थारु, मधेसी दुबै ठगिएका छन् : गच्छदार

foram loktantrik_bhadhai programe

काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीको भातृसंगठन थरूहट तराई लोकतान्त्रिक परिषद्ले पार्टी कार्यालय सानेपामा एक कार्यक्रम गरी नवनिर्वाचित सभासद्हरुलाई बधाई तथा शुभकामना दिएको छ। परिषद्का अध्यक्ष लक्ष्मण थारुले फोरम (लोकतान्त्रिक)बाट प्रत्यक्षमा विजयी ४ जना तथा समानुपातिकका १० जना सभासद्लाई कलम र डायरी प्रदान गर्दै पहिचानसहितको संघीयताको लागि आवाज उठाउन आग्रह गरेका थिए।

उनले थारु सुमदायको परम्परागत संगठन बरघर, महटाँवा, गुरुवा प्रणालीलाई संरक्षण गर्दै आगामी संविधानमा उचित स्थान दिलाउन सभासदहरुसँग आग्रह गरे। विगतको थरुहट आन्दोलन, मधेश आन्दोलन तथा जनजातिहरुसँग गरिएको सम्झौताको पालना गराउनमा सभासदहरुले भूमिका खेल्नु पर्ने बताउँदै थरुहट, मधेश, नेवा, लिम्बुवान, तमुवान, मगरात लगायत प्रदेशको सुनिश्चतताको लागि सभासदहरुले आवाज उठाउनु पर्नेमा जोड दिए।

सरकारमा जाने अनिश्चित
शुभकामना तथा बधाई कार्यक्रममा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टी सरकारमा जान हतार नगरेको बताउँदै भने– सबैको सहमतीय सरकार बन्यो भने जान सकिन्छ, तर अहिल्यै कुनै निर्णय गरेका छैनौ।
अबको आफ्नो बटम लाइन संविधान बनाउनु रहेको अर्को प्रसंगमा गच्छदारले भने– हामी त एक वर्षभित्रै संविधान बनाउन प्रतिबद्ध छौं तर वर्ष दिनमा संविधान नबनाएर अत्तो मात्रै थाप्ने नेताहरु अब सारनाथमा माला जप्न गए हुन्छ।

गच्छदारले आफ्नै प्रयासमा बडो मुश्किलले थारु–मधेशी एक भएको तथा त्यसको लागि आफूले ब्यक्तिगत रुपले ठूलो जोखिम मोलेको बताउँदै भने– थारु–मधेशी दुवै ठगिएका छन्। दुवैले सँगै मुद्दा उठाउन सकेमात्रै ठोस रुप लिन सक्छ।
उनले स्थानीय चुनाव चाँडै हुने तथा त्यसको सामना गर्न पार्टीका खासगरी युवालाई तम्तयार रहन आग्रह गर्दै भने– सभासद् हुन नपाएको तुष युवा, विद्यार्थीले नपालौं, तपाईहरुको उमेर छ, अझै धेरै प्रगति गर्न सक्नुहुन्छ।

थरूहट तराई लोकतान्त्रिक परिषद्का अध्यक्ष लक्ष्मण थारुले संविधा सभाको दोस्रो निर्वाचनपछि गच्छदारलाई मिडियाले एकतर्फी ढंगले लखेटिरहेको तथा उनको नकारात्मक कुरामा सबैजसो मिडिया बढाईचढाई गरिरहेको प्रसंग उप्काएका थिए भने गच्छदारले मिडियामा आफूहरु कमजोर भएकाले आगामी दिनमा मिडियामा विशेष ध्यान दिने अभिब्यक्ति दिएका थिए।

सो अवसरमा नवनिर्वाचित सभासद् गीता राणाले सबै पक्षलाई समेटेर लैजाने फोरम (लोकतान्त्रिक)को नीति तथा घोषणा पत्र मन परेकाले आफू यसमा लागेको तथा पार्टीले सभासद् बनाएकोमा धन्यवाद दिएकी थिइन्। देवीप्रसाद चौधरीले थारु भाषामा स्वागत गर्दा केहीले दोभाषेको व्यवस्था गर्नुपर्ने बताएका थिए। कार्यक्रम सञ्चालन थरूहट तराई लोकतान्त्रिक परिषद्की सचिव गीता चौधरी थारुले गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published.