एमालेको समानुपातिक सूचीप्रति दाङ र सुनसरीका थारु नेताहरुको आपत्ति

CPN_Uml_Buildingदेवेन्द्र बस्नेत, दाङ- नेकपा एमालेका दुई जना केन्द्रीय सचिवको गृहजिल्ला दाङमा समानुपातिक सभासद चयन विभेद्पूर्ण भएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ। पार्टी केन्द्रीय सचिवद्धय शंकर पोखरेल र युवराज ज्ञवाली दुबै यही जिल्लाबाट प्रतिनिधित्व गर्छन्। समानुपातिकतर्फ सभासद चयन गर्दा यहाँबाट जातिगत र क्षेत्रीय सन्तुलन नमिलाइएको भन्दै असन्तुष्टिका स्वरहरु बाहिर आएका हुन्। एमालेले शुक्रबार राति समानुपातिकतर्फका सभासदको टुंगो लगाएको थियो।
सभासद चयनमा थारु समुदायको प्रतिनिधित्व नगराइएको भन्दै थारु नेताहरु असन्तुष्ट बनेका छन्। दाङबाट एमालेले थारुबाहेकका ब्राहमण १, दलित २ र मुस्लिम एक जना गरी ४ नेतालाई सभासदमा चयन गरेको छ। सभासद चयन हुनेमा सचिव ज्ञवाली, भागवत बिश्वासी, अनारकली मियाँ र शारदा स्वर्णकार छन्। स्वर्णकार बाहेकका तीनजना एकै क्षेत्र ४ का हुन्। स्वर्णकार क्षेत्र नम्बर ५ की हुन्।

दाङ एमालेको निर्णायक मत मानिने थारु समुदायलाई नै संविधान सभामा प्रतिनिधित्व नगराइएकोप्रति आपत्ति जनाउँदै थारु नेताहरुले यो निर्णयले पार्टीमा ठूलो असर पुग्ने अनुमान गरेका छन्। दुईजना दलित सभासद चयन गर्दासमेत जिल्ला पार्टीमा प्रभावकारी भूमिकामा रहेका थारु समुदायबाट एकजना थारु नेतालाई पनि समावेश नगराएर पार्टीले अपमान गरेको थारु नेताहरुको असन्तुष्टि छ। पार्टीको जिल्ला अध्यक्ष समेत थारु समुदायबाटै छन्। दाङको कूल जनसंख्याको ३३ प्रतिशत थारु समुदायको जनसंख्या रहेको छ।

‘थारुहरुको बाहुल्यता रहेको दाङमा थारुकै प्रतिनिधि समावेश हुन नसक्नु जायज हैन,’ एमाले क्षेत्र नम्वर १ का अध्यक्ष मेटमणी चौधरीले नागरिकसँग भने, ‘पार्टीको यो निर्णयले संगठनलाई असर पुर्याउँछ।’ संविधानसभामा थारु प्रतिनिधि सहभागी हुन नसक्नुले थारु समुदायका आम कार्यकर्ताबाट पार्टी निर्णय प्रति प्रश्न उठ्ने उनि बताउँछन्। ‘कार्यकर्ताको यो प्रश्नकोजवाफ दिन हामी जिल्ला तहका नेताहरुलाई सजिलो हुने छैन,’ चौधरीले भने।

प्रत्यक्ष निर्वाचनमा पार्टीले सवै क्षेत्रमा पराजय बेहोर्नु परेपनि समानुपातिक कोटाबाट आफ्नो समुदायका प्रतिनिधि संविधान सभामा पुग्ने एमालेका थारु कार्यकर्तामा आशा थियो। जिल्लाबाट प्रत्यक्षमा एक जना थारु उम्मेदवार शान्ता चौधरी क्षेत्र २ बाट चुनाव लडेकि थिइन्। ‘अब पार्टीले थारु समुदायका मतदातालाई के जवाफ दिने? धेरै गाह्रो देखिन्छ।’ समानुपातिक उम्मेदवार समेत रहेका चौधरीले भने।

एमाले दाङका कुल ११ समानुपातिक उम्मेदवार मध्य ३ जना थारु समुदायका थिए। क्षेत्र नम्बर १ का अध्यक्ष मेटमणीसँगै पार्टी जिल्ला अध्यक्ष नरुलाल चौधरी र आस्मा चौधरी समानुपातीक उम्मेदवारमा सिफारीस भएका थिए।

एमाले जिल्ला अध्यक्ष तथा समानुपातीक उम्मेदवारमा सिफारीस नरुलाल चौधरी पनि दाङबाट संविधान सभामा थारु समुदायको प्रतिनिधित्व नहुनुले पार्टीका थारु समुदायका कार्यकर्तामा स्वाभाविक रुपमा निरासा उत्पन्न हुने बताउँछन्। पार्टीको तल्लो तहका कार्यकर्तामा निरासा बढी हुने उनको अनुमान छ। ‘खासगरी तल्लो तहमा असन्तुष्टि बढि आउने देखिन्छ,’ जिल्ला अध्यक्ष चौधरी भन्छन्, ‘पार्टीमा प्रभावकारी भूमिका रहेको थारु मतदाताको असन्तुष्टिलाई सम्वोधन गर्न सकस हुने देखिन्छ।’

यसैगरी सभासद चयनमा क्षेत्रगत विभेद् भएको समेत नेताहरुको आरोप छ। सभासद् चयन भएका तीन जना एमाले सचिवद्धय ज्ञवाली र पोखरेलको क्षेत्र ४ बाट परेका छन्। एक जनामात्रै क्षेत्र नम्बर ५ बाट छानीएको एमालेले जनाएको छ। कूल पाँच क्षेत्र रहेको दाङमा अन्य क्षेत्रलाई बेवास्ता गरेर एउटा क्षेत्रबाट मात्रै तीन जना सभासद् छानिनुलाई स्थानीय नेताहरुले सडयन्त्र भनेका छन्।

‘तीनजना सभासद एउटै क्षेत्रबाट मात्रै छानीएका छन्,’मेटमणीले भने ‘अरु क्षेत्रकालाई मतलवै नगरिनु ठूलो षड्यन्त्र गरिएको हो।’ क्षेत्र नम्बर ४ बाट एमालेले समानुपातीक तर्फ ९ हजार भोट पाएको भन्दै उनले थपे ‘९ हजार भोटले मात्रै तीन/तीन जना सभासद कसरी बन्न सक्छन्?’ एमालेले दाङ जिल्लाबाट समानुपातीक तर्फ जम्मा्र ४२ हजार ५७ मत पाएको थियो।

उनले सभासद् चयन प्रकृयामा सचिव पोखरेलले हस्तक्षेप गरेको आशंका गरेका छन्। तुलनात्मक रुपमा ज्ञवाली भन्दा पोखरेल पार्टी नेतृत्वमा प्रभावशाली मानिन्छन्। नेतृत्वमा बढ्दो प्रभावका कारण पोखरेलको हस्तक्षेप भएको चौधरीले आशंका गरे। ‘पोखरेल कामरेडकै रोलले यस्तो निर्णय आएको हो,’ चौधरी भन्छन्, ‘यसको सोधीखोजी जिल्ला तहमा गरिने छ।’ सभासद् चयनमा विभेद गरिएको भन्दै असन्तुष्ट नेताहरुले यस बिसयमा जिल्ला तहमा समिक्षा गर्ने पनि जनाएका छन्।

प्रत्यक्ष निर्वाचनमा क्षेत्र ४ का उम्मेदवार सचिव पोखरेललाई अर्का सचिव ज्ञवाली पक्षले असहयोग गरेको गुनासो आम कार्यकर्ताबाट आएकालेपनी पोखरेलले समानुपातिकतर्फको सभासद् चयनमा हस्तक्षेप गरेको हुन सक्ने अनुमान पनि हुने गरेको छ। तर ज्ञवाली पक्षीय जिल्ला नेताहरुले भने प्रत्यक्ष निर्वाचनमा पोखरेललाई असहयोग नगरेको दाबी गर्दै आएका छन्। (नागरिकन्युजबाट साभार)
सुनसरीमा पनि विवाद्
समानुपातिक सभासदको सूचीमा जिल्लाबाट एकजना पनि नपरेपछि एमाले सुनसरी जिल्ला कमिटीले केन्द्रको निर्णय स्वीकार नगर्ने घोषणा गरेको छ। एमाले सुनसरीको शनिबार बसेको आकस्मिक बैठकले केन्द्रले निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनीसमेत दिएको छ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष द्वारिकालाल चौधरीले भने, ‘केन्द्रले ठूलो गल्ती गर्योा। यदि यो गल्ती नसच्याए सिंगो सुनसरी एमाले कठोर कदम चाल्न बाध्य हुनेछ।’ तर, कस्तो कठोर कदम हो भन्नेबारे उहाँले केही खुलाउन चाहनु भएन।

एमालेले जनताको भावनाको सम्मान गर्न नसक्नु लज्जास्पद अवस्था भएको भन्दै उनले तुरुन्त निर्णय सच्याउन पार्टी नेतृत्वलाई आग्रह समेत गरेको छ। ७४ सदस्यीय एमाले सुनसरीको जिल्ला कार्यसमितिको बैठकमा ३८ जना उपस्थित थिए।

संविधानसभा निर्वाचनमा सुनसरीमा प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकमा ६५ हजार ८ सय ६९ मत पाएको थियो। समानुपातिकको सूचीमा सुनसरीबाट ६ जनाको नाम रहे पनि सभासद बनाउँदा भने एकजना पनि परेनन्।

Leave a Reply

Your email address will not be published.