थारु उम्मेदवार नबनाएकोमा थारु समुदायको आपत्ति

चितवन- राजनीतिक दलले संविधानसभा निर्वाचनका लागि थारुहरूबाट उम्मेदवार मनोनयन नगरेको भन्दै चितवनका थारु समुदायले आपत्ति जनाएका छन्। थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्राम महत्तोले ठूला भनिएका र समावेशी गर्छौं भन्ने दलहरूले थारुलाई बेवास्ता गरेको भन्दै असन्तुष्ट जनाउनुभयो। केही साना दलले निर्वाचनमा थारु प्रतिनिधि समावेश गरेपनि ठूला दलले भने गरेका छैनन्।

जसका कारण कतिपय थारुले छुट्टै दलबाट उम्मेदवारी दिएका छन्। यसअघिका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता टीकेन्द्र चौधरीले छुट्टै पार्टीबाट उम्मेदवारको मनोनयन दर्ता गराएका छन्। चितवनमा गएको संविधानसभामा निर्वाचनमा एमालेका तर्फबाट क्षेत्र नं १ मा थारु समुदायका लालमणि चौधरी विजयी हुनुभएको थियो। तर अहिले एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपालगायत दलले थारुलाई बेवास्ता गरेको उनीहरूको आरोप छ।
आगामी संविधानसभा निर्वाचनका लागि चितवनमा २५ वटा दलले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराएका छन् भने १४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। प्रत्यक्षतर्फको मनोनयनमा क्षेत्र नम्बर २ बाट सबैभन्दा बढी २५ दलले उम्मेदवारी दर्ता गराएका छन्, त्यस्तै क्षेत्र नम्बर ५ बाट सबैभन्दा बढी चार स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्र नम्बर १ बाट २२ दल, तीन स्वतन्त्र र क्षेत्र नम्बर ३ मा २१ दल र दुई स्वतन्त्रले उम्मेदवारी दिएका छन्। यस्तै क्षेत्र नम्बर ४ मा २१ दल र तीन स्वतन्त्र र क्षेत्र नम्बर ५ मा १९ दल र चार स्वतन्त्रले उम्मेदवारी दिएका छन्। त्यसैगरी नेपाली काँग्रेस चितवनको क्षेत्र नम्बर ३ र ४ मा पार्टी चितवनका पूर्व सभापति विकास कोइरालाले पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी महामन्त्री विक्रम पाण्डेले क्षेत्र नम्बर ५ र नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराए। चितवनमा पहिलो पटक जनजागरण पार्टी नेपालका सूर्यबहादुर प्रजाले क्षेत्र नं १ बाट उम्मेदवार मनोनयन दर्ता गराउनुभएको छ।

Leave a Reply

Your email address will not be published.