गच्छदारले भने- ‘थरुहट प्रदेश हुनुपर्छ’

Bijay Gachhadarविराटनगर- मधेसी जनाधिकार फोरम( लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नवलपरासीदेखि कैलाली जिल्लासम्मको तराईको भूभागलाई थरुहट प्रदेश नामाकरण गर्नुपर्ने बताएका छन्।

सुनसरीको चिमडी गाविसको दैता गाउँमा आइतबार आयोजित थारु सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष गच्छदारले उक्त क्षेत्रमा ६५ प्रतिशत थारुको बसोवास भएकाले उनीहरुको पहिचानका लागि थारुहट प्रदेश निर्माण भएमा संविधान दिगो हुने उल्लेख गरे।

पूर्व उपप्रधान एवं गृहमन्त्री गच्छदारले संविधानमा सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन पद्धति र न्याय प्रणाली जस्ता विवादित विषयलाई सहमतिको आधारमा टुङ्ग्याउन आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताए।

अध्यक्ष गच्छदारले यसअघि गठन गरिएको उच्चस्तरीय संविधान सुझाव आयोगले १० प्रदेश तथा राज्य पुनःसंरचना समितिले १४ प्रदेश कायम गर्न दिएको सुझावलाई ग्रहण गरीबीचको बाटोबाट सबैलाई मान्य र पहिचान खुल्ने प्रदेशको निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले माघ ८ गते संविधान जारी गर्ने विषयमा दलहरुले प्रतिबद्धता जनाइसकेका हुनाले सबैको सहमतिमा सङ्घीय लोकतान्त्रिक संविधान ल्याउनुपर्नेमा जोड दिए। कार्यक्रममा अध्यक्ष गच्छदारले देवकृष्ण विश्वासद्वारा गायन गरिएको थारुभाषाको ‘सपना-२’ नामक गीति सिडी एल्बमको विमोचन गरेका थिए।

-रातोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published.