राज्यबाट उपेक्षित ‘अट्वारी’

atwariसन्तोष दहित- नेपालका भूमिपुत्र चिनिने थारु जातिको राष्ट्रिय तथा अर्न्तराष्ट्रिय जगतमा छुट्टै पहिचान रहँदै आएको छ। थारु समुदायको भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवं जीवनशैली अत्यन्त रोचक र फरक छ। थारु समुदायका मानिसहरुङ्को स्वभाव सरल, इमान्दार एवं परिश्रमका पारखीका रुपमा पनि चिनिन्छ। प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेको थारु जाति समृद्ध संस्कृतिका धनी मानिन्छन्। त्यसैले होला प्रत्येक महिनामा कुनै न कुनै पर्व थारु समुदायले मनाउँदै आएका छन्। थारु समुदायले अन्य समुदायका पर्व मनाए पनि थारु समुदायको अट्वारी पर्वलाई महान पर्वको रुपमा लिइन्छ।

माघीपछि अट्वारीलाई थारु समुदायको ठूलो पर्व मानिन्छ। यो पर्वमा थारु समुदायले धुमधामका साथ मनाउने गर्छन्। अट्वारी पर्वलाई थारु समुदयले २ दिनसम्म मनाउँदै आएका छन्। यो पर्व अरुभन्दा फरक भएकाले निकै महत्वका साथ मनाउने गरिन्छ। अट्वारी पर्व मनाउन तीथि मिति नभए पनि थारु समुदायले कृष्ण अष्टमीपछिका दुई आइतबार अर्थात् कुशे औंशीपछिको आइतबारलाई अट्वारी पर्वका रुपमा मनाउँदै आएका छन्।

यो पर्वमा तराईका पश्चिम जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत गरी ६ जिल्लाका थारु समुदायले भव्यताका साथ मनाउने गर्छन्। अट्वारी पर्वमा थारु समुदायका पुरुषले मात्र मनाउँदै आएको पाइन्छ। खासगरी यो पर्व मनाउने मुख्य कारण ऐतिहासिक घटनासँग जोडिएको पाइन्छ। प्राचीन कालमा दाङका थारु दंगीशरण राजा र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ। महाभारतका पाँच पाण्डवहरु र दाङका थारु राजा दंगिशरणबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहेको बताइन्छ। यही क्रममा पाँच पाण्डव र द्रौपति सबै जना सुर्खेतको काँक्रे विहारमा घुम्न आएका रहेछन्। त्यही बेला दाङका थारु राजा दंगिशरणको राज्यमा शत्रुहरुले आक्रमण गरिरहेका खबर पाउने बित्तिक्कै तावामा पकाउन राखेको रोटी छाडेर भिमले भोकै पेटमा पानीसमेत नखाइ थारु राजा दंगिसरणको पक्षमा लड्न आएका रहेछन् र शत्रुलाई पराजय गरेका रहेछन्। यसरी भोकै पेटमा पनि केही नखाएर थारु राजा दंगिशरणको पक्षमा लडेर विजय हासिल गरेको अवसरमा यो पर्व मनाउँदै आएको हो। जुन मान्यतालाई विश्वास गरी थारु समुदायले भिमजस्तै बलियो बन्न यो अट्वारी पर्व मनाउँदै आएको थारु बुद्धिजीबीको भनाइ छ। उक्त घट्ना पनि आइतवारकै दिन परेकाले यसको नाम पनि अट्वारी राखिएको उनीहरु बताउँछन्।

अट्वारीको पहिलो दिन

अट्वारीको अघिल्लो रात अर्थात् शनिबार २/३ बजे राति उठेर माछा मासु पकाएर दर खाने चलन छ। आइतवारको दिन दिउँसोभरि व्रत बसेर साँझपख ७ बजेतिर नजिकै खोलामा नुहाइ धुवाइ गरेर घरको बैठक कोठामा लिपपोत गरी “गन्यारी” भन्ने काठबाट  आगो निकालेर भान्सा गर्ने चलन छ। त्यही “गन्यारी” बाट निस्केको आगोले सबैभन्दा पहिला एका पत्तिमात्र ठूलो “भ्याँवा” रोटी पकाउने चलन छ। जनु रोटीलाई “भेँवक” रोटी भन्ने चलन छ। त्यसपछि अरु विभिन्न थरीको चिल्लो रोटी पकाइसकेपछि आफ्ना दिदी बहिनीका लागि आ–आफ्नो भागमा रहेका रोटी विभिन्न थरिका फलफूल वा आधा भाग निकालिसकेपछि पुनः आ–आफ्नो भागबाट सबै रोटी तथा फलफूलबाट चिम्टेर “भेँवक” अर्थात् भिमको नाममा आगोमा हालेर पूजा गर्ने चलन छ। यसरी पूजा अर्चना गरिसकेपछि घरका सबै सदस्यले घरको सबैभन्दा ठूला मान्छेबाट क्रमस सानोले रमाइले गर्दै खाने चलन छ। जुन दिदी बहिनिका लागि निकालेको रोटी फलफूल थारु भाषामा “अग्रसान” अर्थात् कोसेली भन्ने चलन छ। त्यही अग्रसान अट्वारीको भोलि पल्टको दिन आफ्नो दिदी बहिनीलाई दिन जाने चलन छ।

अट्वारीको दोस्रो दिन

अट्वारीको दोस्रो दिन अर्थात् फलारको दिन बिहान सबेरै उठेर नजिकै खोलामा नुहाइ धुवाइ गरी घरको बैठक कोठामा पुनः लिपपोट गरी ३ या ७ थरिका तरकारी, भात पकाइसकेपछि अट्वारीको पहिलो दिनझैँ भात, सबै तरकारीबाट आधा भाग निकाल्नुपर्छ। जसलाई थारु भाषामा “कहार्ने” भनिन्छ। यसरी सबै सकेपछि भिमको नाममा सबै
तरकारीबाट एक एक गास तरकारी र भात निकालेर आगोमा हालेर पूजा गर्ने चलन छ। यसरी पूजाअर्चना गरिसकेपछि क्रमस घरको मूल सदस्यबाट सबै जना रमाइलो गर्दै खाने चलन छ। पूजा अर्चना खाइपिइ गरिसकेपछि अर्को महत्वको विषय पनि छ।

यता थारु समुदायका विवाहित महिला दिदी बहिनीले आफ्नो माइतबाट आफूलाई छुट्याएका भाग “अग्रासन” अर्थात् कोसेलीको पर्खाइमा बसिरहेका हुन्छन्। जबसम्म त्यो अग्रसान माइतबाट आउँदैन तबसम्म पर्खाइमा बसेका महिला दिदी बहिनी घरमा केही पनि नखाने गरेको पाइन्छ। अघिपछिभन्दा अट्वारीमा थारु महिला दिदी बहिनीले माइतबाट पठाएको अग्रासनको बढी आशा गरेको पाइन्छ। यतिमात्र नभएर थारु समुदायमा वर्षभरि आफ्नो दिदी बहिनी अर्थात् दाइभाइसँगको भेटघाट गर्ने अवसर मिलाइदिएको हुन्छ। यो पर्वले वर्षमा एकचोटि भए पनि आफ्नो दिदी बहिनी तथा दाइ भाइसँग भेटने अनिवार्य मिलाउने गरेको पाइन्छ। यसैगरी छरछिमेकीसँग रिसराग रहेका बेला यो पर्वले मिलन गराउनेजस्ता क्रियाकलापमा पनि महत्व भूमिका खेल्छ।

यसरी थारु समुदायले आफ्नो महान् पर्व अट्वारी उल्लासयम वातावरणमा धुमधामका साथ मनाउने गर्छन्। थारु समुदायले अट्वारी पर्वमात्र नभएर अन्य पर्व पनि यस्तै तरिकाले मनाउँदै आएका छन्। तैपनि थारु समुदायको कुनै पनि पर्वलाई राज्यले ध्यान दिएको पाइँदैन। आज यही कारणले थारु समुदायका धेरै पर्व लोप हुने अवस्थामा छन्। अरु समुदायको पर्वमा विदा दिने राज्यबाटै क्यालेन्डरमा पर्वको तिथिमिति उल्लेख गरिदिने तर थारु समुदायको कुनै पनि पर्वमा उल्लेख गरेको पाइँदैन।

यसले पनि थारु समुदायलाई राज्यबाट ठूलो अपमान गरेको मान्न सकिन्छ। स्पष्टरुपमा राज्यबाट थारु समुदायको कुनै पनि पर्वमा तीथि मिति उल्लेख नभएकाले आज थारु समुदायको अट्वारी पर्व कुन दिन मनाउने भन्ने अलमलमा परिरहेका छन्। एउटै पर्व एउटै जिल्लामा फरक फरक हप्ता अर्थात् फरक दिनमा हुने गरेको पाइन्छ। यस विषयमा राज्यले ध्यान दिनुपर्ने हो। थारु समुदायको पर्व कुन कत्ति दिन मनाउँछन् र कुन कुन पर्व कति महत्व छन् भन्ने विषयमा थारु बुद्धिजीवीसँग परामर्श, छलफल, गोष्ठी, अन्तरक्रिया गर्नुपर्ने आवश्यक छ।

यसरी थारु समुदायको मात्र नभएर हरेक जातिको संस्कृति स्तन्त्र गरिएकाले मनाउँने वातावरण मिलाइदिने राज्यको दायित्व हो। आजका दिनमा यी दायित्वहरुलाई राज्यले निभाउन जरुरी देखिन्छ।

3 thoughts on “राज्यबाट उपेक्षित ‘अट्वारी’

  1. Information based on Tharu’s Atwari is very touchy.I enjoyed a lots but according to me, we Tharu people must be conscious about our rights , unless n until we Tharu people dont reconize our identity than even the government cant do anything.. At the same time We people must b active in media sector so that we can advertise our culture…give information about our culture……………simirlarly various progams , seminars, gosthi etc must be conducted inorder to protect our culture. Not only this much documentary must be made related to the issue.

Leave a Reply

Your email address will not be published.