म कानुनबमोजिम पक्राउ गर्ने एसपी हुँ, मलाई कसैको डर छैन : मीरा चौधरी

अन्वेषण योजना महाशाखा र दंगा नियन्त्रण प्रहरी गण हेटौँडामा केही समयको पोस्टिङपछि मकवानपुर जिल्ला इन्चार्ज बनेकी एसपी मीरा चौधरीले आफ्नो हिम्मतवाली छवि कायमै राखिन् । उनी एक वर्षमा जिल्लामा विभिन्न अपराधमा संलग्न सात सय एकजना पुरुष र २९ जना महिलालाई पक्राउ गर्न सफल भइन् ।

‘म कानुनबमोजिम पक्राउ गर्ने एसपी हुँ,’ उनले भनिन्, ‘मलाई कसैको डर छैन, मात्र कानुनबमोजिम कारबाही नहोला र कानुनले मलाई धिक्कार्ला भन्ने डर छ ।’ पक्राउ परेका कतिपय मानिस छुटाउन राजनीति दल, व्यवसायी र प्रशासनकै दबाब आए पनि अपराधीलाई कानुनबमोजिम कारबाही गर्न उनले कुनै कसर बाँकी राखिनन् ।

एसपी मीरा चौधरीले मकवानपुर जिल्ला सम्हालेपछि सबैभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन् । आर्थिक वर्ष ०७२-७३ को तथ्यांकअनुसार लागुऔषध कारोबारमा दुई सय ३० जना पुरुष र आठजना महिला पक्राउ परेका छन् । मकवानपुर ट्रान्जिट प्वाइन्ट रहेकाले लागुऔषध कारोबारी बढी पक्राउ पर्ने गरेको उनको भनाइ छ ।

यस्तै प्रहरीले विभिन्न चरणमा आठ सय ५८ बिघा नौ कट्ठा १० धुरमा लगाइएको गाँजा र ६५ बिघा एक कट्ठामा लगाइएको अफिम खेती पनि नष्ट गरेको छ । एसपी मीरा चौधरी विभिन्न स्थानमा सर्च गर्दै ४० जना जुवाडे पक्राउ गर्न पनि सफल भएकी छिन् ।

पक्राउ परेका सात जुवाडेविरुद्ध मुद्दासमेत दर्ता गरिएको छ । त्यसैगरी उनको कार्यकालमा दुई करोड नौ लाख ३४ हजार पाँच सय ३९ रुपैयाँबराबरको अवैध सामान बरामद गरिएको छ । त्यस्तै २८ जना वनपैदावारसम्बन्धी अभियोग र ११ जना अवैध हातहतियारसहित पक्राउ परेका छन् ।

प्रहरीले अदालतसँग मिलेर देशैभर चलाएको फरार अपराधी पक्राउ गर्ने अभियानअन्तर्गत मकवानपुरबाट एक सय नौजना फैसलापछि फरार र ३९ जना बारदातपछि फरार पक्राउ परेका छन् । जबर्जस्ती करणीमा पक्राउ परेका २० जनामध्ये १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

यता अपहरणमा पक्राउ परेका पाँचमध्ये एकविरुद्ध मात्र मुद्दा दर्ता गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा विभिन्न घटनामा एक सय ४९ जना पुरुष र ९३ जना महिलाले ज्यान गुमाएका छन् ।

नयाँ पत्रिकारबाट साभार

Leave a Reply

Your email address will not be published.