मोदीको दर्शन गराउन पशुपतिमा तयारी पूरा

pashupatinath

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई सोमबार पशुपतिनाथको दर्शन एवम् विशेष पूजा गराउन पशुपति क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा सरसफाइका सम्पूर्ण तयारी सकिनुका साथै स्वागतका लागि पनि तयारी सम्पन्न भएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए।
मोदी बिहान ९ बजे पशुपति आइपुगेपछि ब्राह्मण बटुकहरुले स्वस्ति वाचनसहित वैदिक मन्त्रोच्चारण गरेर स्वागत गर्ने कार्यक्रम बनेको छ । त्यस्तै पञ्चेबाजा, धिमेबाजा, गुँलाबाजा र बाँसुरीवादनसहित स्वागत गरिने कार्यक्रम तय गरिएको पनि कोषका निर्देशक भोला सिटौलाले बताए। मोदीले पशुपति दर्शनलाई महत्वपूर्णरुपमा लिनुभएका कारण  कोषले पनि त्यहीरुपमा तयारी गरेको पनि निर्देशक सिटौलाको भनाई छ ।
नेपाल भ्रमणको पूर्वसन्ध्यामा शनिबार मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् साउन महिनामा पशुपतिको दर्शन गर्न पाउनु आफ्नो सौभाग्यको भएको सार्वजनिक गरेका थिए। यसबाट पनि मोदीले पशुपति दर्शनलाई महत्वपूर्ण कार्यका रुपमा लिनुभएको बुझ्न सकिन्छ ।
साउनको सोमबार पशुपति दर्शनको शुभ साइत मिलाएर नै मोदीले पशुपतिको दर्शन गर्ने उद्देश्यले नेपाल भ्रमणको कार्यक्रम राखेको हुनसक्ने धार्मिक विश्लेषण नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले गरेका थिए। पशुपति दर्शनको अवसर पारेर मोदीले पशुपति क्षेत्र विकास कोषलाई भारत सरकारका तर्फबाट दुई हजार ५०० किलो श्रीखण्ड उपहार दिइने भएको छ।
रु एक करोड ६९ लाख मूल्य पर्ने श्रीखण्डले पशुपतिमा पूजाका लागि तीन वर्षसम्म पुग्ने सदस्य सचिव डा टण्डनले बताए। यसअघि पाँच वर्ष पहिले पनि भारत सरकारले पशुपतिमा ५०० किलो श्रीखण्ड दिएको पनि निर्देशक सिटौलाले जानकारी दिए। बीचमा पूजाका लागि कोषले एक हजार किलो श्रीखण्ड किनेको थियो । रासस

Leave a Reply

Your email address will not be published.