वर्षाले दाङका सैयौं घर डुबानमा, देउखुरी उच्च जोखिममा

दाङ- लगातारको वर्षाले जिल्लाका सैयौं घर डुबानमा परेका छन्। वर्षाका कारण नदी तथा खोलाहरुमा आएको बाढीले दाङ तथा देउखुरी क्षेत्रका सैयौं घर डुबानमा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार देउखुरीका आधा दर्जन गाविसका एकहजार बढी घर डुबानमा परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। राप्ती नदी र स्थानीय खहरे खोलामा आएको बाढीले दर्जन बढी गाउँ जलमग्न भएका छन्।

डा प्रहरी कार्यालय लमहीका प्रहरीका प्रहरी निरिक्षक लक्ष्मण शाहीका अनुसार बाढीले डुबानमा परेका घरमध्ये झण्डै ६ सय घर उच्च जोखिममा छन्। वर्षा कम नभए केही समयमै उच्च जोखिममा रहेका बस्तीहरुमा ठूलो क्षति हुने उनले बताए।

शाहीका अनुसार स्थानीय खोला र राप्ती नदीको बीचमा रहेको सोनपुर गाविस १,२,३ र ४ नम्बर वडाका डेढ सय घरपरिवार बाढीको बीचमा फसेका छन्। दुई नदीको बीचमा रहेका यी वडाका डेढ सय घरपरिवार अहिले घरको छतमा बसेका छन्।

‘दुई नदीमा बाढी अत्यधिक बढेपछि डेढ सय घरपरिवारका मान्छेहरु बीचमै फसेका छन्,’ प्रहरी निरीक्षक शाहीले भने, ‘त्यहाँ फसेकाहरुलाई उद्धार गर्न सम्भवै छैन, उनीहरु घरको छतमा बसिरहेका छन्।’

यसैगरी देउखुरीको सतवरियामा बाढीले एक घर भत्काएको छ। स्थानीय विन्ती राम चौधरीको घर भत्कदा दुईजना घाइते भएका छन्। यसैगरी सतवरियाका बस्तीहरु पनि डुबानमा परेका छन्।

देउखुरीका गढवा,गंगापरस्पुर, चैलाही, सतवरिया, लालमटिया, सोनपुरलगायतका गाविसका दर्जनौं बस्ती डुबानमा परेका छन्। यता दाङको बबई नदीमा आएको बाढीले विभिन्न गाविसका दर्जनौं बस्ती डुबानमा पारेको छ। यो नदीमा आएको बाढीले उरहरी, डुरुवा, फूलबारी, पन्चकुले, श्रीगाउँलगायतका गाविसका सैयौं घर डुबानमा परेको प्रहरीले जनाएको छ।

यसैबीच खोलाहरुमा आएको बाढीले दाङको यातायातसेवा प्रभावित बनेको छ। लमही तुलसीपुर सडक खण्डमा पर्ने खोलाहरुमा बाढीले यातायात सेवा ठप्प भएको छ।

देवेन्द्र बस्नेत/नागरिकन्युज

Leave a Reply

Your email address will not be published.