बस्ती अझै डुबानमा

bardia

नेपालगन्ज- बाँके र बर्दियाका बाढीग्रस्त बस्ती अझै डुबानमा छन्। नजिकैका सामुदायिक वन, विद्यालय र उच्च भागमा अस्थायी शिविर बनाएर बसेका विस्थापित अझै गाउँ फर्किन सक्ने अवस्था छैन। उनीहरू दिनभरि भग्नावशेष घरका सामान खोज्ने र साँझ परेपछि अस्थायी शिविर फर्किने गरेका छन्। बाँके, बर्दिया र सुर्खेतका १ सय २५ भन्दा बढी बाढीपीडित शिविरमा २३ हजार विस्थापितले आश्रय लिएको निमित्त क्षेत्रीय प्रशासक राजकुमार श्रेष्ठले बताए।

बाँकेको होलियास्थित चौफेरीमा पसेको राप्तीको बाढीले सातासम्म डुबान नघटेपछि स्थानीय बासिन्दा अझै गाउँ जान नसकेका हुन्। बाँके संवाददाता ठाकुरसिंह थारूका अनुसार, बाढीबाट जोगाएका सामानसहित ५० भन्दा बढी परिवार शुक्रबार डुंगामा सामान हालेर नदीवारि आएका छन्। ‘बाढी घटे गाउँमै बस्ने भनेका थियौं। तर अझै घँुडासम्म पानी छ। बस्न सक्ने अवस्था रहेन। बाध्य भएर घर छोड्नुपर्‍यो,’ डुंगाबाट सामान झारेर सुरक्षित ठाउँको खोजी गर्दै नदी छेउमा भेटिएका भण्डारी यादवले भने, ‘नदीको धार गाउँ भएर जान खोज्दा पानी नघटेको हो। यही कारण गाउँ छोड्ने क्रम जारी छ।’ होलियाको वडा २, ३ र ४ चौफेरी गाउँलाई राप्ती र बगरले चारैतिरबाट घेरेको छ।

बाढीले खाद्यान्न पनि बगाएको स्थानीयवासीले बताए। घरको छाप्रोमाथि राखेर केहीले खाद्य र बन्दोबस्तीका सामान जोगाएका छन्। ‘शुक्रबारदेखि आएको बाढी अझै नघटेपछि बस्न समस्या भयो। बाढीमा जोगाइएका सामान पनि राख्ने ठाउँ नभएपछि टाउकोमा बोकेर ल्याएका हौं,’ स्थानीय जगतराम यादव भन्छन्, ‘यस्तो कहिल्यै भएको थिएन। पहिले बाढी आउँदा एक/दुई दिनमा पानी घट्थ्यो। अहिले भने पानी निस्केकै छैन।’ उनले अझै पनि एक सय बढी घरपरिवार गाउँमा नै बसिरहेको बताए।

बाढीबाट विस्थापित होलिया गाविसमा ९ सय २२ स्थानीयलाई चौफेरीको कृषि कार्यालयको भवनमा राखिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु सहनीले विस्थापितलाई १४ स्थानमा राखिएको बताए। विस्थापित भएका गंगापुरका ३ सय परिवार विपद व्यवस्थापन समितिको भवनमा बसेका छन्। कचनापुरका १ हजार ४ सय १६ विस्थापितहरू नेरा प्राविको भवनमा, कम्दीका ६ सय २१ विस्थापित परिवार नेरा निमावि लालपुरमा बसेका छन्। मटेहियाका २ हजार तीन सय पीडित विपद व्यवस्थापन समिति र फत्तेपुरका १ हजार २२ पीडित मेरानी मावि र वडा ४ स्थित मदरसामा बसेका छन्। टिटिहिरीयाका ४ सय ७६ पीडितहरू लक्ष्मी प्रावि, बागेश्वरीका जनसेवा मावि र उढरापुरका पीडितलाई जनसेवा मावि र जनकल्याण माविमा राखिएको छ। बाढीले जिल्लामा ६ हजार ३ सय ६४ घरपरिवार प्रभावित भएको प्रशासनले जनाएको छ।

 राहत अपर्याप्त

बर्दिया पदनाहका बाढीपीडितले एकछाक पनि राम्रोसँग खान नपाएको गुनासो पोखेका छन्। पदनाह ५ का गोपाल थारूले साता बितिसक्दा पनि सरकारले राहत उपलब्ध नगराएको बताए। ‘छिमेकीले छाक टार्न थोरै चामल, दाल, नुन र तेल दिएकाले केही दिनमै सकियो,’ उनले भने, ‘खाने गाँस र बस्ने बाससमेत छैन, अब कसरी बाँच्ने?’

उनीजस्तै पदनाह, बनियाभार, बगनाहा, मोहम्मदपुरलगायत करिब दुई दर्जन गाविस र गुलरिया नपाका बाढीपीडित राहतको प्रतीक्षा गर्दागर्दै साता बितिसकेको गुनासो गर्छन्। गुलरिया १० कोठियागाउँका रामप्रसाद थारूले विस्थापितलाई दिएको राहत अपर्याप्त भएको गुनासो पोखे।

खुला आकाशमा बसेका हजारौं बाढी पीडितलाई स्थानीय आमा समूहलगायत समाजसेवीले खाना बनाएर खुवाउने गरेका छन्। लाउने एकजोर लुगा बाहेक उनीहरूसँग केही छैन। ती समूहले केहीलाई पुराना लुगाफाटा उपलब्ध गराए पनि त्यो पर्याप्त नभएको बनियाभार ४ का नरेन्द्र खत्रीले बताए। स्थानीय प्रशासनले बाढीपीडितलाई राहत वितरण गरेकाले भोकमरीको समस्या नभएको दाबी गरेको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले १४ हजार ४ सय ७५ बाढीपीडितलाई व्यक्तिपिच्छे दैनिक पुग्ने गरी ४ खाद्य सामग्री उपलब्ध गराएको दाबी गरेका छन्।

कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.