१० खर्ब ४८ अर्ब ९२ करोडको बजेट आज

सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट तयार पारेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार ४ बजे व्यवस्थापिका संसदमार्फत बजेट सार्वजनिक गर्दैछन्। सरकारले ल्याउन लागेको यो बजेट चालु वर्षको भन्दा २ खर्ब २९ अर्ब रुपैयाँले बढी हो। पैसा खर्च गर्न नसकेर आलोचना खेपिरहेको सरकारले एकै वर्षमा २७ प्रतिशतले बजेट अंक बढाएको हो।

‘बजेटको सम्पूर्ण तयारी पूरा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार दिउँसो बिफ्रिङ पनि गरिसकिएको छ,’ राष्ट्रिय योजना आयोगका एक उच्च अधिकारीले शुक्रबार नागरिकसँग भने, ‘सबैतिर मिलाउँदा आगामी बजेट १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बन्न पुगेको छ।’

पछिल्लोपटक आयोगले १० खर्ब ६० अर्बको बजेट सिलिङ तोकेको थियो।

आयोगले कार्यान्वयन हुने किसिमको बनाउन खोजे पनि अर्थमन्त्रीको हस्तक्षेपले बजेट अंक धेरै ठूलो बनेको ती अधिकारीले जनाए। तिनका अनुसार सरकारले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता सामाजिक क्षेत्र, विकासका पूर्वाधार, पुनर्निर्माण र चुनावकेन्द्रित कार्यक्रममा बढी रकम विनियोजन गरेका कारण बजेट आकार ठूलो भएको हो।

सरकारले आगामी बजेटमा चालु र पुँजीगत दुवै शीर्षकमा भारी रकम बढाएको छ। यो वर्ष ४ खर्ब ८४ अर्ब रुपैयाँ चालु खर्चमा बजेट विनियोजन गरेको सरकारले आगामी वर्षका लागि एक खर्ब ३३ अर्ब रुपैयाँ बढाएर ६ खर्ब १७ अर्ब रुपैयाँ पुर्याेएको छ।

Leave a Reply

Your email address will not be published.