‘परगा’ कविता संग्रह विमोचित

Tharu Book Bimochan

काठमाडौं- थारु भाषा साहित्यिक शृङ्खलाको १६औं भागको अवसरमा आयोजित कार्यक्रममा ‘परगा’नामक कविता संग्रहको विमोचन गरिएको छ। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, थारु कवियत्री शान्ति चौधरी, थारु साहित्यकार कृष्णराज सर्वहारी, सुशील चौधरी, नन्दुराज चौधरीलगायतले किताबो बिमोचन गरे।

किताबमा २०६९ माघबाट हालसम्म थारु भाषा साहित्यिक शृङ्खलामा वाचन गरिएका उत्कृष्ट कविताहरु समावेश गरिएका छन्। किताबमा साहित्यकार कृष्ण सर्वाहरी, सुशील चौधरीलगायत नयाँ युवाहरुको कविता समावेश गरिएका छन्। ४३ जना कविता समावेश गरिएको ‘परगा’को सम्पाद सर्वाहरी र सुशील चौधरीले गरेका हुन्। किताबको मूल्य ८० रुपियाँ तोकिएको छ।
कार्यक्रममा बोल्दै साहित्यकार सर्वाहरीले यस्ता कार्यक्रमले थारु भाषाको संरक्षण हुनुको साथै थारु युवामा साहित्यप्रति रुचि बढ्ने बताए। उनले यस्ता कार्यक्रमको निरन्तरता दिन सके आगामी दिनमा धेरै थारु साहित्यकारहरु उत्पादन हुने बताए। ‘यस्ता कार्यक्रमले विशेषतः थारु युवामा साहित्यप्रति रुचि बढाएको छ,’ उनले भने, ‘यसले थारु भाषाप्रति युवाको सोचमा परिवर्तन हुनुका साथै थारु भाषाको सं‌रक्षण हुन्छ।’

कवियत्री शान्ति चौधरीले थारु पत्रकारहरुले थारु साहित्यलाई भन्दा राजनीतिक नेतालाई बढी चासो दिएकोप्रति चिन्ता ब्यक्त गरिन्। उनले राजनीतिकर्मी भन्दा बढी योगदान थारु साहित्यकारहरुले गर्दै आएकोले विभेद नगर्न सुझाइन्। ‘साहित्यकारहरुले कलममार्फत् थारु कला, सं‌स्कृति र भाषाको जगेर्ना गरेका छन्,’ उनले भनिन्, ‘तर थारु पत्रकारहरु उनीहरुलाई भन्दा बढी राजनीतिकर्मीलाई चासो लिएका छन्।’ उनले राजनीतिकर्मीहरुले भाषणभन्दा अरु केही नगरेको बताइन्।

कार्यक्रममा दुई दर्जन बढी युवाले आफ्नो कविता वाचन गरेका थिए।
‘परगा’ कविता संग्रहमा समावेश गरिएको एउटा कविताको अंश पढ्नुस्:
पहिचान
प्रकृति पूजा
संविधान भेटैना नाउँम मधेसी बनगैली
थारु दुई कना पहिचान लडियम पुहा मरली
सयौं, हजारौं सालके इतिहास माटीम मिलाडर्ली
वीर सहिदके रगट पानीसे सस्टा बनाडेली
संविधान बनैना नाउँम पहिचान हेरवाडेर्ली
हमार अस्तित्व, पहिचान कहाँ रहल आब
आदिवासी जनजाति थारुसे मधेसी बनागैली
का बिगार डेल रही हम्र थारुमसे मधेसीम झारडेलो
अरे कुइ ट कहो, हमार पहिचान के हो छिनटा
थारुन् के रिस नैडेख्ले हो हमन गोरु समझटा
अब ट हुइ एकजुट हाम्र पुरुबसे पच्छिउँ सम
एकचो आउर आब थारुन् के डेखा डी दम
आब ढेर बात से नाही लात चलाइ पर्ना बा
जाँर पिक सुट्ना नाही जाँर पिएल बल देखाइ पर्ना बा
संविधान भेटैना नाउँम मधेसी के पगरी हमन नैचाहल
थारु हुइ हम्र हमार पहिचान पाइक परल
थारु, मधेसी नै हुइट कना प्रमाणित करक परल
(२०७० चैत २९ गते तेह्रौ शृंखलामा वाचन गरिएको)

Leave a Reply

Your email address will not be published.