निर्वाचनको विरोध गर्नेहरु जनताविरोधी हुन् : दाहाल

Del416125काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनको विरोध गर्नेहरु जनता र मुलुक विरोधी भएको बताएका छन्। एमाओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)को प्रथम एकता अधिवेशनलाई सम्बोधन गर्दै उनले जनतामा जान डराउनेहरु इतिहासको पानामा सीमित हुने र उनीहरुको नेपाली राजनीतिमा कुनै स्थान नरहने बताए।
जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने उपयुक्त विधि र प्रक्रिया नै संविधानसभा निर्वाचन भएकाले यसको विरोध गर्नेहरु माओवादी पनि हुन नसक्ने उनको तर्क थियो। युवा वर्ग सधैं क्रान्तिकारी र परिवर्तनमुखी भएको बताउँदै अध्यक्ष दाहालले भने, ‘ संविधान सभा निर्वाचनलाई सफल पार्न एक पटक जनतामा जानुस् र एमाओवादीलाई पूर्ण रुपमा विजयी बनाउनुस्। एक दशकपछि नेपालको स्थान अर्कै स्थानमा पुग्छ, समृद्धिले आकाश छुन्छ।’
मुलुक यत्तिखेर इतिहासको अग्नि परीक्षामा रहेको चर्चा गर्दै उनले तथाकथित बहिष्कारको नाममा जनताविरुद्ध चालिने षड्यन्त्रलाई ध्वस्त पार्नु तात्कालिक कार्यक्रम हो भने। उनले जन विरोधी र परिवर्तन विरोधी गतिविधि गर्नेहरुलाई सम्झाइबुझाई त्यस्तो गतिविधि नगर्न सचेत गराउन र निर्वाचनको पक्षमा माहोल बनाउन युवा कार्यकर्तालाई आग्रह गरे।
नेकपा(एमाले) र मधेसी मोर्चाको बैशाखीमा सरकार बनाउनु परेका कारण दुई वटा सरकारको नेतृत्व गरेर पनि पार्टीले जनताको पक्षमा सोचे जति काम गर्न नसकेको उनको भनाइ थियो। अध्यक्ष दाहालले भने, ‘रुख चढाएर फेद ढाल्नेहरुको बैशाखी टेक्नु पर्दा सरकारले सोचे जति काम गर्न सकेन, आगामी संविधानसभामार्फत एमाओवादीलाई पूर्ण बहुमत र पहिचानसहितको सङ्घीयताका पक्षधरलाई दुई तिहाइ मत दिनुस्, जनताको पक्षमा पूर्ण रुपमा काम हुन्छ।’
आफ्नो पार्टी नेतृत्वको सरकारले युवा स्वरोजगार कार्यक्रम, समावेशी विधेयकलगायतका विषयहरु अगाडि बढाएको स्मरण गराउँदै उनले काठमाडौँको सडक फराकिलो पार्ने काम गरेर एमाओवादी केही गर्न सक्छ भन्ने सन्देश दिएको बताए।
सहमतिको नाममा विघटित संविधानसभामा प्रक्रियामा नजाँदा संविधान बन्न नसकेको हो भन्दै उनले आगामी संविधान सभामा पाँच महिनासम्म सहमतिको प्रयास गर्ने र छैटौँ महिनामा प्रक्रियामा गएर संविधानको मस्यौदा दिने र एक वर्षमा पूर्ण संविधान जारी गर्ने जानकारी दिए।
कार्यक्रममा अर्का नेता डा. बाबुराम भट्टराईले द्वन्द्वकालका मुद्दा उचालेर एमाओवादीलाई ठीक गर्न सकिन्छ भनेर केही मान्छे लागेको बताए। उनले भने, ‘द्वन्द्वकालका मुद्दा उचालेर ठूलो हल्ला गरिएको छ, यसरी एमाओवादीलाई ठीक गर्न सकिन्छ भन्ने कोही कसैले सोचेको छ भने त्यस खालको षड्यन्त्र कुनै पनि हालतमा सफल हुँदैन, हामी त्यस्ता षड्यन्त्रलाई पूर्ण रुपमा परास्त गर्न सक्षम छौं।
उनले आफ्नो नेतृत्वको सरकारले युवाको पक्षमा धेरै काम गर्न खोजे पनि नसकिएको जानकारी गराउँदै युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन मात्रै सकिएको भए बेरोजगारीको समस्या केही हदसम्म हल गर्न सकिन्थ्यो भने। रासस

Leave a Reply

Your email address will not be published.