मोदीद्वारा संसद्‍मा सम्बोधन, दस हजार करोड सहयोग गर्ने घोषणा

Modi Sambodhan

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता आरामसँग सुत्न सकेनन् भने भारतका  जनतालाई पनि बेचैनी हुन्छ भन्दै नेपालको दुःखसुखमा सधैँ साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका उनले संविधानसभा, व्यवस्थापिका–संसद्को बैठकलाई आज सम्बोधन गर्दै शनिबार सुनकोसी नदीछेउमा गएको बाढीपहिराले जलप्रवाहमा उत्पन्न गरेको व्यवधानका साथै भएको जनधनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरे। प्रधानमन्त्री मोदीले भने– “प्राकृतिक विपत्तिका बेला सहयोग एवम् सद्भाव अभिवृद्धि गर्दै नेपाललाई भरपूर सहयोग गर्न मैले आफ्नो देशका सम्बन्धित अधिकारीलाई निर्देशन दिइसकेको छु ।”
अति ओजपूर्णरुपमा भावुक भएर मन्तव्य प्रकट गर्दै उनले छिमेकीको दुःख आफ्नो पनि दुःख भएको बताउँदै दुःखमा साथ दिनु आफ्नो कर्तव्य भएको बताए। भारतीय प्रधानमन्त्रीले नेपाल र भारतबीचको सम्बन्ध हिमाल र गङ्गा नदी जत्तिकै पुरानो रहेको बताउँदै त्यसलाई नयाँ उचाइमा पुर्यातउन आफू कृतसङ्कल्प रहेको दोहोर्या्ए।
छिमेकीको हैसियतले नेपाल र नेपालीप्रति आफ्नो उच्च सम्मान रहेको र त्यसलाई भारतको विदेश नीतिमा समेत समावेश गरिएको उनको कथन थियो ।  प्रारम्भमा नेपालीमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री मोदीले हिन्दीमा संसद्लाई सम्बोधन गर्नुभयो । त्यसक्रममा उनले नेपालको विकासको मुख्य बाहक विद्युत् उत्पादन नै भएकाले त्यसमा भारतको सहकार्यका निम्ति निर्णय गर्न नेपालका नेतृत्व तहलाई आग्रह गर्दै नेतृत्व वर्गलाई आफ्नो परिचय दिन आह्वान गरे।
प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणमा नेपालको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीले आज नेपालको व्यवस्थापिका संसद्लाई सम्बोधन गर्ने क्रममा नेपाल आउन पाउँदा निकै हर्षित भएको बताए। धेरै वर्ष अगाडि आफू एक तीर्थयात्रीका रुपमा नेपाल आएको बताउँदै प्रधानमन्त्री मोदीले आज फेरि प्रधामन्त्रीको रुपमा नेपाल आउन पाउँदा भाग्यशाली सम्झेको छु भने।
संसद्मा ४६ मिनेट लामो सम्बोधनका क्रममा सुरुमा साढे तीन मिनेट नेपाली भाषामै सम्बोधन गर्नुभएका प्रधामन्त्री मोदीले नेपालसँगको सम्बन्ध भारतका लागि उच्चतम प्राथमिकताको विषय भएको बताए। प्रधानमन्त्री मोदीले भने, “संविधान सभा व्यवस्थापिका– संसद्लाई सम्बोधन गर्न नेपालले प्रदान गरेको अवसरबाट  आफू मात्र नभई एक अर्ब २५ करोड भारतीय जनता सम्मानित भएका छन् ।”
हिन्दू धर्मप्रति अगाध आस्था प्रकट गर्दै उनले कासी विश्वनाथदेखि पशुपतिनाथको छत्रछायामा आफू आइपुगेको उल्लेख गर्दै शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र राजर्षि जनकको स्मरण पटक पटक गरे। उनले भने,–“शस्त्र–अस्त्रको मार्ग त्यागी बुद्धले देखाउनुभएको शान्तिको बाटामा नेपाल अग्रसर भइरहेको पाउँदा मलाई मात्र होइन, सारा विश्वलाई गर्व महसुस भइरहेको छ, देशमा पूर्ण शान्ति कायम गर्दै निर्धारित समयमा समावेशी एवम् लोकतान्त्रिक संविधान जारी हुनेमा म विश्वस्त छु, त्यसनिम्ति भारतले हरसम्भव सहयोग उपलब्ध गराइरहनेछ ।”
नेपाललाई विश्वले नजिकबाट हेरिरहेको पटक पटक दोहोर्याजउँदै उनले यहाँ जारी संविधान लेखनको कामलाई समयमै पूर्णता दिन राजनीतिक दललाई आग्रह गरे। उनले भने–“विश्वका विभिन्न कुनामा शस्त्रास्त्रको होडबाजीमा लागेकाहरुले समेत नेपालबाट शान्ति र सदाचारको पाठ सिक्न सकून्, यसतर्फ यहाँको नेतृत्व सफल होओस् ।”
नेपाल र नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने अभिभारा नेपालकै भएको भन्दै उनले त्यसका भारतले यसो गर, उसो गर नभन्ने र नगर्ने स्पष्ट पारे। “नेपाल सार्वभौम मुलुक हो, आफ्नो निर्णय गर्न स्वतन्त्र छ तर पनि यहाँ लेखिने लोकतान्त्रिक संविधानले सारा विश्वको ध्यान तानिरहेका सन्दर्भमा बढी मर्यादित बनाउनु जरुरी छ । ”
संविधान तत्कालका लागि नभएको भन्दै त्यसले आगामी सय वर्षसम्म मुलुक सञ्चालन गर्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गरे। उनले बुद्ध जन्मेको पावन मुलुक नेपाल संस्कृति र सम्पदाको विरासत हो भन्दै सांस्कृतिक, धार्मिक एवम् परम्परागत रुपमा विद्यमान भारत नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको स्पष्ट गरे।
उनले नेपालको समृद्धि र उन्नति नै भारतको प्रमुख चासोको विषय भएको बताउँदै त्यसका लागि हरसम्भव प्रयत्न गरिने स्पष्ट पारे। नेपालको अपार जलस्रोतको अधिकभन्दा अधिक उपयोग हुनुपर्नेमा जोड दिँदै उनले समृद्धिको बाटामा अग्रसर गराउने प्रमुख माध्यम ऊर्जा विकासलाई पारस्परिक लाभका निम्ति प्रयोग गर्न सुझाव दिए।
प्रधानमन्त्री मोदीले बिजुली बेचेर आर्थिक उन्नयनको मार्गमा सजिलै नेपाल अघि बढ्ने र नेपालले उत्पादन गर्ने बिजुली बजार मूल्यमा खरिद गर्न भारत आतुर रहेको बताउँदै विद्युत् उत्पादनमा भारतले नेपाललाई सधैँ साथ दिने वचनबद्धता प्रकट गरे। उनले भने– “नेपालीसँग काँधमा काँध मिलाएर विकास निर्माणका काममा सहकार्य गर्न भारत सदा तत्पर छ ।”
उनले २२ वर्षदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउन आगामी एक वर्षभित्रै प्रक्रिया सुरु गर्ने र त्यसबाट उत्पादन हुने पाँच हजार ६०० मेगावाट विद्युत्ले नेपालको विकासले नयाँ उचाइ लिने बताए। हालः नेपालमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न भारत सरकार तत्पर रहेकामा जोड दिँदै उनले अन्तरदेशीय प्रसारण लाइनमार्फत सङ्कट समाधान गर्न हाल उपलब्ध गराइरहेको विद्युत् दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै उनले नेपालले आफूसँग रहेको अपार जलस्रोतलाई समुचित उपयोग गर्न सके आगामी दश वर्षपछि भारतको ऊर्जा सङ्कटसमेत समाधान गर्छ भने।
सूचना प्रविधिको विकासबाट रोजगारी प्राप्तिको सहज माध्यम बन्न सक्ने भएकाले त्यस दिशामा पनि नेपालसँग मिलेर काम गर्ने आफ्नो मुलुकको चाहना रहेको सभासद्लाई सुनाउँदै भौतिक पूर्वाधार निर्माणमा सघाउन एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने घोषणा गरे।
उनले दक्ष जनशक्ति उत्पादनमा सघाउन शैक्षिक छात्रवृत्तिको सङ्ख्यामा वृद्धि गरिएको घोषणा गर्दै नेपालको सामाजिक, आर्थिकलगायत चौतर्फी विकासका लागि भारतको निरन्तर सहयोग रहने बताउनुभयो । दुई देशबीच जनस्तरमा सुदृढ बन्दै गएको घनिष्ठ सम्बन्धलाई अझ व्यापक बनाउन भारत र नेपालबीच दूरसञ्चार सेवालाई सहज एवम् सर्वसाधारणको पहुँचभित्र पुर्याधउन आफ्नो देशका सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने उद्घोष गर्दै नेपाल सरकारलाई पनि त्यसनिम्ति आवश्यक निर्णय गर्न आग्रह गरे। प्रधानमन्त्री मोदीको उक्त भनाइ भारतबाट नेपाल फोन गर्दा र यहाँबाट भारतमा कुराकानी गर्दा तिर्नुपर्ने उच्च महसुलप्रति परिलक्ष्यित थियो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का सबै सदस्य मुलुक मिलेर यस क्षेत्रको गरिबी निमिट्यान्न पार्नुपर्नेमा जोड दिँदै भारतले सार्क स्याटलाइट स्थापना गरेर शिक्षा, स्वास्थ्य र सञ्चारमा योगदान गर्ने चाहना व्यक्त गरे।
नेपालको समृद्धिका लागि पर्यटन, जडिबुटी, जलस्रोत, युवा शक्ति र वैज्ञानिक कृषि प्रणाली नै महत्वपूर्ण रहने भन्दै भारतीय प्रधानमन्त्री मोदीले त्यसका लागि सहयोग गर्न आफू र आफ्नो सरकार प्रतिबद्ध रहेको बताए।
वीर नेपालीको साहसको मुक्त कण्ठले प्रशंसा गर्दै उनले गोरखा सैनिकले भारतको सुरक्षा व्यवस्थामा गरिरहेको योगदानप्रति आभार प्रकट गरे। सत्र वर्षमा आफू नेपाल भ्रमणमा आएको स्मरण गर्दै उहाँले आगामी दिनमा त्यस्तो नहुने र सार्क सम्मेलनमा आउँदा राजर्षि जनकको भूमि जनकपुर र  गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्ने प्रतिवद्धता जनाए। नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै उनले सम्बोधनको सुरुमा नेपाली भाषामा नै गरेका थिए।
शरच्चन्द्र भण्डारी, रमेश लम्साल र भीष्मराज ओझा/रासस

Leave a Reply

Your email address will not be published.