यसरी टुट्यो गृहस्थी

hrithik-roshan_suzanne-khanएजेन्सी- ‘सुजानले दुई छोरासहितको भरिपूर्ण दाम्पत्य जीवन र १७ वर्ष पुरानो प्रेम सम्बन्ध तोड्ने संकल्प गरिन्। मेरो सम्पूर्ण परिवारका लागि यो ठूलो परीक्षाको घडी हो। यस क्षणमा हाम्रो निजी जीवनको ख्याल गरिदिन म मिडिया र अन्य सबैसँग अनुरोध गर्छु। यसबाट मेरा फ्यान र अन्य मानिसमा संस्थाका रूपमा विवाहको महत्व कम रहेछ भन्ने सन्देश नजाओस्। यो संस्थाप्रति ममा अटल विश्वास छ। यसलाई म उच्च सम्मान गर्छु।’
पत्नी सुजानसँग ‘ब्रेकअप’ भएको बलिउड अभिनेता ऋतिक रोशनको घोषणा सोडाको बिर्कोझैँ एकाएक पड्कियो। अमेरिकी शहर लस एन्जलसबाट उनले आफ्नो वैवाहिक जीवन टुंगिएको भन्दै जारी गरेको विज्ञप्ति धेरैलाई अपत्यारिलो लाग्यो। २० डिसेम्बरमा ‘म्यारिज एन्निभर्सरी’ मनाउन लागेको यो दम्पती त्यसको ठीक एक साताअघि छुट्टियो।
बलिउडका आदर्श जोडीमा गनिन्थ्यो, ऋतिक र सुजानको जोडी। उनीहरूबीचको सम्बन्ध ‘डिभोर्स’को हदमा पुग्नेगरी बिग्रिएको छ भन्ने कसैलाई लागेको थिएन। तर, दुवैलाई नजिकबाट नियाल्नेहरूले भने उनीहरूको दाम्पत्य जीवनको कराहीमा अविश्वासको दूध उम्लिरहेको र यो जुनसुकै बेला पोखिएर नस्ट हुनसक्ने लख पहिले नै काटेका थिए।
उनीहरूको सम्बन्धमा करिब तीन वर्षअघिदेखि तिक्तता उत्पन्न भएको थियो। यसको मात्रा बढ्दै गएपछि सुजान दुई महिनाअघि दुई छोरासहित ऋतिकको घरबाट निस्किएकी थिइन्। ‘क्रिस–३’को प्रमोसनलाई घरझगडाले ओझेल नपारोस् भनेर ऋतिकले सुजानसँग बिग्रिएको सम्बन्धलाई गोप्य राखे। बूढा बाबुसँग केही समय बिताउन सुजान माइत गएकी ऋतिकले बताए। तर, सुजान माइतमा १० दिनमात्रै बसेर निजी फ्ल्याटमा सरिन्, कसैले पत्तो नपाउने गरी।
ऋतिकको परिवारसँग निकट सम्बन्ध रहेकाहरूले ऋतिक–सुजान फाटो साम्य पार्न नखोजेेका होइनन्। तर, सकेनन्। सुजानले मान्दै मानिनन्। ऋतिकको स्टारडम र ‘ह्यान्डसम लुक्स’ले आफूहरूको दाम्पत्य जीवनलाई छायामा पारेको गुनासो सुजानको थियो। सधँै व्यस्त रहने ऋतिकबाट श्रीमान्बाट पाउनुपर्ने प्रेम कहिल्यै नपाएपछि वाक्कदिक्क भएर ‘ब्रेकअप’ गर्नुपरेको उनले बताइन्।
उनीहरूको दाम्पत्य जीवनमा दरार आउनुको मुख्य कारण एकअर्काको चरित्रबारे दुवैमा रहेको आशंका हो। ‘काइट्स’ फिल्ममा ऋतिकसँग काम गरेकी मेक्सिकन अभिनेत्री बारबरा मोरीसँग ऋतिकको लसपस भएको आशंका सुजानलाई थियो। बारबारासँगको ऋतिकको सम्बन्धप्रति उनको असन्तुष्टि यसअघि नै सार्वजनिक भइसकेको थियो। त्यसै गरी, बलिउड अभिनेता अर्जुन रामपालसँग सुजानको बढ्दो उठबस पनि ऋतिकलाई जँचेको थिएन। त्यत्तिकैमा घरमा ऋतिककी आमा र सुजानबीच ‘सासूबुहारी कलह’ मच्चियो। यस्तो कलह दाम्पत्य जीवनलाई जोडिराखेको पेचकाँटी खुस्काउने कारण बन्यो। उनीहरू छुट्टिए।
वैवाहिक सम्बन्ध तोड्नुअघि सुजानले घरबाट छुट्टिन ऋतिकलाई दबाब दिएकी थिइन्। तर, आमाबाबु र एकल जीवन बाँचिरहेकी प्यारी बहिनीलाई छोड्न ऋतिक मानेनन्। बरु सुजानलाई नै छोड्न उनी राजी भए।
ऋतिक–सुजान सम्बन्धका जानकारहरू ‘काइट्स’ फिल्मपछि उनीहरूबीचको सम्बन्धमा तिक्तताको भ्रूण रोपिएको बताउँछन्। ‘काइट्स’मा ‘अनस्त्रि्कन लिप–किस’ मा लीन भएका ऋतिक र बारबाराबीच ‘अफ–स्त्रि्कन अफेयर’ छ भन्ने सुजानलाई लागेको थियो। यस्तो सन्देहलाई बल पुर्या्उने घटना थुप्रै थिए। यसै कारण ‘काइट्स’का लागि बारबारा भारतमा रहँदा ‘घरमा धमिरा लागेको’ बहानामा सुजान घरनजिकैको पाँच तारे होटलमा बसाइँ सरिन्। बारबारा मेक्सिको फर्किसकेपछि मात्रै उनी घर फर्किइन्।
ऋतिक फिल्मी दुनियाँमा पूरै बेपत्ता भएको सुजानको दुःखेसो थियो। ‘पार्टी र यस्तै सार्वजनिक कार्यक्रममा सबै जोडी बाँधिएर आउँछन्, तर सुजान प्रायः एक्लै हुन्थिन्। एक्लोपनका कारण उनको मन भाँच्चिएको थियो,’ दुवैलाई नजिकबाट चिनेको स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका टीओआईले लेखेको छ।
केही महिनायता उनीहरूबीचको असमझदारी उत्कर्षमा पुगेको थियो। ऋतिकको घरमा हरेक वर्ष धुमधामका साथ मनाइने गणेश पूजामा सुजान सरिक भइनन्, न त ‘क्रिस–३’को प्रमोसन कार्यक्रममा सहभागी भइन्। सेप्टेम्बरमा ससुरा राकेश रोशनको ‘बर्थ–डे’ पार्टीमा सुजान एकछिन झुल्किइन्। तर, ऋतिकनिर भने गइनन्। त्यसलगत्तै पेरिस हिँडेकी उनी त्यहाँबाट फर्किएपछि सीधै माइत गइन् र कहिल्यै घर नफर्किने निधोमा पुगिन्।
यसबीचमा उनीहरूलाई मिलाउन धेरैले प्रयास गरे। सुजानको बाबुको घरमा दुईबीच भेटघाट कार्यक्रम मिलाइयो। ‘तर पनि सुजानको मन फेरिएन। कुनै पनि हालतमा आफू घर नफर्किने अड्डी लिइन् उनले। पत्नीसामु नरम हुने ऋतिक पनि यस पटक झुकेनन् र हाम्रो सबै प्रयास खेर गयो,’ भेटघाटमा उपस्थित एक व्यक्तिले भने।
ऋतिक–सुजान जोडीलाई आरम्भदेखि नै नियाल्नेहरूलाई यो घटना दुःस्वप्नझैं लाग्छ। ३९ वर्षीय ऋतिकले केही समयअघिको एउटा अन्तरवार्तामा भनेका थिए, ‘म १२ वर्षको हुँदादेखि नै सुजान मेरै लागि जन्मिएकी हुन् जस्तो लाग्थ्यो। हामी एउटै ‘फ्रेन्ड सर्कल’मा थियौँ। उनीप्रति म त्यति बेलै आशक्त थिएँ, तर मनको कुरा भन्न सक्दिन थिएँ।’
त्यत्तिकैमा सुजान विदेश गइन्। फक्रन नपाई प्रेमको दियो निभेको ठानी ऋतिक विक्षिप्त बने। वषर्ौंपछि उनले ट्राफिक सिग्नल पर्खिंदै गरेको एउटा गाडीमा सुजानलाई देखे। उनलाई पत्यार लागेन। आफैँलाई चिमोटी हरे। अन्त्यमा उनलाई विश्वास भयो– गाडीको स्टेयरिङ समातेर बस्ने युवती सुजान नै हुन्।
सन् २००० मा फिल्म ‘कहो ना प्यार है’को सफलताका कारण ऋतिकको चारैतिर हाइहाइ थियो। यो ‘स्टारडम’ले उनलाई प्रेम प्रस्ताव राख्ने ढाडस दिलायो। ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर समुद्री किनारमा सुजानसामु एउटा घुँडा टेकेर ऋतिकले ‘आई लभ यू’ भने। सुजानले प्रस्ताव स्वीकार गर्दा ऋतिकलाई आफू संसारकै सबैभन्दा भाग्यमानी पुरुष हुँ भन्ने लाग्यो।
सन् २०११ मा सिंगापुरमा भएको अवार्ड वितरण कार्यक्रममा सुजानले स्टेजबाटै ऋतिकलाई आफू कति प्रेम गर्छु भन्ने बयान गरेकी थिइन्। सुजानले बोल्दै गर्दा ऋतिकका आँखा रसाएका थिए। त्यसको केही महिनापछि इन्टेरियर डेकोरेसनसम्बन्धी काम गर्ने सुजानको अफिसमा पुगेर ऋतिकले ‘आजसम्म सुजानले मेरो करिअर उकास्न अथक सहयोग गरिन्। अब उनको दह्रो सहारा बन्ने पालो मेरो’ भन्दा सुजानको गला अवरुद्ध भएको थियो। त्यस्तो हार्दिक प्रेम अब किंवदन्ती बनिसकेको छ।
बिछोडबारे सुजानले भारतका केही रंगपत्रकारलाई मोबाइल म्यासेजमार्फत भनेकी छिन्, ‘अब हामी दुई अलग व्यक्ति भएका छौँ र आ–आफ्नो बाटो लागेका छौँ। हामी दुई प्यारा सन्तानको अभिभावक भएकाले उनीहरूको हेरचार गर्ने दायित्व हामी दुवैको काँधमा अझै छ। यसबाट हामी विमुख हुँदैनौँ। हाम्रो निजी जीवनबारे चासो प्रकट नगरिए हामी आभारी हुने थियौँ।’

Leave a Reply

Your email address will not be published.