थारू कल्याणकारिणी सभाको २१औं महाधिवेशन आजबाट

logo tharuथारूहरुको छाता संगठन थारू कल्याणकारिणी सभाको २१औं महाधिवेशन आजदेखि तीन दिन झापामा हुँदैछ। सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्दैछन्। महाधिवेशनमा तराईका २४ जिल्लाबाटै पाँच सय प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक चन्द्रकुमार चौधरीले बताए। उनका अनुसार महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, पूवमन्त्रीहरु, थारू सभासद् र बुद्धिजीवीको सहभागिता रहनेछन्। करिब २० लाख खर्च हुने महाधिवेशनका लागि नेपाल सरकार र उद्योगी, व्यवसायीले आर्थिक सहयोग गरेको अर्थसंयोजक सुमन चौधरीले बताए।

संविधान सभामा थारूका पहिचान र अधिकार कसरी सुनिश्चित गर्ने र थारू बसोबास क्षेत्रमा विकासका दीर्घकालीन योजना कसरी बनाउने भन्ने महाधिवेशनको मुख्य एजेन्डा रहेको अध्यक्ष चन्द्रकुमार चौधरीले बताए। महाधिवेशन शुक्रबारसम्म चल्नेछ।

अध्यक्षमा चन्द्रकुमार र धनिरामको उम्मेदवारी

थारू कल्याणकारिणी सभाको २१औं महाधिवेशनमा दुई जनाले अध्यक्षका निम्ति उम्मेदवारी घोषणा गरेका छन्। हालका अध्यक्ष चन्द्रकुमार चौधरी र सभाका सल्लाहकार धनिराम चौधरीले अध्यक्षको उम्मेदवारी घोष्णा गरेका हुन्। आफ्नो कार्यकालमा उठाइएका मुद्दालाई पूरा गर्नका निम्ति उम्मेदवारी घेाषणा गरेको चन्द्रकुमारले बताए। तराईमा संघीय प्रदेशको अवधारणा, कमलरी प्रथालगायतका मुद्दा आफूले उठाएको भन्दै चन्द्र कुमारले पुनः यो कार्यकाल आफूले पाउने दाबी गरेका छन्।

उता सभाका सल्लाहकारसमेत रहेका धनिराम चौधरीले २०औं महाधिवेशनमा सहमतिका लागि भन्दै आफूले पद छाडेकाले यसपटक जसरी पनि नेतृत्वमा आउने दाबी गरेका छन्। सभाका पूर्वमहामन्त्री राजकुमार लेखीसमेतले सहयोग गर्ने भएकाले आफू सर्वसम्मतले नेतृत्वमा आउने दाबी उनको छ। रुपन्देहीका धनिराम चौधरी पेसाले इन्जिनियर हुन्।

Leave a Reply

Your email address will not be published.