शान्ति सुरक्षा सदृढ गर्न प्राथमिकता दिनेछु : गौतम

तस्बिर : प्रदीपराज वन्त/रासस
तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्रीद्वयले एक वर्षभित्र संविधानसभाबाट संविधान जारी गर्न र जनताको आर्थिक, सामाजिक जीवनस्तर माथि उकास्न वर्तमान सरकारको प्राथमिकता रहने बताएका छन्। पद तथा शपथग्रहणपछि राष्ट्रपति भवन शीतल निवासबाट बाहिरिने क्रममा उनीहरूले सरकारको नीति तथा कार्यक्रम शीघ्र सार्वजनिक हुने जानकारी दिए। उपपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहले सरकार गठन सहमति र सहकार्यबाटै भएको बताए।
गृहमन्त्री गौतमले आफूले आजैदेखि शान्ति सुरक्षा सदृढ गर्न पहिलो प्राथमिकता दिने दृढता व्यक्त गरे। स्थानीय विकासमन्त्री सिंहले राजनीतिक सहमतिका आधारमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने र स्थानीय विकासका नयाँ कार्यक्रम ल्याइने जानकारी दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले सरकारको प्रमुख ध्यान संविधान निर्माणमा नै जाने र यसका साथमा विकास निर्माणमा पनि प्राथमिकता दिइने बताए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सरकारले पूर्णता पाउन केही ढिलो भए पनि अब नयाँ गतिका साथ जनचाहनाअनुसार काम गर्ने बताए। शिक्षामन्त्री चित्रलेखा यादवले जनताका दैनिक जीवनयापनका समस्यालाई समाधान गर्ने खालको नीति तथा कार्यक्रम सरकारले ल्याउने जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.