ष कुमालले त्यसकालागि सशख्त दवावमूलक कार्यक्रम सुरु गर्ने बताए।

त्यस्तै, थारु समुदायको छाता संस्था थारु कल्याणकारिणीसभाले पनि आदिबासी जनजाति महासंघको दबाबमूलक कार्यक्रममा सहयोग गर्ने निर्णय गरेको छ। काठमाडौंमा शनिबारदेखि बसेको सभाको सचिवालय बैठकले आदिबासीको छाता संगठन महासंघको घटक संगठनको नाताले त्यसको अभियानमा साथदिने निर्णय गरेको हो। सभाका अध्यक्ष धनीराम चौधरीले पहिचानसहितको संघीयताका लागि सभाको तर्फबाट महासंघलाई सघाउने निर्णय भएको जानकारी दिए।

महासंघको आन्दोलनको कार्यक्रमअघि नै पद्मरत्न तुलाधर संयोजकत्वको आदिबासी जनजातिको सवालमा सुरु गरिएको थियो। तर अभियानलाईसमेत महासंघअन्तर्गत नै ल्याएर दबाबको कार्यक्रम प्रभावकारी बनाउने पहल भइरहेको अध्यक्ष कुमालले बताए। यसअघि महासंघ तुलाधर नेतृत्वको अभियानको विरोधीकोरुपमा टिप्पणी गरिँदै आएको थियो।
तर त्यस्तो नभएको कुमालले प्रष्ट्याए। ‘आदिबासी जनजातिको सवालमा गरिने कुनै पनि आन्दोलनमा महासंघको ऐक्यबद्धता रहन्छ तर महासंघ नै नेतृत्वदावी संस्था भएकाले त्यस मातहत नै सबै दबाबमूलक कार्यक्रम हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ कुमालले भने। त्यसका लागि तुलाधर नेतृत्वको अभियन्तासँग छलफल भइरहेको उनले बताए।

Dhaniram chy

थारु अगुवा राजकुमार लेखीले तुलाधर नेतृत्वको अभियानले पहाडी आदिबासी जनजातिको सबाललाई मात्रै प्राथमिकता दिएको आरोप लगाए। तराईमा बसोबास गर्ने आदिबासी थारुको सबालमा सो अभियान उदासिन रहेको भन्दै उनले महासंघको अभियानमा थारु कल्याणकारणी सभा सरिक हुने निर्णय भएको बताए। सभाको लुम्बिनीमा मंसिर २५ देखि २७ गतेसम्म हुने विशेष बैठकले थप जागरणमूलक आन्दोलनको घोषणा गर्ने लेखीले जानकारी दिए।
तुलाधर नेतृत्वको अभियानलाई २२ दलीय गठबन्धनसँग नजिक रहेको आरोप लाग्दै आएको छ। महासंघको नेतृत्वले सबैको साझा मुद्दा बोक्ने पुरानो संस्था भएकाले त्यसको अभियानमा समर्थन गर्ने थारु नेताहरुले बताएका छन्।

यो पनि पढ्नुस्:

पद्मरत्न नेतृत्वको आन्दोलनमा विवाद

Leave a Reply

Your email address will not be published.