धनगढीमा २२ दलीय मोर्चाको आमसभा, ‘अङ्कगणितीय आधारमा संविधान बनाउन खोजे मुठभेड’

 22 party strike in dhangadhi

अविनश चौधरी, धनगढी- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले काङ्ग्रेस एमालेले एकलौटी ढङ्गले संविधान बनाउन खोजेको आरोप लगाएका छन्। दुबै पार्टीले बहुमतको आडमा २०४७ कै संविधानलाई पुनरावृत्ति गराउन खोजेको आरोप लगाउँदै उनले अङ्कगणितीय आधारमा संविधान बनाउन खोजे ठूलो मुठभेड हुने बताए।

शनिबार धनगढीमा आयोजित २२ दलको सभालाई सम्बोधन गर्दै दाहालले विस्तृत शान्ति सम्झौताको लक्ष्मण रेखालाई बेवास्ता गरेर काङ्ग्रेस एमाले अघि बढिरहेको बताए। उनले भने, ‘हिजोको सम्पूर्ण सहमतिहरु सम्बोधन हुनेगरी संविधान सभाबाटै संविधान बन्नु पर्छ। तर काङ्ग्रेस एमाले विस्तृत शान्ति सम्झौता, मधेसी, आदिवासी जनजाति, थारु समुदायसंग भएको सम्झौतालाई कुल्चेर अघि बढ्ने प्रयासमा छन्।’

हिजोको दिनमा भएका सम्झौताहरु तोडेर अघि बढ्नेहरु राजावादी हुने भन्दै दाहालले काङ्ग्रेस एमाले गणतन्त्र र संघीयताको पक्षमा नरहेको बताए। ‘दुबै पार्टीका नेताहरु आफूहरु गणतन्त्रवादी र संघीयतावादी नरहेको मेरै मुखमा भन्ने गर्छन्,’ उनले भने, ‘यस्तो विचारधारा राजावादीहरुको हो।’

अहिलेको सरकार राजनीतिक धरातलबाट सञ्चालन भएको भन्दै दाहालले शान्ति सम्झौतालाई कुल्चने चेष्टा गरे यो सरकारलाई राजनीतिक आधारमा सरकारमा बस्ने अधिकार नरहने बताए।

कसैले गणीतिय रुपमा सरकार चलाउँछ भने त्यो सरकारलाई तोड्ने र बनाउने अधिकार जनतामा निहीत रहेको छ भन्दै उनले अगाडि थपे, ‘यदि उनीहरुले आफ्नो गल्ती स्वीकारेनन् भने २२ दलले सरकार चलाउने अवस्था आउँछ।’

22 party strike in dhangadhi 3

काङ्ग्रेस र एमालेका नेताहरुले १० महिनासम्म संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बोलाएको बैठकमा नबसी विदेश भ्रमणमै रमाएको प्रचण्डले आरोप लगाए। उनले भने, ‘१०/१० महिना उनीहरु विभिन्न बहाना र विदेश भ्रमणका कारण संवाद समितिले बोलाएको बैठकमै उपस्थित भएनन्। एकैचोटी २०४७ सालको जस्तो सात प्रदेशको प्रस्ताव ल्याएर जनतालाई संघीयताको नाममा ठग्न खोजेका छन्। उनीहरुको प्रस्तावले जनतालाई अधिकार मिल्दैन, पहिचान दिँदैन।’

उनीहरुले आफू शान्तिको अपिल गर्नका लागि रोल्पाको बङ्करमा पुगेको र त्यसलाई गलत रुपमा व्याख्या नगर्न आग्रह गरे।

सोही सभालाई सम्बोधन गर्दै मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छादारले नेपाली जनताले गरेको बलिदानको रक्षा गर्ने जिम्मेवारी दाहालकै काँधमा रहेको बताए। उनले भने, ‘हामी २२ दलले दाहालजीलाई नै अभिभावक बनाएका छौं। तपाई एक दलको नेता मात्रै हैन, २२ दलको अभिभावक पनि हो।’

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस एमालेले मुलुकलाई गोलमाल गर्न लागेको बताउँदै गोलमाल हुनबाट जोगाउन आन्दोलनका लागि तयार रहन अपिल गरे।
त्यस्तै, मधेसी जन अधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस एमालेको घोषणापत्र जस्तै बन्ने संविधान बनेकै दिन जलाउने र विद्रोह गर्ने चेतावनी दिए।

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले बहुतीय प्रणालीका आधारमा संविधान बनाउन खोजे काँग्रेस एमाले भित्रकै ६७ जना सभासदहरु विद्रोह गर्ने तयारीमा रहेको बताए।

यसैगरी संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले कांग्रेस एमाले पहिचान विरोधी पार्टी रहेको बताउनुभयो। २२ दलका नेताहरुले पहिचानसहितको संघीयता र संघीयता सहितको संविधान बनाउन दबाव दिनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्।

2 thoughts on “धनगढीमा २२ दलीय मोर्चाको आमसभा, ‘अङ्कगणितीय आधारमा संविधान बनाउन खोजे मुठभेड’

  1. सम्पूर्ण पिडित आदिबासि तथा जनजातिको पहिचान हुने गरी संघिय राज्य बनोस् र यो संबिधानले सबैको अधिकार र पहिचान सुनिश्चित र रक्षा गरोस्। प्रचण्डजी बाट कुनै धोका नहोस्। बधाई छ २२ दलको गठबन्धनलाई। “आफ्नो मामा नहुनु भन्दा कानो मामा नै जाती” भन्छन्। Something is better than nothing. तराईको मेची देखि महाकाली सम्मका थरुहट भुमि पनि अब थारुहरुको गद्दारी, बिमति, एकबद्धताको कमिले २ भागमा टुक्रिने भयो। यिनै थारुहरुले गर्दा तराईको आधा भाग “मधेस प्रदेस” बन्ने म्यानडेट मधेसीहरुलाई प्राप्त हुँदैछन्। विजय कुमार गच्छदार जीले थारुको लागि केहि गर्नु भएन। उनी थारु हुँदा हुँदै थरुहट प्रदेस बनाउन सक्नु भएन। नेपाली राजनितिको पुरानो र धूर्त एवं सक्षम खेलाडि भनेर चिनिनु बेग्लै कुरा हो। नेपाली काँग्रेसमा हँदा पनि केहि गर्नु भएन र मधेसी जनाधिकार फोरममा बसेर झन थरुहट प्रदेसलाई “मधेस प्रदेस” बनाउन लागेका हुन्। जसरि रामायणमा विभिषणलाई कुलद्रोही भनेर आरोप लागेका छन् आफ्नै दाजु रावणबाट, हो यसै गरी विजय कुमार जीलाई पनि कुलद्रोहीको आरोप थारु समुदायबाट लागेका छन्। यो आरोपलाई पखाल्ने मौका अझै छन् विजयकुमार गच्छदार जीसंग। उहाँले पूर्वी तराईलाई पनि थरुहट प्रदेस बनाएर थारुको अपन्तवको शासन स्थापित गराउन सफल हुनु भयो भने।

    जय होस्..। जय थारुवान..। जय नेपाल..।

  2. एमाले र काँग्रेस संघियगणतन्त्र ,धर्मनिर्पेक्ष स्विकार नगरि २०४७ सालकै संबिधान पुनराब्रिती गर्न खोजी रहेकोहुनाले यिनिहरु राजाबादी हुन ।

Leave a Reply

Your email address will not be published.