मानबहादुर क्षेत्री, जसको अभियानले थारु चेलीहरु मुक्त भए

  Man Bdr Chhetri-1

सन्तोष दहित– सदियौं वर्षदेखि मालिकको घरमा दासताको रुपमा जीवन बिताउँदै आएका पश्चिम तराईका थारु बालिकाहरुलाई कमलरी भनिन्छ। त्यस्तै बालकहरुलाई बालकमलर अथवा कमैया पनि भनिन्छ। अहिले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट हजारौं बालिकालाई उद्धार गरी विभिन्न संघसस्थाले उनीहरुको रोजाइमा पढ्न चाहनेलाई स्कुल भर्ना र पढन नचाहेकालाई विभिन्न सीपमुलक तालिम तथा आयआर्जनमा सहयोग गर्दै आएका छन्। करिब १३ वर्षअघिदेखि कमलरी प्रथा उन्मुलनका लागि दाङबाट सुरु गरेको नायफ नेपाल संस्थाका कार्यक्रम संयोजक मानबहादुर क्षेत्री निकै चुनौतिका साथ यो कठोर अभियानमा लाग्नुभयो। थारु समुदायका लागि बहादुर काम गरेकाले मानबहादुर क्षेत्रीलाई प्रत्यक्षरुपमा स्यावास दिन नपाए पनि यो आलेखमार्फत् उहाँलाई स्यावास दिन चाहन्छु।
…..
म २०६१ सालमा उच्च शिक्षाको लागि गाँउबाट सदरमुकाम घोराही आएँ। त्यतिबेला उहाँको बारेमा दाङबाट प्रकाशित नयाँ युगवोध दैनिकमा पढेको थिएँ। मानबहादुर क्षेत्री एक गैरथारु हुनुहुन्छ। जो पहाडबाट तराई झर्नुभयो। त्यो पनि थारु समुदायमा सदियौंदेखि मालिकको घरमा दासताको जीवन बिताइरहेका बालिकाको हितका लागि। मानबहादुर क्षेत्रीले पनि थारु समुदायको उत्थानमा लागेको देख्दा कहिलेकाहीँ मलाई अचम्म लाग्थ्यो। किनकि हामी थारुहरुले थारुहरुका लागि केही गर्न सकेका छैनौं। कहाँको मान्छे कहाँ त्यसमा पनि गैर थारु, जसले थारु समुदायमा रहेको विकृतिलाई बुलन्द पारेको देख्दा म आफूलाई प्रश्न गर्थे। हामी त थारु परिवारमा जन्मियौं, थारु समाजमा हुर्कीयौं, थारु माहोलममै संसार देख्यौं तर त्यही थारु समुदायको लागि केही गर्न सकेका छैनौं। के भोलिका दिनमा पनि हामीले आफ्नै समुदायका लागि केही गर्न नसक्ने नै हो त? हामीसँग त्यो हिम्मत साँच्चिकै छैन त? यस्तै यस्तै प्रश्नहरु म थारु संघ सस्थाले गरेको विभिन्न कार्यक्रमका प्रतिनिधिहरुलाई जिज्ञासा राख्थे।
एक जना गैर थारु जो आफ्नो जीउज्यान लगाएर थारुको लागि काम गर्नुहुन्थ्यो। हामी थारुहरु भने आज पनि एकआपसमा मिल्न सक्दैनौं। एकीकृत भएर बस्न सक्दैनौं। यही कुरालाई मैले पटक पटक थारु विद्यार्थी समाज र थारुको छाता संगठन थारु कल्याणकारिणी सभाको बैठकमा भन्ने गर्छु। प्रश्न सुनेर सबै मौन बस्छन्। मेरो कुरालाई न थारु विद्यार्थी समाजले सुन्छन्, न थारु कल्याणकारिणी सभाका पदाधिकारीले नै। राजनीतिक दलका नेताहरु पनि यस्ता कुराबाट टाँढा बस्छन्। थारु संघ संघसस्थाले गर्न नसेकेका यिनै काम मानबहादुर क्षेत्री एक्लैले गर्नुभयो। मानबहादुर थारु बालबालिकाहरुको लागि मैनबत्तिको काम गर्नुभयो। मैनबत्तिजस्तै उनीहरुको जीवनमा प्रकाश थपिदिने काम गर्नुभयो। आफू जलेर अरुलाई उज्यालो प्रदान गरेजस्तै माबहादुर आफू चलेर थारु बालिकाहरुलाई प्रकाश छर्नुभयो।
Man Bdr Chhetri-2
कामको सिलसिलामा उहाँले नेपाली सेनाको चपेटामा समेत पर्नुभयो। त्यतिमात्र हैन उहाँ राजनीतिक दलका नेता, प्रहरी तथा उच्च पदस्थ ब्यक्तिबाट हन्डर खानुभयो। र पनि उहाँ थारु चेलीहरुको पक्षमा काम गर्न छोड्नुभएन। थारु संघ संस्थासमेत मद्धत गर्नुको सट्टा उहाँमाथि नै खन्निए, गाली गरे, अपमानितको पात्र बनाए। कर्मठ, लगनशील र दूरदर्शी विचारका व्यक्तित्व मानबहादुर आफ्नो अभियानलाई भने निरन्तरता दिइ नै रहनुभयो।
उहाँले कमलरी प्रथा उन्मुलनका लागि अभियान चालाउँदा भर्खरै माओवादीको सशस्त्र द्वन्द्वको सुरुवात भएको थियो। त्यतिबेला उहाँलाई कहिले माओवादीको सुराकी त कहिले नेपाली सेनाको सुराकी भनि दुवै पक्षकाले घेरामा पार्नुभयो। सोधपुछका लागि नेपाली सेनाले बोलाएपछि तुरुन्त हाजिर हुनपर्थ्यो। त्यस्तै बीच जंगलमा माओवादी क्याम्प पनि धाउन पर्थ्यो। तर उहाँ कहिले हतास नगरी स्पष्ट जवाफ दिनुहुन्थ्यो  र पुनः हाजिर हुन घोराही फर्किहुन्थ्यो। घोराही फर्किएसँगै उहाँ पुनः कमली रहेका मालिकका घरमा पुग्नुहुन्थ्यो। त्यतिबेला उहाँ कमलरी र मालिक दुबैबाट गाली खानु पर्थ्यो। त्यतिमात्र हैन, मालिक र कमलरी अभिभावको घेरामा समेत पर्नुहुन्थ्यो। गाली, अभद्र व्यवहार सहनु त उहाँको दैनिकी थियो। बाटोमा हिँड्दा समेत गालीगलोज सुन्नुपर्थ्यो। तैपनि आफ्नो अभियानलाई सफल पार्न उहाँ कहिले पछाडि पर्नुभएन। आफ्नो, मन, तन, र विवेकले कमलरी उन्मुलन अभियानलाई निरन्तर दिनुभयो। यस्तो कठोर अभियानलाई सफल पारी सिंगो थारु समुदायका लागि उत्थानमा लागेका मानबहादुर प्रति सलाम गर्न चाहन्छु। थारु शब्दमा ‘जय गुर्वावा’ भन्न चाहन्छु। यतिमात्र नभइ उहाँलाई थारु समुदायको ‘गुर्वावा’ भन्दा केही फरक नपर्ला। किनकि थारु समुदायका धेरै गुर्वावा थिए। तर, सदियौंदेखि दासताको जीवन बिताएका थारु बालिकाहरुको लागि कसैले न बोलेका थिए, न त साहस गरेका थिए। क्षेत्री भएर पनि थारु समुदायको हितको लागि योगदान दिएकोमा उहाँलाई सलाम गर्न चाहन्छु। Man Bdr Chhetri-3
मानबहादुरले पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब १२ हजार थारु बालिकालाई उद्धार गरिसक्नुभएको छ। तीमध्ये ७ हजार मुक्त कमलरीहरु विभन्न स्कुलमा पढिरहेका छन्। एक सय बढीले त स्नातक तहमा अध्ययन गर्दैछन्। पाँच सय बढीले प्राविधिक शिक्षा लिइरहेका छन्। पाँच हजारभन्दा बढीले सीपमुलक तालिम लिइ रोजगारीमा समेत लागिसेका छन्। यतिमात्र नभएर प्रत्येक मुक्त कमलरीहरुको अभिभावक तथा मुक्त कमलरीलाई सहकारीमा आबद्ध गराइ उनीहरुको आर्थिक स्तरलाई वृद्धि गर्नका लागि सहकारीमार्फत् बचत र घुम्ती कोष सहयोग गरिरहनुभएको छ। यो सबै तिनै मानवहादुर क्षेत्रीको योगदानले भएको हो। यो योगदानको कदर थारु संघसस्थाले दिन नसकेपछि म एक थारु समुदायको छोराले यही आलेखबाट उहाँलाई सम्मानको साथ कृतज्ञता व्यक्त गर्न चाहन्छु।
पछिल्लो समयमा तपाईँलाई राजनीतिक दल, थारु कल्याणकारिणी सभाले पनि साथ दिइरहेको छ। आवश्यक परेको बेला थारु कल्याणकारिणी सभाले साथ दिनेछ भन्न चाहन्छु। मुक्त नभएका करिब ३०० कमलरीलाई उद्धार र बेपत्ता भएका कमलरीहरुको खोजीका लागि छिटो अभियान चलाउन अनुरोध गर्दछु । यसमा मेरो पनि हमेसा साथ रहनेछ।
अन्त्यमा कमलरी उन्मुलन अभियानसँगै अहिले पश्चिम तराईमा बस्ने थारु समुदायलाई मात्र सिकलसेल रोगले सयौंको ज्यान लिइसकेको छ। यो नयाँ रोगले थारु समुदायलाई चिन्तित बनाएको छ। यो नयाँ रोगको पहिचान गर्न र समाधानको लागि केही कार्यक्रम ल्याउनको लागि सुझाव दिँदै उहाँलाई पुनः स्यावास दिन चाहन्छु। असल कामको लागि अगाडि बढन शुभकामना पनि।

Leave a Reply

Your email address will not be published.