कांग्रेस उपसभापति पौडेलको गाडीमा पेट्रोल बम प्रहार

ramchandra poudelतनहुँ- नेपाली काँग्रेसका उपसभापति एवम् तनहुँ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र पौडेलको गाडीमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। जिल्लाको दक्षिण भेगमा पर्ने राम्जाकोट गाविस–२ स्थित रुपटारमा राखिएको बा६च ७५५५ नम्बरको गाडीमा गरिएको पेट्रोल बम प्रहारबाट गाडीको अगाडि भागको सिसा फुटेको छ। चुनावी अभियानका क्रममा घरदैलोमा निस्कनुभएका पौडेलले यसअघि जिल्लाका विभिन्न गाविस र नगरपालिकाका मतदाताहरूसँग प्रत्यक्ष भेट गरी मत मागेका थिए। घटना रातको अन्दाजी १ बजेको समयमा भएकाले कुनै मानवीय क्षति नभए पनि बम प्रहारबाट गाडीमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेलले बताए। घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा गरिएको उहाँले जानकारी दिए। 
उक्त घटनाका बारेमा नेकपा–माओवादीका जिल्ला सचिव अतिन्द्रकेशरी न्यौपानेसँग बुझ्दा त्यसमा आफ्ना कुनै पनि कार्यकर्ताको संलग्नता नभएको बताए। उनले भने–“हामी नै आश्चर्यमा परेका छौँ।”
त्यसैगरी नेकपा–माओवादीले कात्तिक १५ गते शुक्रबार तनहुँमा यातायात बन्दको आह्वान गरेको छ।
काँग्रेसद्वारा निन्दा
नेपाली काँग्रेसले चुनावी अभियानका क्रममा आफ्ना उम्मेदवार, नेता तथा कार्यकर्तामाथि एनेकपा (माओवादी) र अज्ञात समूहबाट शृङ्खलाबद्ध रूपमा केही दिनयता आक्रमण भएकामा भर्त्सना गर्दै दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
काँग्रेसले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी गए राति उपसभापति रामचन्द्र पौडेल बस्नुभएको घरमा उहाँलाई लक्ष्य गरी पेट्रोलबम प्रहार गरिएको तथा घटनास्थलमा चार पेट्रोल बम फेला परेको र दाङ क्षेत्र नं २ की उम्मेदवार सुशीला चौधरी र कार्यकर्ता युवराज भुसालको घरमा राखिएको गाडीमाथि भएको आगजनीका घटनाको निन्दा गरेको छ।
त्यस्तै गोर्खा क्षेत्र नं १ को बतासेमा बुधबार आमसभामा भाग लिन जाने क्रममा केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, सुरेन्द्र पाण्डे र पार्टी मुख्यसचिव चीनकाजी श्रेष्ठ चढेको गाडीमा एमाओवादीले चार चार ठाउँमा ढुङ्गामुढा खसालेर साङ्घातिक आक्रमण गरेको जानकारी दिँदै एमाओवादीले चुनावमा हार्छु भन्ने मानसिकताका कारण यस प्रकारका घटना गराउन थालेको जनाएको छ।
“एनेकपा (माओवादी)ले चुनाव हार्दैछु भन्ने सूचनाका आधारमा हतास मानसिकताका कारण आत्तिएर आक्रमणको घटनाको प्रयास गर्दैछ, गोर्खामा काँग्रेसका नेता र उम्मेदवारलाई ज्यान मार्ने उद्देश्यले साङ्घातिक आक्रमण भएको छ”, संविधानसभा निर्वाचन परिचालन समितिका संयोजकसमेत रहनुभएका केन्द्रीय सदस्य डा रिजालले पत्रकार सम्मेलनमा भने।
“गोर्खाको उक्त घटनाबाट आफूलाई देशविदेशमा शान्तिप्रेमी र लोकतन्त्रवादी भनी प्रस्तुत गर्ने एमाओवादीका डा बाबुराम भट्टराई साँचो अर्थमा अझै पनि हिंसावादी, सर्वसत्तावादी र अधिनायकवादी भएको पुष्टि भएको छ”, काँग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
हालैका घटनामा राजनीतिकर्मी, व्यवसायी, पत्रकारलगायतलाई थर्काउने, धम्काउने र आक्रमण गर्नेजस्ता कार्य तत्काल बन्द गर्न भन्दै काँग्रेसले चुनावको वातावरणलाई सुरक्षित बनाउन पनि सरकारसँग आग्रह गरेको छ। “आउने २० दिन मनको त्रास, भय त्यागेर कम्मर कसेर सक्रिय हुँदै काँग्रेस र लोकतन्त्रवादीलाई जिताउनुस् र माओवादीलाई हराउनुस् अनि मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान बन्छ, मुलुक शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्छ”, केन्द्रीय सदस्य डा रिजालले भने।
केन्द्रीय सदस्य डा रिजालले नेकपा– माओवादीलाई ठूलो प्रयत्न गर्दागर्दै पनि चुनावी अभियानमा सहभागी गराउन नसकिए पनि निर्वाचनमा कुनै बाधाव्यवधान नगर्न आग्रह गरे।
यसैगरी काँग्रेसले बुधबार नुवाकोट क्षेत्र नं १ कुमरी गाविस वडा नं ६ मा आयोजना गरेको चुनाव प्रचार कार्यक्रम एमाओवादी कार्यकर्ताले बिथोल्ने दुष्प्रयास गरेको जनाएको छ। काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले सम्बोधन गर्ने चुनावी सभास्थलमा पुग्ने बाटाका विभिन्न स्थानमा एमाओवादी कार्यकर्ताले खाल्डा पारेर कार्यक्रम बिथोल्ने प्रयास गरेको र उनीहरूले उम्मेदवारसहितको प्रचार टोलीमाथि ढुङ्गामुढासमेत गरेको जनाइएको छ।

त्यस्तै धनकुटमा बुधबार नै राति १ बजे धनकुटा नगरपालिका–७ सङ्गम टोलमा सो क्षेत्रका पार्टीका उम्मेदवार आनन्दसन्तोषी राईको गाडीमा आगजनी भएको जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published.