बाढीबाट विस्थापित भएकी केशरीलाई सहयोग

5-1

काठमाडौं- इन्चोन एसियाली खेलकुदलाई तयारी गरिरहेकी एथलेटिक्स खेलाडी केशरी चौधरीको परिवारलाई सोमबार सहयोग प्रदान गरिएको छ। एक महिनाअघि बाढीका कारण बर्दिया बानियभार-५ स्थित केशरीको परिवार घरविहीन बनेको थियो। एसियाड तयारी गरिरहेकी केशरीको परिवारका लागि दक्षिण कोरिया र नेपालका एथलेटिक्स खेलाडीको पहलमा १ लाख १६ हजार ५ सय रुपैयाँ संकलन गरिएको थियो। केशरीलाई सोमबार उक्त रकम ओलम्पियन खेलाडीद्वय संगीना वैद्य र चन्द्रकला थापाले रकम हस्तान्तरण गरे।
दक्षिण कोरियामा प्रशान्त पण्डित र नेपालमा ओलम्पियन चन्द्रकलाको पहलमा रकम संकलन गरिएको थियो।
नेपाली एथलेटिक्समा कीर्तिमानी छवि बनाएकी केशरीको नाममा लङजम्प, हाइजम्प, टि्रपलजम्प र १०० मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान छ। केशरीले १७औं इन्चोन एसियाली खेलकुदमा लङजम्प र टि्रपलजम्पमा प्रतिस्पर्धा गर्नेछिन्।
दाताप्रति आभारी हुँदै केशरीले भनिन्, ‘एसियाडअघि घरविहीन हुनुपर्दा धेरै चिन्ता थियो। तर अहिले सबैले सहयोग गर्नुभएको छ। मलाई खेलाडी भएको गर्व लागेको छ। भविष्यमा अझ राम्रो गर्ने कोशिस गर्छु। कोरियामा लङजम्पको कीर्तिमान सुधार गर्ने लक्ष्य छ।’
ओलम्पियन संगीनाले भनिन्, ‘नेपाली खेल क्षेत्रमा केशरीले धेरै राम्रो सफलता पाएकी छिन। उनको परिवारलाई अहिले सहयोग खाँचो छ। यस्ता सहयोगले खेलाडीको मनोबल बढाउँछ ।’

Leave a Reply

Your email address will not be published.