थारू विद्यार्थीको बनभोज कार्यक्रम सम्पन्न

मानबहादुर पन्ना, सुर्खेत-थारू विद्यार्थी समाज सुर्खेतको आयोजनामा बुलबुलेमा पुस २ गते बनभोज कार्यक्रम सम्पन्न भएको छ। थारू लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्ण बहादुर थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाँके, बर्दिया, कैलाली , सुर्खेतका गरी ७५ जना सहभागी रहेको थियो। उक्त कार्यक्रममा थारू लोक छोक्रा थारू नाच एवं युवा विद्यार्थीहरुले थारू कविता, गीत, गजललगायत प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कृष्ण बहादुर थारूले थारूहरुको समग्र विकासका लागि थारू विद्यार्थीले महत्वपुर्ण भुमिका खेल्नु पर्ने भएकोले संगठनलाई मजबुत बनाई एकताबद्ध हुन आग्रह गरे। देशको बर्तमान अवस्थामा थारूहरु अझै विभिन्न शोषणमा पिल्सिरहेकोले संविधान निर्माणका बेलामा जागरुक भई राज्यलाई दबाब दिनुपर्ने र आफ्नो हक अधिकारका लागि संघर्ष गर्नुपर्ने बताए। पत्रकार विन्तीराम महतोले थारू जातिको भाषा संस्कृति बचाउन थारू विद्यार्थी जुमृराउनु पर्नेमा जोड दिनु भयो।थारू साहित्यकार मानबहादुर पन्नाले राजनितिक चेतनाको विकास नभएका कारण थारूहरु अघि बढ्न नसकेको गुनासो गर्नु भयो । सबैको नीति राजनिति भएकोले थारूहरु पनि यो क्षेत्रमा आउनु पर्ने बताउदै आफ्नो भाषा साहित्यको विकास गर्न विद्यार्थी नलागे लोप हुन सक्ने चिन्ता प्रकट गर्नुभयो। कार्यक्रममा जनजाति महासंघका जिल्ला सदस्य भागीराम थारू, थारू विद्यार्थी समाजका भुतपुर्व अध्यक्ष पवन कुमार थारू, कर्मचारी संगठनका जिल्ला अध्यक्ष बेचुलाल चौधरी लगायतका थारू अगुवाहरुले आ–आफ्ना भनाइ राखेका थिए। कार्यक्रम थारू विद्यार्थी समाजका अध्यक्ष गुरुप्रसाद थारूको सभापतित्वमा सम्पन्न भएको हो।
थारू विद्यार्थी समाजले आगामी दिनमा भाषा साहित्यको विकास एवं सम्वर्द्धनका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शनिवार थारू साहित्यिक श्रृंखला चलाइ थारू विद्यार्थीहरुको प्रतिभाको विकास गर्न कार्यक्रम चलाउने योजना रहेको कुरा समाजका सहसचिव भगिरथ चौधरीले बताउनु भयो।साथै आउने नयाँ वर्षसम्ममा  समाजको मुखपत्रको रुपमा थारू पत्रिका प्रकाशित गर्ने जानकारी गराउनुभयो।

Leave a Reply

Your email address will not be published.