कोरिया क्रिकेट प्रशिक्षकमा दिपेन्द्र चौधरी

Dipendra

विनोद पाण्डे- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली खेलकुद प्रारम्भ गरिसकेको छ।
दीपेन्द्र चौधरीको कथा भने बेग्लै छ।

उनी नेपाली क्रिकेट प्रशिक्षक हुन्। एसियाली खेलकुदमा उनकै प्रशिक्षणमा महिला टोली मैदानमा ओर्लंदैछ तर नेपालको होइन, दक्षिण कोरियाको।
उनलाई प्रशिक्षणमा सहयोग गरिरहेकी नीरा राजोपाध्याय नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्।
यी दुवै जना दुई महिनादेखि दक्षिण कोरियामा महिला क्रिकेट प्रशिक्षकका रूपमा कार्यरत छन्। उनीहरूकै प्रशिक्षणमा दक्षिण कोरिया पहिलोचोटि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओर्लन लागेको हो। कोरियाको पुरुष र महिला दुवै टोलीले इन्चोनमा प्रतिस्पर्धा गर्नेछन्। दक्षिण कोरिया इन्चोनमा एसियाली खेलकुद आयोजना गर्न पाएसँगै क्रिकेट टोली बनाउन बाध्य भएको हो।
नेपाली क्रिकेटमा खासै भूमिका नपाएका चौधरी र राजोपाध्यायले दक्षिण कोरियासम्मको यात्रा कसरी तय गरे?
कोरियाको महिला टोली आधारभूत प्रशिक्षण लिन गत मंसिरमा नेपाल आएको थियो। त्यो एसियाली खेलकुदकै लागि लक्षित टोली थियो। सबभन्दा रोचक त यसअघि उनीहरूसँग क्रिकेट टोली नै थिएन। काठमाडौं आउनु डेढ महिनाअघि मात्रै उनीहरूले सूचना निकालेर खेलाडी खोजेका थिए।
नयाँ छानिएका खेलाडीको टोलीका साथ काठमाडौं आउँदा प्रशिक्षणको जिम्मा नीरासहित राजु बस्नेत र कलाम अलीले पाए।
जेठ अन्त्यतिर कोरियाली टोली एसियाली खेलकुदको तयारी क्रममा दोस्रोपटक नेपाल आयो। ४५ दिनमा १५ अभ्यास खेल खेल्ने उनीहरूको उद्देश्य थियो। अर्विट र फर्पिङका टोलीसँग केही खेल खेलेपछि कोरियाली टोली वर्षाका कारण भ्रमण छोट्ट्याउन बाध्य भयो। कोरियाली टोलीका प्रशिक्षक थिए, पाकिस्तानी मूलका नासिर खान। दुई दशकदेखि कोरियामा बस्दै आएका खान इन्चोन क्रिकेट संघका प्रशासक पनि हुन्। खानकै माध्यमबाट चौधरी कोरिया क्रिकेट संघको सम्पर्कमा आए।
र, यही सम्पर्क उनको प्रशिक्षण यात्रामा ‘टर्निङ प्वाइन्ट’ साबित भयो।
उनी खानले जोडिदिएको सम्पर्क पछ्याउँदै दुई महिनाअघि इन्चोन पुगे। ‘नेपालमा अरू पनि प्रशिक्षक छन्, तर यस्तो अवसर पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु,’ चौधरीले टेलिफोनमा नागरिकसँग भने, ‘यो निकै चुनौतीपूर्ण कार्य हो। उनीहरू क्रिकेटमा पूरै नयाँ हुन्, मनैदेखि क्रिकेट खेल्न खोज्दैनन्।’
‘उनीहरूलाई कसरी रन बनाउने थाहा छैन। प्राविधिक आइडिया केही छैन,’ चौधरीले कोरिया महिला क्रिकेटबारे भने। एसियाली खेलकुद मुखैमा आइपुग्दा पनि आधारभूत प्रशिक्षण नै दिइरहेको उनी बताउँछन्।
सहायक प्रशिक्षक राजोपाध्याय खेलाडीहरू मिहिनेती रहेको र तुरुन्तै सिक्न खोज्ने स्वभावको भएको बताउँछिन्। जग कमजोर भएकाले कोरियालाई क्रिकेटमा माथि आउन समय लाग्ने उनको बुझाइ छ।
चौधरीका अनुसार कोरियाको टोलीमा सफ्ट बल, गल्फ, फ्लोर बल, पौडीबाट आएका खेलाडी छन्। त्यही भएर फिटनेसको समस्या नभएको उनले बताए। केही खेलाडी भने स्कुले शिक्षक छन्। २१ वर्षे सोङ सेउन मिनले गत वर्ष नेपाल आउँदा कोरियाली क्रिकेट संघले निकालेको सूचना पढ्दासम्म क्रिकेटबारे केही थाहा नभएको बताएका थिए। ‘अभ्यासमा गएपछि बल्ल यो खेलमा उत्सुक भएँ,’ उनले भनेकी थिइन्।
प्रशिक्षकका रूपमा चौधरी पनि नयाँ नै हुन्। सन् १९९८ मा नेपाली राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका उनले २०१० सम्म खेले। यही क्रममा २००७ मा उनले एसिसी लेभल वान कोर्स गर्दै लेभल टु पनि सकाएका थिए। गत वर्षदेखि उनी नेसनल क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षक थिए। उनले अहिलेसम्म कुनै टोली हेर्न पाएका थिएनन्।
कोरियाली टोलीको प्रशिक्षणलाई उनले सिक्ने अवसरका रूपमा लिएका छन्। एनसिएसहित नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का र नेपाल क्रिकेट संघलाई धन्यवाद दिँदै उनले भने, ‘नयाँ टोली पाउँदा झन् राम्रो भयो, सबै आफ्नो हिसाबले गर्न पाएको छु। आफ्नो देशबाट नपाए पनि अर्को देश हेर्न पाउनु भाग्य हो।’
राजोपाध्यायले एसिसीको लेबल वानको प्रशिक्षण गरेको दुई वर्षअघि मात्र हो। उनी नेपाली महिला क्रिकेटको पहिलो पुस्ताका प्रशिक्षक हुन्। चौधरीजस्तै उनी पनि एनसिएका प्रशिक्षक थिए। उनीबिना पहिलोपटक नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालले २००७ मा मलेसियामा एसिसी वुमन्स च्याम्पियनसिपमा सहभागिता जनाउन सुरु गरेदेखि राजोपाध्याय राष्ट्रिय टोलीबाट खेल्दै आएकी थिइन्। पछिल्लो एसियाली खेलकुदमा नेपाली महिला टोली उनकै कप्तानीमा ओर्लिएको थियो। यसपटक भने एसियाली खेलकुदका लागि नेपाली टोली घोषणा हुनुअघि नै उनी प्रशिक्षण दिन कोरिया पुगिसकेकी थिइन्।
खेल्न सुरु गरेको ९–१० महिनामै कोरियाली टोली यो स्तरमा पुग्नुलाई चौधरी सफलता मान्छन्। ‘यो टोलीलाई विस्तारै अझ माथि उठाउन सकिन्छ। जति सिकायो त्यतिमात्र गर्छन्। दिमाग लगाएर उनीहरू केही बढी सिक्न खोज्दैनन्,’ उनले भने।
नेपालको तुलनामा धेरै सुविधा भए पनि कोरियाली टोलीमा समस्या थुप्रै छन्। चौधरीका अनुसार कोरियाले पुरुष क्रिकेट टोली बनाउन ठूलो लगानी गरेको छ। महिला टोलीले भने भएको एउटा रंगशालामा अभ्यासका लागि साताको दुई दिनमात्र टर्फ विकेटमा अभ्यास गर्न पाउँछ। बाँकी पाँच दिन सेन्थेटिकमा अभ्यास गर्नुपर्छ।
कोरियाले यसपालि एसियाली खेलकुदमा समूह चरणमा चीन र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। चीनले पछिल्लो पाँच वर्षमा ठूलो छलाङ मारिसकेको छ। त्यही भएर कोरियाली टोलीले ठूलो आसा नगरेको चौधरी बताउँछन्। ‘बढीमा हङकङलाई जित्ने प्रयास गर्नेछौं,’ उनले भने, ‘चीनसँग राम्रो खेल्ने हाम्रो प्रयास हुनेछ।’
नेपाल, मलेसिया र थाइल्यान्ड भने अर्को समूहमा छ। समूह चरण खेलमा नेपाल र कोरियाको भेट हुने छैन। ‘नेपालसँग खेल्न पाएको भए मलाई भावनात्मक दबाब पर्ने थियो होला,’ चौधरीले भने, ‘तर, त्यो मेरा लागि सबभन्दा खुसीको क्षण हुने थियो।’

नागरिक दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.