प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप हुने

lumbiniकाठमाडौं- ‘शान्तिका लागि खेलकुद लुम्बिनीको मन्दिर’ भन्ने मूल नाराका साथ प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता विभिन्न जिल्लामा मङ्गलबारदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेल सङ्घहरूको आयोजना तथा राखेपको संयोजकत्वमा हुने सो प्रतियोगिता काठमाडौँ, काभ्रेपलाञ्चोक, सुनसरी, चितवन, नेपालगन्ज, रूपन्देही, कास्की, मकवानपुर, इलाम, नवलपरासी र बाँकेलगायत जिल्लामा सञ्चालन हुनेछ।
यही पुस ९ गतेदेखि सञ्चालन हुने सो प्रतियोगितामा विभिन्न विधाका ३३ खेल समावेश गरिएको बताइएको छ। प्रतियोगितामा जुडो, बुद्धिचाल, उसु, सुटिङ, फुटकन्ट्याक्ट कराँते, कुस्ती, भारोत्तोलन, लनटेनिस, तेक्वान्दो, बक्सिङ, जिम्न्यास्टिक, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, पौडी, क्रिकेट, साइक्लिङ, हक्की, कबड्डी, आर्चरी, फुटबललगायत खेल समावेश गरिएको छ।
प्रतियोगिता काठमाडौँमा राखेपको कभर्डहलमा बक्सिङ खेलबाट उद्घाटन गरिने तथा अन्य खेल सोही महिनादेखि विभिन्न जिल्लामा सञ्चालन हुनेछ। राखेपका सदस्यसचिव युवराज लामाले परिषद्मा दर्ता भएका विभिन्न राष्ट्रिय सङ्घका राष्ट्रिय खेल सामूहिकरूपमा प्रदर्शन गराउने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो
उहाँले सो प्रतियोगिताका लागि लुम्बिनी मन्दिर अङि्कत भएको प्रतीक सार्वजनिक गर्दै प्रतियोगिताबाट यसै बर्ष दक्षिण कोरियाको इन्च्योनमा हुने सत्रौँ एसियाली खेलकुदका लागि खेलाडी छनोटसमेत गरिने बताउनुभयो। रासस

Leave a Reply

Your email address will not be published.