भाषासेवी सगुनलाल चौधरी र गोचाली दिवस

Sagunlalकृष्णराज सर्वहारी– २०२८ सालमा प्रकाशित थारू भाषाको पहिलो पत्रिका “गोचाली” ले २०७० बैशाख ८ गते स्थापनाको त्रीचालीसौं बर्ष गाँठ मनायो। गोचालीका संस्थापक सम्पादकमध्ये एक सगुनलाल चौधरीको गाउँ बर्दियाको सेमरहवामा मनाइएको गोचाली दिवसका अवसरमा मन्तव्य राख्ने तथा रचना बाचन गर्ने प्रायः सबैले उनलाई सम्झिए।
वर्दियाको जनसेवा माविमा शिक्षक रहेका सगुनलाललाई केही कुरा बुझ्नु छ भनी २०५८ पुष १२ गते साँझ उनको घर बर्दिया, धधवार—६, सेमरहवाबाट सुरक्षाकर्मीहरूले लगेका थिए। बाह्र बर्षपछि खोला पनि फर्किन्छ भन्छन्। तर सगुनलाल  वेपत्ता पारिएको  बाह्र बर्ष नाघिसक्दा पनि उनको अहिलेसम्म अत्तोपत्तो छैन। सगुनको माईला छोरा कृष्णकुमार चौधरीलाई पनि सुरक्षाकर्मीहरूले चिसापानी ब्यारेक पुर्याहएपछि उनले बाबुलाई त्यहाँ भेटेका थिए। उनका अनुसार पछि सम्बन्धित व्यारेकमा सोधखोज गर्न जाँदा उनलाई नल्याएको भनियो। जिल्ला कारागार, प्रहरी कार्यालय सबै ठाउँमा परिवारबाट सगुनलालको खोजी गरियो तर पत्ता लगाउन सकिएन।
थारू भाषा साहित्यमा लगाव राख्ने वर्दियाका गोपाल दहित राजाबाट २०५९ असोजमा सहायक मन्त्री चुनिएपछि सरकारी स्तरबाट सगुनलालको खोजी गरे तर उनी राखिएको ठाउँ पत्ता लागेन। कृष्णकुमार चौधरी भन्छन्— “२०५९ साल साउन २६ गते राती एकाएक ९ बजेको रेडियो नेपालको समाचारमा कथित समाजसेवी सगुन चौधरी भीडन्तमा मारिएको समाचार प्रसारण गरिएको थियो। तर बुबा मारिएको हुन सक्ने भनेर हामीले अझैसम्म विश्वास गरेका छैनौं।” समाचारमा उनको ठेगाना खुलाइएको थिएन।
सौडियार—६, बेलहरी, दाङमा २००९ माघ ९ गते जन्मिएका सगुनलाल शिक्षण पेशाकै क्रममा वर्दिया बसाईंं सराई गरेका थिए। पञ्चायती शासन हटाउने आन्दोलनमा लागिपरेका सगुनलाल, महेश चौधरी र भगवती प्रसाद चौधरीले युवाहरूलाई समेटी थारू भाषा तथा साहित्य मञ्च, गोचाली, परिवार गठन गरेका थिए। सोही परिवारले गोचाली पत्रिका प्रकाशन र हमार कहनाई (हाम्रो भनाई) नामक पर्चा छापेपछि प्रशासनले पक्राउ वारेन्ट जारी गरेको थियो। उनलाई पक्राउ गरी २ वर्ष धनगढी कारागारमा राखिएको  थियो।
थारू भाषा साहित्यलाई मलजल प्रदान गरेको फलस्वरूप २०५० सालको युद्धप्रसाद मिश्र पुरस्कारबाट गोचाली पुरस्कृत भएको थियो, जुन पुरस्कार सम्पादकका नाताले सगुनलालले ग्रहण गरेका थिए। थारू समुदायमा शिक्षाको ज्योति बाल्ने काममा पनि उनको अतुलनीय योगदान थियो। २०२५ साल माघदेखि श्री पद्मोदय स्कूल (हाल उच्च मा.वि) भरतपुर, दाङबाट शिक्षण पेशामा लागेका उनी जीवनपर्यन्त पक्राउ नपर्दासम्म ३३ वर्षसम्म शिक्षण पेशामै आवद्ध रहे।
बर्दियाको श्री जनसेवा मावि वैदीमा जीवनको पछिल्लो काल जहाँ उनी पढाउँथे, सो स्कुल पनि २०३० सालमा उनले नै स्थापना गराएका थिए। गाउँको पिपलको रुखमुनि थारू बालबालिकालाई समेटेर उनी त्यहाँ पढाउँथे। २०३२ सालमा जिल्ला शिक्षा कार्यालयबाट उनले दरबन्दी स्वीकृत गराई त्यही लामो समयसम्म प्रधानाध्यापक पनि रहे। आईएसम्म अध्ययन गरेका उनी स्कूल माध्यामिक भएपछि साधारण शिक्षक भई पढाइरहेका थिए।
गोचाली परिवार  कैलालीका केही सदस्य माओवादी गतिविधिमा संलग्न भएपछि गोचाली परिवारका संस्थापक रहेका सगुनलाललाई पनि त्यही आरोपमा वेपत्ता पारियो। जबकि प्रगतिशील विचारधारा बोके पनि सगुन माओवादीको कुनै गतिविधिमा संलग्न भने थिएनन्।
अहिले सगुनलालको परिवार, उनी कार्यरत विद्यालय परिवार तथा थारू भाषा साहित्यकर्मीहरूबाट उनको नाममा सगुनलाल स्मृति प्रतिष्ठान गठन गरिएको छ। जसमा हाललाई ५० हजार रुपैयाको अक्षय कोष राखी साहित्य पुरस्कार गुठी पनि खडा गरिएको छ। पश्चिमा थारू भाषामा प्रगतिशील साहित्यको श्रीवृद्धिमा लाग्ने साहित्यकारलाई सगुन स्मृति पुरस्कार स्थापना गरिएको छ। हाल ५ हजार रुपैया राशीको पहिलो पुरस्कार कैलालीमा पत्रकारिता तथा साहित्यमार्फत् गोचाली आन्दोलन हाँक्ने जोखन रत्गैंयालाई मरणोपरान्त दिइएको छ। २०७० बैशाख ८ गते गोचालीका संस्थापक सम्पादक महेश चौधरीले जोखन रत्गैंयाका छोरा नीरज चौधरीलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए। त्यस्तै, वर्दियाबाट उत्कृष्ट नम्बर ल्याउने थारू छात्र–छात्रालाई सगुन शिक्षा पुरस्कारको स्थापना गरिएको छ। थारू भाषा साहित्यका सगुन सगुनलालको हालको अवस्था बुझ्ने कार्य पनि यही प्रतिष्ठानमार्फत गरिदैछ। महेश चौधरी मंत्री हुँदा समेत आफ्ना दौतरी सगुनलालको खोजीमा तदारुकता नदेखाएको उनका परिवारका सदस्यहरुको दुःखेसो छ।
५ बर्षदेखि स्थगित थारू भाषाको पहिलो पत्रिका “गोचाली”को पुनः प्रकाशनलाई २०६९ सालबाट निरन्तरता दिइरहेको सगुनलालको साइला छोरा निरन्जन चौधरीले जानकारी दिए। थारू भाषा साहित्यमा कलम चलाउने यस पंक्तिकारले पनि सगुनको सम्पादनमा निस्किएको गोचालीको केही अंकमा रचना छाप्ने अवसर पाएको थियो। उनको कथा र कविता लेखन शक्ति बेजोड थियो। उनका छरिएर रहेका रचनाको संकलन निकाल्न ढिलाइ भएको छ। म कुन देउताको पूजा गरौं भन्ने शीर्षकको कविता बेजोड छ।
र, अन्तमा एउटा कार्यक्रमको सम्झनासँगै यो लेखको बीट मार्न चाहन्छुँ। २०६९ बैशाख १ गते गोचाली पत्रिकाको बयालीसौं बर्ष गाँठको अवसरमा गोचाली दिवस मनाउन यो पंक्तिकार सगुनलालको गाउँ बर्दियाको सेमरहवा पुगेको थियो। आयोजकहरुले कविता तथा गीत प्रतियोगिताको निर्णायकको जिम्मेवारी दिए। सगुनलालका जेठा छोरा मोतीराम कार्यक्रमको अध्यक्षता गरिरहेका थिए, माइला छोरा कृष्णकुमारले कार्यक्रमको उदघोषण गर्दै थिए, सबै अतिथिले सगुनलालको गुणगान गाउँदै थिए। साइला छोरा निरन्जनले धन्यवाद दिदै थिए। कार्यक्रमको औपचारिक समापनपछि छोक्रा थारू नाच पनि देखाए, जसमा सगुनलालकी बुहारी मादल ठोक्दै थिइन्। तर त्यो समारोहमा मलाई एउटा अनुहारको अनुपस्थिती बिझाइरहेको थियो, सगुनलालकी धर्मपत्नी मोतीदेवी चौधरीलाई मैले कहीं देखिरहेको थिइनँ। चारैतिर नजर दौडाउँदा मैले देखें, उनी सहेलीहरुसँग वनबाट बाख्रा चराएर आउँदै थिइन्, आफ्नो श्रीमानको सम्झनामा गरिएको नाच एकछिन उभिएर हेरिन् र घरतिर बाटो तताइन्। कस्तो उदेक, जसको बिहे उसैले देख्न नपाएझैं सगुनलाललाई सम्भि्कने कार्यक्रममा उनकै धर्मपत्नीको अनुपस्थिति थियो। जवकि उनी त्यो दिन प्रमुख अतिथिको हकदार थिइन्। कस्तो विडम्वना हामी कसैलाई मरेपछि सम्भि्कन्छौं, जिउँदालाई जदौ गर्न कञ्जुस्याई गर्छौ। थारू भाषाको पहिलो पत्रिका गोचालीका अभियन्ता भाषासेवी सगुनलाल चौधरीको स्मरणको यस तीतो कार्यक्रमलाई अरु बर्ष मीठो बनाइयोस्।
(तस्विर सौजन्यः सगुनलाल चौधरीको परिवार)
साभारः १३ पुस, नागरिक दैनिक, पश्चिमेली

Leave a Reply

Your email address will not be published.