रुक्मिनी र इन्द्रजीत थाकसको केन्द्रीय सल्लाहकारमा नियुक्त, केन्द्रीय परिषद् बैठक बोलाइयो

Indrajit And Rukmini tharu

उदयपुर- थारु कल्याणकारिणी सभाको केन्द्रीय सचिवालय बैठकले रुक्मिनी चौधरी र इन्द्रजीत थारुलाई केन्द्रीय सल्लाहकारमा नियुक्त गरेको छ। उदयपुरको गाईघाटमा बसेको बैठकले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की सभासद रुकमिणी चौधरी र एमाओवादीका पूर्वसभासद इन्द्रजित चौधरीलाई संगठनको सल्लाहकारमा नियुक्त गरेको हो।

बैठकले २२ दल र अन्य कुनै पनि पक्षसँग मोर्चा बनाएर आन्दोलन नगर्ने निर्णय पनि गरेको छ। थाकसका अध्यक्ष धनीराम चौधरीले भने, ‘आदिवासी जनजाति महासंघ हाम्रो साझा संगठन हो। त्यो संगठनसँग मिलेर आन्दोलन गर्छौं, कुनै राजनीतिक दलको भ्रातृसंगठन बनेर हामी आन्दोलनमा जाँदैनौं।’

तराईका मुद्दा नउठाउने, पहाडका आदिवासीको मुद्दा मात्र उठाउने कुनै पनि आन्दोलनमा आफ्नो समर्थन नरहने थाकसले जनाएको छ। थाकसका केन्द्रीय सदस्य राजकुमार लेखीले भने, ‘हिमाल पहाड तराई बोक्ने आन्दोलन गरौं, त्यसमा थाकस सहभागी हुन्छ तर पहाडको मात्र मुद्दा बोक्ने, पहाडमा धेरै प्रदेश बनाउने तर तराईलाई सीमित प्रदेशमा खुम्चाउने उहिलेका राजा महेन्द्रको जस्तो प्रवृत्ति बोकेकाहरुसँग मिलेर हामी आन्दोलनमा जाँदैनौं।’

बैठकले समयमै संविधान जारी गर्न, संविधानको मस्यौदा जनसमक्ष ल्याउन माग गर्दै थारु जागरण अभियानलाई निरन्तरता पनि दिने भएको छ। कात्तिक १५ गते राजधानीबाट सुरु भएको जागरण अभियान माघ मसान्तसम्म चल्ने लेखीले बताए।

जागरण अभियानकै क्रममा शुक्रबार उदयपुरमा कार्यक्रममा आयोजना गरियो। थारु समुदायलाई अब बन्ने नयाँ संविधानमा पहिचान र अधिकार सुनिश्चित हुन पाउनेबारे जनचेतना जगाउने उद्देश्यले यो अभियानको थालनी गरेको लेखीले बताए।

त्यस्तै बैठकले मंसिर २५, २६ र २७ गते केन्द्रीउ परिषद्को बैठक गर्नेसमेत निर्णय गरेको छ। यसअघि चन्द्रकुमार चौधरीले एउटा पनि परिषद् बैठक नबोलाएकाले छिट्टै बैठक बोलाइएको अध्यक्ष धनिरामले बताए। उनका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, जिल्ला सभापति र जिल्ला कार्यसमितिका सदस्यहरुको उपस्थिति रहनेछ।

यो पनि पढ्नुस्:

जनजाति महासंघको दबाबमूलक अभियानमा थाकसले सहयोग गर्ने

Leave a Reply

Your email address will not be published.