यसरी मनाइन्छ ‘अष्टिम्की’ (तस्बिरमा हेर्नुस्)

Tharu Festival Astimki-8       

मुकेश टेर्राँ, धनगढी- पश्चिम नेपालका आदिवासी जनजाति थारु समुदायले आज हर्षोल्लासका साथ ‘अष्टिम्की’ (कृष्ण जन्माष्टमी) पर्व मनाइरहेका छन्। पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदयले कृष्ण जन्माष्टमीमा अष्टिम्की पर्व मनाउने गरेका हुन्। यस वर्पमा थारु समुदायले ब्रह्माण्ड सृष्टि भएको विश्वास गरी प्रकृतिको पूजाअर्चना गर्ने गरेको छ। प्रकृतिमा रहेका जलचर, थलचर जीवजन्तु र जडीबुटी, कृष्ण, पाण्डप लगायतको पूजाअर्चना गर्ने गरेका छन्।

अष्टिम्कीमा बर्कीमार (महाभारत काब्य)को पहिलो चरण अष्टिम्की गीतको रुपमा गाइने गरेको छ। यसमा ब्रह्माण्ड सृष्टि भएदेखि कृष्णको जन्म भएसम्मको एक खण्ड गाइने गरेको छ। अर्को खण्ड सखिया गीतको रुपमा दसैंमा गाइने गरेको धनगढी–५, की इन्दीरा चौधरीले बताइन्।

Tharu Festival Astimki-6

अष्टिम्की मनाउनका लागि हिजोराति थारु समुदायले दरखाएका छन् भने आज दिनभरि वर्त बसेर अष्टिम्की चित्र बनाइरहेका छन्। आज साँझ दिन ढलेर चराचुरुंगीहरु बास बसेपछि उनीहरुले अष्टिम्की चित्रमा विशेष तरिकाले पूजाअर्चना गरी फलफूलको आहार गर्ने छन् र भोलि बिहान फल आहार गरी ब्रत खोल्ने छन्। ब्रत खोल्दा दाजुभाइलाई अग्रासन दिने चलन छ।

Tharu Festival Astimki-5

सप्तमीको राति बिहान मुर्गा नबोलेसम्म खाइसक्ने गरी दरखाने चलन रहेकाले थारु भाषामा यसलाई ‘भेन्सरिया’ भन्ने गरिन्छ। अष्टमीको दिन प्रायः महिलाहरु दिनभरी वर्त बसेका छन्। दाङको देउखुरी, कैलालीको मल्ह्वारा क्षेत्रका पुरुषहरुले समेत आज ब्रत बसेका छन्। कैलालीका रानाथारु समुदायमा भने पुरुषले मात्रै व्रत बस्ने चलन छ। आज बिहानैदेखि थारु समुदायको हरेक घरभित्रको भित्तमा अष्टिम्की चित्र बनाइएको छ।

Tharu Festival Astimki-4

सो चित्रमा विभिन्न जीवजन्तु र कृष्ण, पाण्डवलगायतका चित्र बनाइएका छन्। अष्टिम्की मनाइनाले दाजु बहिनीको प्रेम बढ्ने र भालि बिहान अष्टिम्की विसर्जन गरेसँगै ज्वरो र घाउ खतिराहरु पनि सदाका लागि निको हुने विश्वास थारु समुदायमा गरिन्छ।

Tharu Festival Astimki-7

यसैबीच, विभिन्न ठाउँबाट कामको शिलशिलामा धनगढी बसिरहेका र धनगढीमै स्थायी बसोबास गरिरहेका थारुहरुले यस वर्ष एकसाथ अष्टिम्की मनाउँदैछन्। थारु कल्याणकारी सभा, थारु महिला सञ्जाललगायतका संगठनको संयोजनमा धनगढीको विभिन्न स्थानबाट जम्मा भएका थारु महिलाले सामूहिकरुपमा आज अष्टिम्की मनाइरहेका हुन्।

Tharu Festival Astimki-3

प्राचीन परम्परा अनुसार धनगढी–७ देवहरियास्थित थारु छात्राबासमा बनाइएको अष्टिम्की टिकेका (कृष्ण जीवनीचित्रमा पुजाअर्चना गरेका) गरिने थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रभातकुमार चौधरीले बताए। धनगढीको वडा नम्बर ५, ७ र ८ का महिलाहरुले मौलिक पोसाकमा सजिएर दियालो, अगरबत्ति, जल, सिन्दुर, केरा, काँक्रा, अमला, अम्बा, चामल लगायतका सामाग्रीको प्रयोगले कृष्णका जीवनीसँग जोडिएका पाण्डव, बासुदेव, राधा, गोपिनी, कंश, सूर्य, चन्द्रमा, नाग, माछा, गंगटा, गोही, कुकुर, बाँदर, गाई, मयुर, डाँफे, मुनाल, पानी, नाउँ, बोट विरुवा, मकै, धान, घुनेसर फुलको पूजा गर्ने बताइएको छ।

Tharu Festival Astimki-2

थारू समुदायको कृष्णभक्तिको रुपमा मनाइने अष्टिम्कीको मौलिकता हराउँदै गएको बेला सामूहिकरुपमा मनाउने प्राचीन परम्पराको पुनर्जागरण भएको थारु बुद्धिजिबीहरुले टिप्पणी गरेका छन्। आधुनिकताको छायाँ बढ्दै गएको थारू युवा पिँढीले पौराणिक कला सिक्न नसकेका कारण थारू समुदायमा कृष्णको जीवनीचित्र बनाउने परम्परा लोप हुने अवस्थामा पुगेको बेला यसरी मनाउँदा सो चित्र बनाउने परम्परा लोपहुनबाट जोगिने समेत विश्वास गरिएको छ।

Tharu Festival Astimki-1

चित्र बनाउने चलनसँगै एक टोलको एकै ठाउँ बसेर बनाउने भाइचारा पनि हराउँदै गएको कारण ती संगठनहरुले सामूहिकरुपमा मौलिक परम्परानुसार अष्टिम्की बनाउन जिल्लाबासी थारू समुदायलाई आग्रह गर्नुका साथै धनगढीमा आफै अग्रसर भएर सामुहिक रुपमा अष्टिम्की मनाउने कार्यक्रम आयोजना गरेका छन्। यसरी सामूहिकरुपमा अष्टिम्की मनाइँदा सामाजिक सम्बन्धमा विकास हुनुका साथै सामाजिक मेलमिलाप अझै प्रगाढ हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published.