सिरहामा दुई गाविसबीच सीमा विवाद भएपछि…

सिरहा- जिल्लाको महेशपुर पतारी र लक्ष्मीपुर पतारी गाविसबीचको सीमा विवाद झन्झन् बढ्दै गएको छ। सीमा विवादका कारण लक्ष्मीपुर गाविसस्थित जनता माविको चउरमा महेशपुरवासीले खम्बा गाडेपछि विवाद बढ्न थालेको हो। त्यहाँ रहेको ऐतिहासिक ‘पतारी पोखरी’ लक्ष्मीपुर गाविसमा रहे पनि महेशपुरवासीले आफ्नो गाविसमा पोखरी रहेको दाबी गरेका छन्। उक्त पोखरी कब्जा गर्न महेशपुरवासीले करिब पचास फिटभित्र विद्यालयको चउरमा चार वटा खम्बा गाडेपछि विवाद झन्झन् बढ्दै गएको स्थानीयवासी बताउँछन्।

विवादका कारण दुवै गाविसवासीबीच कुनै बेला पनि झडप भएर अनपेक्षित घटना घट्नसक्ने सम्भावना बढेको छ। लक्ष्मीपुर गाविसको ३ ‘ग’ मा पतारी पोखरी रहेको नक्सामा देखिन्छ। महेशपुर पतारी गाविसको विसं २०२४ मा भएको नापीअनुसारको फिल्डबुकमा पोखरीको कित्ता नम्बर ३१५ रहेको छ। फिल्डबुकअनुसार त्यस पोखरीको चौहदीमा पूर्व कित्ता नम्बर १८२, पश्चिममा बाटो, उत्तरमा किता नम्बर पाँच र दक्षिणमा कित्ता नम्बर १९८ रहेको छ। उक्त फिल्डबुकको कैफियतमा जिल्ला पञ्चायतको निर्णयअनुसार पोखरी लक्ष्मीपुर पतारी गाविसमा रहेको उल्लिखित छ।

महेशपुर पतारी गाविसले गराएको नापी पछि लक्ष्मीपुर पतारी गाविसले विसं २०२५ मा नापी गराएका थिए। उक्त नापीअनुसार कित्ता नम्बर २४ को पतारी पोखरी ९ (क) को क्षेत्रफल तीन बिघा १२ कट्ठा पाँच धुर लक्ष्मीपुर गाविसमा रहेको देखिन्छ। फिल्डबुकअनुसार पतारी पोखरीको चौहदीमा पूर्वपश्चिम र दक्षिण महेशपुर पतारी गाविसको सिमाना र पश्चिममा बाटो रहेको छ। पोखरीको पश्चिममा रहेको बाटो विद्यालयको बीचदेखि रहेको थियो। त्यसै आधारमा तत्कालीन जिल्ला पञ्चायतका सभापति तालेश्वर यादव र उपसभापति गोविन्दहरि धौभडेलले उक्त पोखरी लक्ष्मीपुर पतारी गाविसमा रहेको निर्णय गरिदिएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यानन्द साहले भन्नुभयो, “विद्यालय परिसर पर्खालले घेर्न खोज्दा महेशपुरवासीले बलजफ्ती अवरोध खडा गर्‍यो।”

विद्यालयका प्रधानाध्यापक विनोदकुमार सिंहले यस विद्यालयमा लक्ष्मीपुरभन्दा महेशपुर गाविसका अधिकांश बालबालिका अध्ययनरत रहेपनि बलजफ्ती रुपमा विवाद खडा गरेको बताउनुहुन्छ।

ऐतिहासिक पोखरीसँगै विद्यालयको जग्गा पनि महेशपुरवासीले कब्जा गर्न खोजेपछि न्यायका लागि जिल्ला प्रशासन, जिल्ला शिक्षा कार्यालय र जिविसमा निवेदन दिएको उहाँले बताउनुभयो।

यसैबीच, जिप्रका सिरहाले सीमा विवाद सुल्झाउन जिविसलाई समन्वयकारी भूमिका निर्वाह गर्न भनेको छ। प्रशासकीय अधिकृत गङ्गाप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा सीमा विवाद सल्टाउन जिविस सिरहाको संयोजकत्वमा दुवै गाविसका सचिव, विद्यालयका प्रतिनिधि, नापी कार्यालय लहानका प्रतिनिधिलाई राखेर छलफल गरी समाधान निकाल्न निर्देशन दिइएको छ। अहिलेसम्म विवाद सुल्झाउन कुनै किसिमको पहल भने हुन नभएको विद्यालयका प्रअ सिंहको गुनासो छ।

महेशपुर पतारी गाविसका प्राविधिक सहायक शंकरबहादुर बिसीले वर्षांैदेखि त्यो ऐतिहासिक पोखरी आफूहरुको गाविसमा रहेको र आफूहरुले नै भोगचलन गर्दै आएको दाबी गर्नुहुन्छ।

उहाँ भन्नुहुन्छ, “विद्यालयले रातारात पर्खाल लगाउन थालेपछि हामीले प्रहरीलाई पत्र पठाई समाधान गर्न आग्रह गरेका छौं।”

कुनै प्रभाव वा जबर्जस्ती नगरेको भन्दै प्रास बिसीले नापी कार्यालयबाट आएको सर्वेक्षकको टोलीले सीमा छुट्टाएपछि खम्बा गाडेको दाबी गर्नुभयो तर नापी कार्यालयको सर्वेक्षकद्वय प्रजय चौधरी र देवनारायण चौधरीले नापी गर्ने बेलामा लक्ष्मीपुरका एक जनालाई पनि जानकारी गराएको देखिएन। सर्वेक्षण प्रतिवेदनमा नौ जनाको हस्ताक्षर छ र ती सबै महेशपुर गाविसका हुन्। एक जना पनि लक्ष्मीपुरका बासिन्दा छैनन्।

पोखरी आफ्नो गाविसमा रहेको दाबी गर्दै महेशपुर गाविसलाई विपक्षी बनाई लक्ष्मीपुर गाविसले पुनरावेदन अदालतमासमेत मुद्दा दायर गरेको छ। लक्ष्मीपुर गाविसका सचिव चन्द्रनारायण चौधरीले जिल्लास्तरमा विवाद नसुल्झेपछि पुनरावेदन अदालतमा मुद्दा जोडेको बताउनुभयो। उहाँले भन्नुभयो, “पोखरी लक्ष्मीपुर गाविसमा रहेको सबै प्रमाण हुँदाहुँदै पनि महेशपुरवासीले बलजफ्ती गरेकाले न्यायका लागि मुद्दा पुनरावेदनमा हालेका छौँ।”
विवादित पतारी पोखरी ऐतिहासिक महत्वको हो। यहाँ हरेक वर्ष वैशाख २ गते भव्य मेला लाग्छ। बच्चा नपाएकी महिला अर्थात् बाँझोपनको समस्याबाट ग्रसित महिलाले यस पोखरीमा वैशाख २ गते स्नान गरे मुक्ति पाउने विश्वास गरिन्छ। यस पोखरीमा स्नान गर्दा पहिलो डुबुल्की मारेर पोखरीको तलबाट केही न केही समात्दा त्यो सजीव भए बच्चा जन्माउन सकिने र निर्जीव भए बच्चा जन्माउन नसकिने जनविश्वास रहेको छ।
उक्त पोखरीमा लाग्ने मेलामा भारत विहार र नेपालका विभिन्न जिल्लाका करिब लाखौँ श्रद्धालुको घुइँचो लाग्ने गरेका छन्।
सन्तोष यादव/रासस

Leave a Reply

Your email address will not be published.