प्रहरी ‘सेलिब्रिटी’ भइन् राउटे चेली

अविनाश चौधरी- सर्ट, पाईन्ट लगाएको मान्छे देखे वा भेटेमा शिकार पर्दैन भनेर राउटे समुदायमा विश्वास गरिन्छ। प्रायः बाँदरको शिकार गर्ने नेपालको यो लोपोन्मुख जातिले त्यसरी मानिस भेटिए ईश्वर रिसाएको ठान्दछन्। तर, यो विश्वासको दलदलबाट निस्केर एक राउटे चेली सर्ट, पाईन्टमा देखा परेकी छन्, त्यो पनि प्रहरी पोशाकमा।
अहिलेसम्म फिरन्ते र जङ्गली जीवनशैलीको रुपमा पहिचान देखाउँदै आएको राउटे समुदायमा रुपान्तरणको झलक देखिएको छ। त्यसको उदाहरण हुन डडेल्धुरा आलिटालकी कमला राउटे।

एक वर्षदेखि नेपाल प्रहरी सेेवामा सक्रिय उनी नेपालकै प्रथम राउटे प्रहरी महिलाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छन्। प्रहरी अधिकारीहरुका अनुसार राउटे जातिबाट अन्य दुई जना पुरुषहरु प्रहरी जागिर खाइरहेपनि महिलामा कमला नै प्रथम हुन। प्रहरी सङ्गठनमा उनलाई राउटे सेलिब्रिटीको रुपमा चिन्न थालिएको छ।

विक्रम सम्वत २०७० सालमा खुल्ला प्रतिस्पर्धा गरी उनी नेपाल प्रहरीमा भर्ना भएकी हुन। ‘प्रहरी जागिरे हुन्छु भन्ने ढृढ आँटका कारण यो स्थानसम्म पुग्न सफल भए,’ कमलाले भनिन्, ‘यहाँसम्म पुग्न पाएकोमा साह्रै खुशी लागेको छ।’

सितिमिती बोल्न नचाहने, लजालु स्वभाव र गोरी वर्णकी कमलालाई प्रहरी जागिर खानका लागि परिवारबाट भने अवरोध भएन। उनको परिवारमा धेरै जना सदस्य रहेका छन्। साईलाको छोरी उनले आफू अलि जान्ने बुझ्ने भएपछि परिवारभित्र समस्यै समस्या देखिन्। त्यही समस्याका कारण नै केही गर्छु भन्ने विश्वास कमलामा सानैदेखि पलाएको थियो। Kamala Raute

उनले परिवारलाई समस्याबाट उकास्नका लागि पहिले आफू अध्ययन गर्नु पर्ने सोचाईका साथ आफ्नो माध्यमिक तहसम्मको शिक्षालाई निरन्तरता दिई २०६९ सालको एसएलसी परीक्षामा पास भइ्न्।

‘त्यही बेला दीपायलमा प्रहरी भर्नाका लागि आवेदन खुलेको साथीहरुबाट थाहा पाएपछि मैले पनि फाराम भरें,’ कमलाले अगाडि थपिन्, ‘समयले मेरो पक्षमा निर्णय गरेपछि प्रहरी जवान बन्न सफल भएँ।’ एउटा फिरन्ते समुदायका चेली भएर आफू नेपाल र नेपाली जनताको सुरक्षा गर्ने सेवामा सक्रिय हुन पाउँदा गर्व लागेको उनले बताइन्।

सुरुमा काठमाण्डौं स्थित पुनरावेदन अदालतमा पोष्टिङ्ग भएपनि अहिले कमला धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा काजमा कार्यरत रहेकी छन्।

उनले अवसर पाएपछि राउटेको चेली पनि जस्तोसुकै काम गर्न सक्ने बताउँदै अरु बहिनीहरु पनि अध्ययन गरिरहेको र उनीहरुपनि आफू जस्तै काम गर्न सक्ने विश्वास व्यक्त गरिन्।

राउटे समुदायबाट प्रहरी सेवामा आएपनि उनको वास्तविक पहिचान भने अहिलेसम्म लुकाइएको छ। पोशाकमा लगाइने नाम प्लेटमा कमला रावत लेखिएकोले मानिसहरुले झ्वाट्ट उनलाई राउटे समुदायकी चेली भनेर चिन्न सक्दैनन्।

कमलाको वास्तविक पहिचान लुकाइएकोमा प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रहरी नायब उपरीक्षक गंगा पन्त पनि चकित भएकी छन्। उनले भनिन्, ‘कमला बहिनी राउटे समुदायबाट प्रहरी सेवामा आएको सेलिब्रिटी हो। उनको वास्तविक पहिचान लुकाउनु हुन्न। किनकी उनको पहिचानबाटै उनी गर्व गर्न सक्छिन्।’

नाम प्लेटमा थर सच्याउन निर्देशन दिएको जनाउँदै डीएसपी पन्तले अहिलेसम्म अन्य क्षेत्रमा नभएको उदाहरणीय कार्य प्रहरी सङ्गठनमा भएकोमा गर्व लागेको बताइन्। उनले प्रहरीमा विभिन्न समुदायका व्यक्ति भएपछि सम्बन्धित समुदायमा काम गर्न सजिलो हुने गरेको सुनाइन्।

नेपालको जनगणना २०६८ अनुसार राउटे जातिको कूल जनसंख्या छ सय १८ जना रहेको छ। त्यसमध्ये निजामति सेवामा कम्तिमा चार जना व्यक्ति मात्रै सक्रिय रहेको बुझिएको छ।

कर तिर्नु, माँगेर खानु र गाउँमा बस्नुलाई राउटेले अपराध मान्ने गर्दछन्। काठको भाँडा बनाई गाउँबाट अन्न साटेर ल्याउनु र जङ्गगलको कन्दमूल पेट भर्ने आधार हो। तर, पछिल्लो केही घटनाले राउटे समुदायपनि अवसर र रुपान्तरणको खोजीमा रहेको बुझ्न सकिन्छ।

Leave a Reply

Your email address will not be published.