दाङ मोतिपुरका बाढी पीडित भन्छन्, ‘ज्यानबाहेक केही बचेन’

बबई नदीमा आएको बाढीका कारण शुक्रबार दाङको उरहरी, मोतीपुरमा भत्किएको घरको भग्नावशेषबाट सामान निकाल्दै स्थानीय। तस्बिरः देवेन्द्र बस्नेत
बबई नदीमा आएको बाढीका कारण शुक्रबार दाङको उरहरी, मोतीपुरमा भत्किएको घरको भग्नावशेषबाट सामान निकाल्दै स्थानीय। तस्बिरः देवेन्द्र बस्नेत

उरहरी–६ मोतीपुरका गामबहादुर चौधरीको ४ जनाको परिवार मस्त निद्रामा थियो। शुक्रबार बिहानीपख आएको आवाजले उनी ब्युँझिए। सोचे, मुसो होला। फेरि निदाउन खोजे। तर, एक्कासि घरको एक पाखो भत्कियो। परिवारलाई हतारहतार उठाएर तल्लो तलामा आए। तर, ढोका थिएन। जताततै पानीले थुनिइसकेको थियो। हत्तपत्त झ्यालबाट हाम फालेर जोगिए।
घर आधा डुबिसकेको थियो। बाहिर निस्किँदासम्म उनीहरूले जोगिने आस मारिसकेका थिए । ‘पानी घाँटीघाँटी थियो, बल्लबल्ल छोराछोरी र श्रीमती जोगाएँ,’ उनले भने।
घरका सरसामान भने केही बचाउन सकेनन्। परिवारलाई अग्लो डाँडामा छाडेर फेरि घरतिरै लागे। ‘म पुग्दा त बाढीले घरै बगाइसकेछ,’ उनले भने, ‘ज्यान मात्रै बच्यो, अरू केही रहेन।’ अन्न, लत्ताकपडा सबै बगेपछि उनको परिवारलाई अहिले छाक टार्नै धौधौ छ। भोकभोकै स्थानीय सामुदायिक विद्यालयको ओतमा बसेका छन। ‘कसैले दिए खाने हो, नत्र भोकै बस्नुपर्छ,’ उनले भने, ‘पाएका बेला च्युरा र दालमोठले पेट भरेका छौं।’

सोही गाउँका जागुराम चौधरीको पनि ज्यानबाहेक केही जोगिएन। घरसँगै सबै सम्पत्ति खोलामा मिसियो। बबई नदीको बगरमा शनिबार निराश मुद्रामा भेटिएका उनले भने, ‘घर गइगो, अब ७ जनाको परिवार कहाँ लैजाऊँ?’ उनका दुइटा घर बगेका छन्। ‘परिवारलाई बडो मुस्किलले बचाएँ, १५ दिनकी सुत्केरी बुहारी पनि छे,’ उनी भक्कानिए, ‘अब के खुवाएर पाल्नु?’ उनले परिवारका सदस्यलाई आफन्तको शरणमा पठाएका छन्। आफू भने बगरमा डुलिरहन्छन्। ‘छोराछोरीलाई एकातिरका आफन्त, श्रीमती र बुहारीहरूलाई अन्ततिर पठाएको छु,’ उनले भने, ‘म दिनभरि बगरमै हुन्छु, राति स्कुलतिर गएर काट्छु।’

लगातार बर्षाले बबई नदीको बाढी शुक्रबार पूरै बस्तीमा पसेपछि मोतीपुर गाउँमा विपत्ति निम्तिएको छ। सबैजसो परिवार घरबारविहीन भएका छन्। दुई जनाको त ज्यानै गयो। झन्डै ५० घर भत्किए। विस्थापित कोही आफन्तको शरणमा छन्, कोही सामुदायिक विद्यालयको ओतमा।

घरसँगै अन्नपात, लत्ताकपडा सबै बाढीमै बगेपछि गाउँले भोकभोकै बस्नुपरेको छ। कपितयलाई आफन्तले खाना पुर्या इदिने गरेका छन् भने आफन्त नहुनेहरू विभिन्न संघसंस्थाले बाँडेका च्युरा, दालमोठका भरमा धानिएका छन्।

‘आज आफन्तले भात ल्याइदिए,’ विक्रमा चौधरीले भनिन्, ‘हिजो दिनभरि भोकै बसें।’ उनको घर पनि बाढीले पूरै भत्किएको छ। ‘छोराछोरीलाई डाँडामा पुर्यारएर सामान जोगाउन फर्किंदा घरै थिएन,’ उनले भनिन्, ‘बाढीमा कहाँ पुग्यो कहाँ?’

विक्रमाको परिवार पनि मस्त निद्रामै थियो। बिहानपख बबई जोडले सुसाएपछि उनको निद्रा खुल्यो। बाहिर हेर्दा नदी आँगनमा आइसकेको थियो। सबैलाई उठाएर हत्तपत्त सुरक्षित स्थल पुर्याएइन्। तर, अबका दिन झन् कष्टकर छन्। ‘कति दिन आफन्तीले ल्याइदेलान् र खान पाइएला?,’ उनले भनिन्, ‘साना छोराछोरी छन्, उनीहरूलाई के ख्वाउने हो?’ बाढीपीडित पुनःस्थापनाका लागि सरकारको मुख ताकेर बसेका छन्। जिल्ला प्रशासन कार्यालयले भने उनीहरूलाई च्युरा, दालमोठ बाँड्नेभन्दा बढी केही गर्ने सुरसार देखाएको छैन।

देवेन्द्र सुवेदी/नागरिकन्युज साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *