चिसोका कारण सप्तरीमा एकको मृत्यु

सप्तरी- विगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीको नकटी रायपुर गाविसमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नकटी रायपुर गाविस–८ निवासी ६५ वर्षीय रघुनाथी यादव छन्। अत्यधिक जाडोका कारण गत बिहीबार राति यादवको घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय नर्मदेव यादवले जानकारी दिए।
गत मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको जनजीवन प्रभावित भएको छ भने अधिकांश केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
चिसोका कारण बिरामी परेका दैनिक करिब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा शैलेश झाले बताइन्। उनले भनिन्, “दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि बेडको अभावमा भूइँमा राखेर पनि उपचार गरिरहेका छौँ।”
यता पछिल्ला पाँच दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या ह्वात्रै घटेको छ।
दिनभरी घाम नलागेपछि सदरमुकाम राजविराजसहित ग्रामीण भेगका विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको शिक्षकहरु बताउँछन्। चिसोका कारण बिहान यात्रुको सङ्ख्यामा कमी आएपछि सगरमाथा बस व्यवसायी संघले आजदेखि जिल्लाबाट सञ्चालन हुने केही यातायातका साधनको सङ्ख्यामा कटौती गर्नुका साथै समयतालिकासमेत हेरफेर गरेको जनाएको छ।
यसैबीच चिसो बढेपछि स्थानीय प्रशासनले सप्तरी सदरमुकाम राजविराजका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणको बढी चहलपहल हुने रुपनी बस बिसौनी, मिनीमार्केट, गजेन्द्र चोक, जनआन्दोलन चोक, अस्पताल प्राङ्गणमा आगो ताप्न दाउरा उपलब्ध गराएको सप्तरीका प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.