जीतबहादुरको खुलेको भाग्य

jeet Bdr

काठमाडौं- ‘म खुसी छु । भोलि उनको (जीतबहादुर सारु मगर) परिवारजनसग छोराको पुनर्मिलन हुनेछ … ।’  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार ती भनाई आफ्नो सामाजिक सञ्जाल ट्विटरमा सम्प्रेषण गरेका थिए। त्यो ट्विट भएको १२ घण्टा बित्न नपाउँदै आज अपराह्न काठमाडौंको होटल हायातमा यसले सार्थकता पायो । भारतीय प्रधानमन्त्री मोदी आफ्ना धर्मपुत्रका परिवारजनलाई भेट्दा औधी खुसी भए। प्रधानमन्त्री मोदीले भने “धन्य ! हामी उनको परिवारजनलाई भेटाउन सफल भयौँ।”
यता जीतबहादुर सारुमगरका परिवारजनलाई पनि कुन बेला प्रधानमन्त्री मोदी र जीतबहादुरलाई भेट गर्न पाइएला भन्ने व्यग्र प्रतीक्षा थियो । उनीहरु शनिवारमात्र नवलपरासीबाट काठमाडौ आई होटल हायातमा बसेका थिए ।
शनिवारको प्रधानमन्त्री मोदीको ट्विटमा भनिएको थियो “नेपालको यस यात्रामा मेरो केही व्यक्तिगत भावना पनि जोडिएको छ । वषौँ पहिले नेपालका एक बालक जीतबहादुर सारुमगरसँग उनको असहाय अवस्थामा मेरो भेट भयो । उसलाई केही थाहा थिएन , कहाँ जाने ? के गर्ने ? कसैलाई चिन्दैनथे, भाषा पनि राम्रोसँग आउँदैनथ्यो ।”
“भगवानको कृपाले मैले उसको जीवनको बारेमा चासो लिन थाले । विस्तारै उसको पढाई, खेलकूदमा ध्यान जान थाल्यो । उनले गुजराती भाषा पनि जान्न थाले । केही समयपहिले हामी उसको बाबु आमा खोज्न सफल भयौँ । यो यसकारण सम्भव भयो कि उनको खुट्टामा ६ वटा औंला थिए,”  प्रधानमन्त्री मोदीले रोचक ट्विट गरेका थिए।
आफ्ना परिवारजनलाई प्रधानमन्त्री मोदीसँग भेट गराएपछि जीतबहादुरले भने “यो भेट ईश्वरको कृपाले नै गराएको हो ।” जीतबहादुरले नेपालमा पनि गुजरातमा जस्तै विकास भएको हेर्न चाहेको प्रतिक्रिया दिए । “मेरो लागि मोदी ईश्वरझैं प्रकट हुनुभो, उहाँ नहुनुभएको भए म यो अवस्थामा तपाईहरुसँग प्रस्तुत हुनसक्ने थिइन्,” २७ वर्षीय जीतबहादुरले भने।
जीतबहादुरले केही समय परिवारजनसँग विताउन चाहेपनि उच्च शिक्षा भारतमै अध्ययन गरिरहेकाले उतै जाने पनि बताए । दश वर्षको उमेरमा नेपालको नवलपरासीबाट भारततीर भौंतारिने क्रममा भारतको गुजरात प्रान्तको अहमदाबाद पुगेका थिए । त्यहाँ असहाय अवस्थामा पुग्दा एक महिलाले उनलाई उद्धार गरी मोदीसँग चिनाएपछि झण्डै डेढदशकदेखि उनी मोदीको अभिभावकत्वमा आफ्नो भविष्य उज्ज्वल बनाइरहेका छन् ।

विष्णु नेपाल/रत्न श्रेष्ठा/रासस

Leave a Reply

Your email address will not be published.