पाँच बुँदे मध्यपश्चिम लगानी घोषणापत्र जारी

सुर्खेत- मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सरकारले लगानी गर्न कन्जुस्याइँ गरेको भन्दै यहाँको आर्थिक विकासका लागि पाँच बुँदे लगानी घोषणापत्र जारी गरिएको छ। यहाँ सञ्चालन भएका क्षेत्रीय व्यापार तथा पर्यटन मेलाको अवसरमा आयोजना गरिएको मध्यपश्चिम लगानी गोष्ठीले पाँच बुँदे घोषणापत्र जारी गरेको हो। पाँच वर्षभित्र सुर्खेतको पूर्वमा पर्ने रामघाट गाविसमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने र दुई वर्षभित्रमा सुर्खेत मै जडीबुटी प्रशोधन केन्द्र निर्माण गरिसक्ने घोषणापत्रमा उल्लेख गरिएको छ।
यस्तै सुर्खेतको लखरपाटा र चौकुनै सिमेन्ट उद्योगको निर्माण कार्य तत्काल सुरु गर्न र निर्माणको जिम्मा लिएको कम्पनीलाई पनि तत्काल काम सुरु गर्न निर्देशन र व्यवस्थापन गर्नुपर्ने जनाइएको छ। यस क्षेत्रमा रहेका सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोसी, कर्णाली अञ्चलमा पर्ने मानसरोवर, रारा ताल, से–फोक्सुण्डो, चन्द्रनाथ, राप्ती अञ्चलमा पर्ने कुपुण्डे दह, स्वर्गद्धारी क्षेत्रको  प्रचारप्रसार एवम् व्यवस्थापन गर्न पनि सरकारसँग अनुरोध गरिएको छ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले आउँदा दिन यो क्षेत्रमा लगानी भित्रने विश्वास व्यक्त गरे। घोषणापत्रमा उल्लेख गरिएका विकास निर्माणका काममा सरकारबाट सहयोग प्राप्त हुने र बजेट विनियोजन गरिने पनि आशा पनि उहाँले व्यक्त गरे।
यसैबीच, यहाँ सञ्चालित महोत्सव पनि आज समापन हुँदै छ। गत मङ्सिर २८ गतेदेखि सञ्चालन भएको महोत्सवको उद्घाटन राष्ट्रपति डा रामवरण यादवले गर्नुभएको थियो। रासस

Leave a Reply

Your email address will not be published.