सरकारलाई लेखीको प्रश्‍न- थारुले ‘म थारु हुँ’ भन्न नि नपाइने?

Rajkumar Lekhiसन्तोष दहित, दाङ- नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले नेपालको संविधान निर्माणमा अन्तर्राष्ट्रिय शक्तिले हस्तक्षेप गरेको बताएका छन्। पहिलो संविधान सभा विघटन हुनुको कारण पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको हात भएकाले संविधान नबनेको उनको भनाइ थियो। दाङको सदरमुकाम घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले शीर्ष नेताहरुको चाला देख्दा फेरि संविधान निर्माणमा बाधा पुग्ने बताए। ‘प्रमुख तीन दलका नेताहरुको चलखेल हेर्दा फेरि पनि संविधान बन्ने छाँटकाट देखिन्न,’ उनले भने, ‘त्यसैले सबै जनता मिलेर खबरदारी गरौं।’
अहिलेको प्रमुख आवश्यकता संविधान रहेको भन्दै उनले आदिवासी जनजाति महासंघले राजनीतिक दललाई दबाब दिइरहेको बताए। उनले संविधान निर्माणपछि स्थानीय चुनाव गर्दा राम्रो हुने बताए।

उनले तराईका थारुहरुलाई जबर्जस्ती मधेसी बनाउन खोजेको भन्दै सरकारप्रति आलोचना गरे। थारु समुदाय तराईमा सदियौंदेखि बस्दै आएकाले उनीहरुको आफ्नै पहिचान भएको भन्दै उनले जबर्जस्ती मधेसी बनानउ नपाइने बताए। ‘सरकारले थारुलाई मधेसी सूचीबाट हटाउनपर्छ,’ उनले भने, ‘नहटाइए सरकारविरुद्ध तराईमा ठूलो आन्दोलन गर्छौं।

उनले सुशील कोइराला, झलनाथ खनाल, पुष्पकमल दाहालले आफ्नो थर लेख्न पाउने, ब्राह्माण हुँ भनी गर्व गर्ने तर थारु समुदायले थारु लेख्न नपाउने भन्दै प्रश्‍न गरे। ‘ब्राह्मण भनाउँदा नेताले म ब्राह्मण हुँ भनेर गर्व गर्न पाइने, थारुले चैं म थारु हुँ भन्न नपाउने,’ उनले भने, ‘के सुशील कोइराला, झलनाथ खनाल, पुष्पकमल दाहाललाई मात्र लोकतन्त्र/गणतन्त्र आएको हो?’
उनले सबैले आफ्नो पहिचानकाको अधिकार पाउनुपर्ने भन्दै जबर्जस्ती थारुलाई मधेसी बनाउन कुनै हालतमा नपाइने बताए।

Leave a Reply

Your email address will not be published.