संसद आक्रमणकारीलाई फाँसी

मोहम्मद अफजल गुरु
मोहम्मद अफजल गुरु

नयाँ दिल्ली, एजेन्सी– सन् २००१ मा भारतीय संसदमा आक्रमण गरेका काश्मिरी पृथकतावादी मोहम्मद अफजल गुरुलाई शनिबार फाँसी दिइएको छ।
गुरुलाई भारतीय संसदमा आतंकवादी आक्रमण गरेको आरोपमा अदालतले मृत्युदन्डको फैसला गरेको थियो। उनलाई शनिबार राजधानी नयाँ दिल्लीस्थित तिहाड जेलमा फाँसी दिइयो। सन् २००१ मा भएको संसद आक्रमणका कारण पारमाणविक हतियारयुक्त देश भारत–पाकिस्तान त्यसबेला युद्धको संघारमा पुगेका थिए। गुरुले आतंकवादी लडाकुका साथ संसदमा आक्रमण गरेका थिए। पाँच सशस्त्र लडाकु सन् २००१ डिसेम्बर १३ मा भारतीय संसदमा प्रवेश गरी एक माली र आठ प्रहरी अधिकारीको हत्या गरेका थिए। यसपछि सुरक्षाकर्मीले ती आक्रमणकारी लडाकुलाई मारेका थिए। आक्रमणमा घाइते भएका एक पत्रकारको महिनौँपछि मृत्यु भएको थियो।
उनले राष्ट्रपति प्रणव मुखर्जीसामु अन्तिम पुनरावेदन गरेका थिए। उनको पुनरावेदन अस्वीकार भएपछि मृत्युदन्डको सजाय कायम थियो। भारतमा करिब एक दशकयत मृत्युदण्ड दिइने उनी दोस्रो व्यक्ति हुन्। गुरुलाई फाँसी दिइएपछि भारत प्रशासित काश्मिरमा अशान्ती फैलने आशंकामा भारतीय प्रशासनले त्यहाँ कर्फ्यु आदेश जारी गरेको छ। गुरुलाई फाँसीपछि काश्मिरको मुख्य शहर श्रीनगर बन्द भयो।
भारतको प्रमुख प्रतिपक्षी पार्टी भाजपा(भारतीय जनता पार्टी)ले मृत्युदण्डको स्वागत गरेको छ। गुरुसँगै आतंकवादी आक्रमणको आरोप लागेका अर्काले भने फाँसी न्यायमाथिको खेलबाड भएको बताएका छन्। गृहमन्त्री सुशीलकुमार सिन्देले पत्रकारलाई गुरुलाई बिहान स्थानीय समयअनुसार ८ बजे झुन्ड्याइएको जानकारी दिए। उनले मृत्युदण्डका लागि सबै प्रक्रिया पूरा गरिएको उल्लेख गरे।
तिहाड कारागारका एक प्रहरी अधिकारीले मृत्युदण्ड दिनुभन्दा तीन घण्टा पहिले गुरुलाई उठाइएको र एक्लै राखिएको जानकारी दिए। गुरु प्रतिबन्धित जैस–ए–मोहम्मदका सदस्य भएको भारत सरकारले बताउँदै आएको छ। यो समूहले भारत–पाकिस्तानबीच विभाजित काश्मिर क्षेत्रमा संघर्ष गरिरहेको छ। काश्मिर क्षेत्रमा पृथकतावादी द्वन्द्वमा एक लाख मानिस मारिएको अनुमान छ।
श्रीनगरमा कर्फ्यु आदेश जारी नभए पनि प्रहरीले सडकका प्रमुख नाकामा प्रदर्शन हुन नसकोस् भनी अवरोध गरेका छन्। श्रीनगरमा तीन हेलिकप्टरले गस्ती गरिरहेका छन्। भारतले संसदमा भएको आक्रमणमा पाकिस्तानी गुप्तचर संस्था आइएसआइले सहयोग गरेको आरोप लगाउँदै आएको छ। संसद आक्रमणपछि भारत–पाक सीमामा आठ महिनाजति करिब दश लाख सैनिक तैनाथ गरिएको थियो। भारतीय जनता पार्टीका नेता मुख्तार अब्बास नक्वीले अन्त्यमा न्याय भएको बताउँदै सरकारले मृत्युदण्ड दिन किन ढिलो गरेको भनी प्रश्न गरेका छन्।
पाकिस्तानस्थित उग्रवादी इस्लामिक संगठन लस्कर–ए–तोइबाले गुरुको फाँसीको बदला चाँडै लिने चेतावनी भारतलाई दिएको छ। भारत प्रशासित काश्मिरको उग्रवादी संगठन अल उमर मुजाहिद्दीनले समेत गुरुको फाँसीबाट पृथकतावादी निरुत्साहित नभएको र भारतबाट काश्मिर खोसेर लिने दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published.