![dang](https://archive.tharuwan.com/wp-content/uploads/2014/08/dang.jpg)
डुरुवा (दाङ)- सीताराम चौधरीसँग शरीर छोप्ने एकसरो कपडासमेत छैन। सुतेका बेला बाढी आएपछि उनलाई सबैभन्दा पहिला ज्यान जोगाउनुपर्ने भयो। ज्यान बचाए तर अरू केही झिक्न सकेनन्। भाग्दाभाग्दै घर ढल्यो, केही दिन आफन्तको घर खोज्दै हिंडे तर कति दिन चल्छ यसरी? प्रश्नको जवाफ खोज्दै उनी अर्को बसोबासको जोहो गर्न थाले।
वृद्ध अवस्थामा पनि सकिनसकी बाँसको जोहो गरे, अनि आफैं कस्सिए बाँस फोड्न, खन्न र खाँबा गाड्न। बाढीले डुरुवा-९ चौपरियास्थित घरबास बगाएपछि उनी वैकल्पिक बासको तयारीमा छन्।’ घर भएको ठाउँमा नामोनिसान केही छैन। अब के गर्ने? अर्को ठाउँ खोज्नैपर्यो,’ उनले भने, ‘झन्डै ज्यान बच्यो। बाँचेको ज्यानलाई ओत लाग्ने ठाउँ त चाहियो नै।’
चौपरियाका ३२ बाढीपीडित स्थानीय उच्चमावि भोजपुरको जग्गामा टहरा बनाएर बस्न थालेका छन्। बबईको बाढीले घरबास बगाइदिएपछि उनीहरूलाई विद्यालयले टहरा बनाएर बस्न दिने निर्णय गरेको हो। नदी किनारको अग्लो टापुमा उनीहरूले धमाधम टहरा बनारहेका छन्। अन्यत्र बस्ने उपाय नभएकाले त्यही बन्दै गरेको टहरमा बस्न थालेको अमृता विकले बताइन्। ‘ओढ्ने ओछ्याउने छैन। चिसो भुइँमा सुत्नुपरेको छ। पानी आएर त्यही पनि चिसो बनाइदिन्छ,’ उनले भनिन्, ‘सर्पको डर उत्तिकै छ। रातभर लामखुट्टेले टोकेर सुत्नै सकिँदैन।’
बाढी आएको दिन यही टापुमा बसेर बचेकाले टहरा पनि यहीं बनाउन थालेको उनले बताइन्। ‘चारैतिर बाढीले घेर्यो। यही टापुमा बसेर बाँचियो। दिनभर उद्धार गर्न कोही आएन। हेलिकप्टर आउँछ रे भन्थे तर केही आएन,’ अमृताले भनिन्, ‘बाढी अलि बढेको भए सबै बग्थ्यौं।
घरबास पुरिएपछि उक्त ठाउँमा र्फकनै मन नलागेको स्थानीय सेतबहादुर ओलीले बताए। सल्यानको कुपिण्डे दहबाट चार वर्षअघि बसाइँ आएर डुरुवा झरेका ओली यता झन् समस्यामा परे। ‘तराईमा सुविधा होला भनेर आएको झनै विपत्ति पर्यो। यहींबाट पनि उठीबास लाग्यो। अब कहाँ जानु?’ उनले भने, ‘घरबास पुरिएको ठाउँ हेर्न पनि मन लाग्दैन। मन रुन्छ। अब त यो ठाउँमा बस्न सकिँदैन। अरू जाने ठाउँ पनि छैन।’
बाढीले सबै सामान पुरेकाले दैनिक जीवन चलाउन समस्या भएको ओलीले बताए। पहाडबाट ल्याएका सामान पनि बगे। ‘जीउ छोप्ने कपडासमेत नभएको बेला अरू के हुन्थे र? घरबास हुँदा त जीवन चलाउन गाह्रै थियो अब त के गर्नु?,’ उनले भने, ‘अब कसलाई गुहार्न जानु? सरकारले चिउरा र चाउचाउमात्र दिन्छ। त्यसले बाँच्न सकिँदैन। बस्ने ठाउँकै मुख्य समस्या छ। ओढ्ने-ओछ्याउने, पकाउने भाँडा र अनाज आवश्यकता छ।’
डुरुवामा मात्रै बाढीले तीनको ज्यान गयो। बाढी आएको थाहा पाउनेबित्तिकै भाग्न खोजेका पनि हेर्दाहेर्दै बगे। नुमाकुमारी खत्री, उनका दुई छोरी उर्मिला र लीला बाढीबाट उम्कन सकेनन्। उर्मिला २७ दिनको सुत्केरी थिइन्। माइतीमा सुत्केरी बस्न आएकी उनको घर र्फकन पाइनन्। उनको २७ दिनको छोरी सकुशल छिन्। ‘बच्चीलाई बोकेर बाबु सुरुमै घरबाट निस्के। अरूलाई छिटो आउ भन्दाभन्दै बाढी पस्यो। त्यसपछि न घरका बाहिर निस्कन सके न बाहिरका बचाउन जाने अवस्था भयो,’ नुमाका देवर छविलाल खत्रीले भने, ‘हेर्दाहेर्दै तीन आमाछोरी बगे। सबैका शव भेटाउनसमेत धेरै दिन लाग्यो। अब यो ठाउँदेखि नै विरक्त लाग्न थाल्यो। कता जाऔं, के गरौं भएको छ।
दुर्गालाल केसी/कान्तिपुर साभार