सप्तरीका क्षेत्र ५ का उम्मेदवार तेजुलाल चौधरीसँग स्पष्टीकरण माग

Tejulal Chaudharyसप्तरी- निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै दिनहुँ लिखित उजुरी पर्न थालेपछि जिल्ला निर्वाचन कार्यालय सप्तरीले त्यस्ता उम्मेदवारसँग लिखित तथा मौखिक स्पष्टीकरण माग्न थालेको छ। उम्मेदवारहरूबिरुद्ध दैनिकजसो दुई/तीन वटा आचारसंहिता उल्लङ्घन गरेको उजुरी जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला निर्वाचन कार्यालय सप्तरी र निर्वाचन अधिकृतको कार्यालय सप्तरीमा समेत पर्ने थालेपछि उम्मेदवारसँग स्पष्टीकरण सोध्न थालेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।
निर्वाचन कार्यालयले सप्तरीको निर्वाचन क्षेत्र नं २ का एमाओवादीका उम्मेदवार अशोककुमार मण्डल, सोही क्षेत्रका सद्‍भावना पार्टीका नवल किशोर साह, क्षेत्र नं ३ का सद्‍भावना पार्टीका उम्मेदवार अनिस अन्सारी, क्षेत्र नं ५ का नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीसँग मौखिक तथा लिखित स्पष्टीकरण सोधिएको हो।
प्तरीको क्षेत्र नं २ का एमाओवादी उम्मेदवार मण्डलले आचारसंहिता विपरीत निर्वाचन प्रयोजनका लागि तुल, ब्यानर झुन्ड्याएको भन्दै उजुरी परेपछि सो कार्यालयले टेलिफोनमार्फत २४ घण्टाभित्र त्यस्ता तुल, ब्यानरहरू हटाउन निर्देशन दिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदीप साहले जानकारी दिए।
यसैगरी सोही निर्वाचन क्षेत्रका सद्‍भावना पार्टीका उम्मेदवार नवल किशोर साहले एक फुटबल प्रतियोगिताको उद्घाटन गरेको भन्दै लिखित उजुरी परेपछि निर्वाचन कार्यालयले उनलाई आचारसंहिता विपरीत प्रतियोगिताको उद्घाटनमा संलग्न भएको भनी स्पष्टीकरण सोध्दा साहले अब उपरान्त यस्ता गतिविधिमा संलग्न नहुने प्रतिबद्धता जनाएको प्रमुख साहले बताए।
सोही क्रममा क्षेत्र नं ३ का सद्‍भावनाका उम्मेदवार अन्सारीले साझा प्रकाशनको मुख्य शाखा कार्यालय राजविराजको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा जनतासँग आफ्नो पक्षमा भोट हाल्न भनेको उजुरी परेको थियो। सो उजुरीपश्चात् निर्वाचन आयोग काठमाडौंले जिल्ला निर्वाचन कार्यालयलाई सो सम्बन्धमा उम्मेदवार अन्सारीसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएअनुसार उम्मेदवार अन्सारीसँग स्पष्टीकरण माग्ने तयारी भईरहेको बताइएको जनाएको छ।

यसैगरी क्षेत्र नं ५ का कांग्रेस उम्मेदवार चौधरीले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन क्षेत्रमा आफ्नो प्रचारप्रसारका लागि माइकिङ गरेको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको प्रमुख साहले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.