इन्स्पेक्टरको कुटाइले हवलदार राजकुमार चौधरीको कानको जाली फुट्यो

Nepal-Police

कास्कीका एक प्रहरी इन्स्पेक्टरले आफूभन्दा तल्लो तहका सिपाही र हवल्दारलाई अंगभंग हुनेगरी कुटपिट गरेका छन्। वडा प्रहरी कार्यालय बैदामका प्रमुख सुन्दर तिवारीले कुट्दा हवल्दार राजकुमार चौधरीको कानको जाली फुटेको छ भने जवान रामबहादुर कुँवरको खुट्टा भाँच्चिएको छ।

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आइतबार राति ११ बजे चेकिङ नराखेको भन्दै तिवारीले चौधरीलाई कुटेका हुन्। हल्लनचोकमा ड्युटीमा रहेका चौधरीलाई सादा पोसाकमा गएका तिवारीले हातैले हिर्काएका थिए। आफ्नै हाकिमको कुटाइबाट कान नसुन्ने भएपछि चौधरीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन्। उनको देब्रे कानको जाली फुटेको हो।

तिवारीले अरुबेला पनि विभिन्न बहानामा अनावश्यक रुपमा तर्साउँदै जागिर खाइदिने धम्की दिने गरेको चौधरीले बताएका छन्। लेकसाइड क्षेत्रमा भने चौधरीलाई स्थानीयले शिष्ट र कर्तव्यनिष्ठ प्रहरीका रुपमा चिन्दै आएका थिए। प्रहरी निरीक्षक तिवारीले चौधरीलाई आफूले नकुटेको बरु राम्रोसँग ड्युटी गर्न भनेको स्पष्टोक्ति आफूभन्दा उपल्ला अधिकारीलाई दिएका छन्। हाकिमबाटै कुटिएपछि हवल्दार चौधरी वडा प्रहरी कार्यालय बैदामको सट्टा जिल्ला प्रहरी कार्यालय पुगेर ड्युटी गरिरहेका छन्।

चौधरीलाई कुटेर तिवारीले कानको जाली फुटाइदिएको घटना सार्वजनिक भएपछि त्यसअघि उनले प्रहरी जवान रामबहादुर कुँवरको खुट्टा भाँचिदिएको पनि खुलेको छ। दुवै घटनाका पीडितलाई कास्की प्रहरीले पत्रकारको सम्पर्कमा नजान ठाडो आदेश दिएको छ। उनीहरुलाई न्याय दिलाउनुको सट्टा जिल्ला प्रहरी कार्यालयले सूचना बाहिर पुर्या ए सेवाबाटै निलम्बन गर्नेसम्मको धम्की दिएको स्रोतले बताएको छ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत जवान कुँवरलाई तिवारीले असोजको ८ गते राति १ बजे कुटेका थिए। मदिरा सेवन गरेको आरोपमा उनलाई बुटले कुटेको जानकारी अरु प्रहरीले दिएका छन्। सोही राति वडा प्रहरी कार्यालयभित्र थुनेर भोलिपल्ट छाडिएका कुँवरलाई त्यसपछि पनि सकीनसकी ड्युटीमा खटाइएको थियो। ‘मदिरा सेवन गरेको छैन, पुकार खाएको हुँ सर भन्दा बढी बोल्छस् भनेर हर्कार्दै कुटेको कुट्यै गरे,’ कुँवरलाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘भोलिपल्टदेखि खुट्टा दुख्दादुख्दै ड्युटीमा गएँ। धेरै दिनसम्म दुखेको दुख्यै गरेपछि एक्सरे गरेर हेर्दा भाँच्चिएको देखियो।’

कुटपिटबाट भाँच्चिएको देब्रे खुट्टाको कुँवरले २३ गते प्लास्टर गरेका छन्। ३ सन्तान र श्रीमतीसहित टिनको टहरोमा डेरा गरी बस्ने कुँवरले उपचार खर्चका लागि सञ्चय कोषबाट पैसा निकालेका थिए। पैसा नभएकैले धेरै समयसम्म उपचार गर्न नसकेको उनले आफ्ना साथीहरुलाई बताएका छन्।

यी घटनामाथि छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिएको डिआइजी बमबहादुर भण्डारीले जानकारी दिए। ‘छानबिन भइरहेको छ,’ उनले नागरिकसँग भने, ‘सत्यतथ्य बुझेर त्यसैअनुसार कारबाही हुन्छ।’

साभार : केशवशरण लामिछाने/नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.