काशीलाल चौधरीको अन्त्यष्टि

Kashilal

विर्तामोड- दुई दिनअघि निधन भएका नेपाली कांग्रेसका नेता काशीलाल चौधरीको शनिबार झापाको कनकाई माइ नदीमा थारु परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ। हजारौं मलामीका बीच उनको पार्थिव शरीरमा जेष्ठ सुपुत्र कृष्ण चौधरीले दागवत्ती दिइ अन्तिम संस्कार गरिएको हो।

नेपाली कांग्रेसका पुराना तथा त्यागी नेताका रुपमा परिचित चौधरीको बिहीबार साँझ भारतको शिलगढी उत्तरायणस्थित न्युटिया अस्पतालमा निधन भएको थियो। बिहीबार अपरान्ह एक्कासी पेट दुखेर बिरामी भएपछि चौधरीलाई उपचारार्थ पूर्ण-टुंग बिर्ता सिटी हस्पिटल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि न्युटिया अस्पताल पुर्‍याइएकोमा अस्पतालमा बिहीबार साँझ मृत घोषणा गरिएको नेपाली कांग्रेस झापाले जनाएको छ।

उनको पार्थिव शरीर शुक्रबार साँझ कांग्रेस पार्टी कार्यालयमा ल्याइ पुर्‍याइएको थियो। त्यसलगत्तै यातायात मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको चारतारे झण्डा ओढाइ श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो। श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सुशील कोइरालाले पठाएको शोक सन्देश कांग्रेस झापाका सभापति उद्वव थापाले वाचन गरेका थिए।

शोक सन्देशमा प्रधानमन्त्री कोइरालाले निष्ठा, त्याग, बलिदान र आदर्शका प्रतीक चौधरीको निधनले नेपाली कांग्रेस र देशलाई नै अपूरणीय क्षति पुगेको उल्लेख छ। शोकसभामा कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि, नीति तथा प्रशिक्षण विभाग केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीलगायतले शोक मन्तब्य राख्दै चौधरीको निधनले पार्टीलाई गहिरो चोट पुगेको उल्लेख गरेका थिए। शोकसभाको सञ्चालन उपसभापति देउमान थेवेले गरेका थिए। शुक्रबार रातभर विर्तामोड नगरपालिका-७ स्थित निजी निवासमा राखेर शनिबार बिहान उनको अन्त्येष्टि गरिएको हो।
झापाको चारपाने-९ मा वि.सं. २००० चैत २९ गते बुबा महिमा चौधरी र आमा चानू चौधरीका पुत्रका रुपमा जन्मिएका चौधरी २०४९ सालमा अनारमनी गाविसका निर्वाचित उपाध्यक्ष, नेपाली कांग्रेसका महासमिति पूर्व सदस्य, महाधिवेशन सदस्य, नेपाली कांग्रेस अनारमनीका उपसभापति र कांग्रेसको विभाजनपछि झापा सभापति रहेको नेपाली कांग्रेस बिर्तामोड नगरसमितिका सभापति भोजराज सिटौलाले जानकारी दिए।
स्वर्गीय चौधरीकी श्रीमती झापा चौधरी, तीन छोराहरु कृष्ण, विष्णु र नरेश चौधरी, तीन नाति तथा एक नातिनी रहेका छन्। थारु कल्याणकारिणी सभा झापाले पनि आफ्नो झण्डा ओढाएर चौधरीप्रति अन्तिम श्रद्धाञ्जली प्रकट गरेको छ।
यसैबीच, थारु कल्याणकारिणी सभा झापा जिल्ला सभापति समेत रहेका चौधरीको निधन भएपछि सभाको आसन्न महाधिवेशन काठमाडौंमा सार्ने सचिवालयले निर्णय गरेको थियो। तर, झापामा थारु सभाको महाधिवेशन गराउने उनको सपना साकार पार्ने उद्देश्यले शोकका बीचमा पनि झापामै महाधिवेशन गर्ने निर्णय गरिएको सभाका निवर्तमान महासचिव तथा नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले बताए।

चौधरीले थालेको यही असोज २९, ३० र ३१ गते झापामा हुन गइरहेको थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशन आयोजनाको कामलाई पूर्ण गर्ने उद्देश्यले झापामा महाधिवेशन गर्न लागिएको लेखीले बताए। महाधिवेशनको समुद्घाटन गर्न प्रधानमन्त्री सुशील कोइराला आउने भएका छन्।

थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीले महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला अध्यक्ष रहेका काशीलाल चौधरीको निधनले सम्पूर्ण थारु समुदाय शोकाकुल भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published.