गुणस्तरीय शिक्षाको लागि असली खुराक

शत्रुघन चौधरी– शिक्षा क्षेत्रमा विगत लामो समय देखि राष्टिय तथा अन्तराष्टिय संघसंस्थामा काम गरी अनुभव बटुलिसक्नु भएका गोबरडिहा,८ दांगका शिक्षाविद् श्री कुछत नारायण चौधरीले हालसालै आफ्नो सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र अनुभवलाई समेटेर सिकाईका विविध पक्षसंग निरन्तर मूल्यांकन प्रणाली नामक पुस्तक प्रकाशनमा ल्याउनुभएको छ।
यस पुस्तकमा लेखकले आफुले विभिन्न अनुसन्धानका क्रममा अपनाएको सिकाई मुल्यांकन प्रणालीको विधिलाई समेट्नु भएकोछ। यही विधिलाई केन्द्रित गरी रोल्पा, दोलखा लगायतका जिल्लामा केही विद्यालयमा सिविन नेपाल मार्फत पाईलट परियोजनाको रुपमा लागु गरी सफल नतिजा प्राप्त भैसकेको कुरा यस किताबमा उल्लेखित अनुसूचीबाट थाह हुन्छ। यसकासाथै यस विधिलाई मुख्य विषय वस्तु बनाई विभिन्न जिल्लामा जिल्ला शिक्षा कार्यालय मार्फत शिक्षहरुलाई तालिम समेत लेखकले दिदै आउनु भएकोछ। शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, विद्यालय, शिक्षकहरुको माग भए अनुसार लेखकले किताबको रुपमा प्रकाशमा ल्याउनु भएको हो।
यस पुस्तकमा कुल ४ ओटा पाठ राखिएका छन्, जसमा १. शिक्षण विधि, (शिक्षा केन्द्रित, विद्यार्थी केन्द्रित, मिश्रित शिक्षण सिकाई विधि), २. कार्यमुलक अनुसन्धान, ३. सिकाईका सैद्धान्तिक अवधारणा र ४. निरन्तर मुल्यांकन प्रणाली रहेका छन्। शिक्षण विधि अन्तर्गत शिक्षक केन्द्रित, विद्यार्थी केन्द्रित तथा मिश्रित शिक्षण सिकाई विधिहरुको वारेमा उल्लेख गरिएको छ। विद्यार्थी केन्द्रित सिकाईमा पनि समूह कार्य, खेल विधि, अवलोकन अध्ययन भ्रमण, खोज तथा परीक्षण जस्ता रचनात्मक शिक्षण विधिहरुको वारेमा दिईएकोछ। यसै गरी सिकाईका सैद्धान्तिक अवधारणा अन्तर्गत। मस्तिष्क विकासको वारेमा व्याख्या गरिएकोछ। यसमा गर्भावस्थामा तथा जन्मेपछि मानव मस्तिष्कको विकास के कसरी हुन्छ बारे लेखिएकोछ।
बाल विकासका चरणहरुमा विभिन्न उमेरमा बच्चाहरुको मनोविज्ञानको बारेमा दिएकोछ। यसमा बिभिन्न उमेरमा बालबालिकामा सिक्ने क्षमता र स्वभाव फरक फरक रहने हुनाले यस्ता कुरा पनि शिक्षक तथा अभिभावकहरुले बुझनु जरुरी हुन्छ। यस पुस्तकमा ० देखि २, २ देखि ७, ७ देखि ११ वर्ष र ११ वर्ष माथिका बालबालिकाहरुको सिकाई तरिका, उनीहरुको रुची, सिर्जनशिलता, निर्णय क्षमता, सहभागिता, बानि व्यहोरा के कस्तो हुन्छ भन्ने सन्दर्भमा उल्लेख गरिएकोछ। यसरी यी कुराहरु थाह पाएपछि उनीहरुको मुल्यांकन पनि सोही अनुसार गर्न जरुरी रहेको कुरा औंल्याइएको छ।
निरन्तर विद्यार्थी मुल्यांकन प्रणाली अन्तर्गत – हाजिरी, रुब्रिक, गृहकार्य, अवलोकन, मुल्यांकन विधिहरु राखिएकोछ। हरेक विधिमा मुल्यांकन विधिलाई सहज बनाउन विभिन्न सुचकहरु राखिएका छन्। जस्तै : गृहकार्य मूल्यांकन : समयमा गृहकार्य गरेको, दिएको सबै गृहकार्य गरेको, गरेको काम सबै ठिक गरेको, पाठय पुस्तक भन्दा थप जानकारी सन्दर्भ खोजी गरी आदि। यस किताबले शिक्षक जोकोहीले गर्ने विद्यार्थीको मुल्यांकन कार्यलाई अझ सहज बनाएकोछ।
यस पुस्तकको अर्को विशेषता भनेको घटना अध्ययन र कार्यमुलक अनुसन्धानको नमुनालाई समावेश गरिनु हो। यसमा लेखकले आफू प्रत्यक्ष संलग्न भई कार्य गरेका जिल्लाहरुमा गरिएका गतिविधि र यस प्रणालीले पारेको प्रभावका वारेमा विभिन्न अनुभवहरुसमेत उल्लेख गरएकोछ। यसका साथै यस पुस्तकमा आवश्यकतानुसार मुल्यांकन फारमहरु पनि संलग्न गरिएका छन्। यसै गरी कार्यमुलक अनुसन्धानको नमुना पनि दिईएकोछ। यसले गर्दा शिक्षक तथा शिक्षाशास्त्रका विद्यार्थीहरुलाई समेत अनुसन्धान पद्धतीका बारेमा बुझ्न सहज हुने देखिन्छ। कार्यमुलक अनुसन्धान नमुनामा –कक्षामा अनुपस्थित विद्यार्थीको अनुसन्धान, घरमा गएर अभिभावकसंग सोधपुछ गर्दा आफ्नै कारणले नगएको पत्ता लागेको, अपाङ्गताको कारण हिनताबोध भएको, अभिभावकले पनि वेवास्ता गरेको, पछि परामर्स गरी नियमित निगरानी राखी, विद्यार्थी नियमित स्कूल जान थालेको कुरा उल्लेख गरिएकोछ। यी अनुसूचीमा समावेश भएका कुराहरुले यस पुस्तकको थप विश्वसनीयता बढाएकोछ।
यस पुस्तक शैक्षिक पाठककोलागि नौलो प्रस्तुती भएकोले लाभदायक त छदैछ। यद्यपी यसलाई अझ प्रभावकारी बनाउनकालागि केही सुधारको आवश्यकता देखिन्छ। सरसर्ती पढ्दै जाँदा शिक्षण विधिमा केही कमी महसुस हुन्छ। यसमा अझ विषयवस्तु थप गर्न सके अझ गहकिलो बन्न सक्छ। यसै गरी अन्य शिर्षकहरुमा पनि आवश्यकताअनुसार सरलीकृत गरी थप विषयवस्तु राखेर रोचक बनाउन सकिन्छ। हरेक पाठमा यसको परिचय, महत्व, र किन आवश्यक छ? नभएमा के बेफाइदा छ जस्ता प्रश्नमा केन्द्रित रही सरल तरिकाले राख्न सकेमा अभिभावक, शिक्षक तथा शिक्षा शास्त्रका विद्यार्थी समेतलाई यस सम्बन्धी ज्ञान हासिल गर्न सहज हुने थियो। घरमा बसेर अभिभावकले के कसरी आफ्ना नानी बाबुहरुलाई गुणस्तरीय शिक्षामा टेवा पुरयाउन सक्छन भन्ने सन्दर्भमा केही विषयवस्तु थप गर्दा अझ राम्रो हुने देखिन्छ।
समग्रमा भन्नु पर्दा अहिले नेपालका अधिकांश सरकारी स्कुलको गुणस्तर खस्कदो अवस्थामा छ यद्यपी अधिकांश गरिब तथा कमजोर आर्थिक अवस्थामा रहेका सर्वसाधारणको पहुँच सरकारी विद्यालय नै हो। सरकारी शिक्षालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ? सर्वत्र चासो र चिन्ताको विषय बनेको छ। यतिबेला सरकारी तवरबाट गुणस्तरीय शिक्षाकोलागि विद्यार्थीहरुको पढाईको विषयवस्तुलाई निरन्तर मुल्यांकन गर्ने नीतिलाई अगाडि सार्ने विषयमा छलफल चलिरहेकोछ। यस अवस्थामा लेखकले आफ्नो अनुभव र ज्ञानलाई पुस्तकको रुप दिई शैक्षिक क्षेत्रका जिज्ञासु पाठक सामु सिकाईका विविध पक्षसंग गरिने निरन्तर प्रणाली उदाहरण सहित प्रकाशित गरी सह्रानीय काम गर्नु भएकोछ। यस पुस्तकलाई गुणस्तरीय शिक्षाको लागि असली खुराक भन्दा फरक नपर्ला। यो पुस्तक पढेर व्यवहारमा लागु गर्न सकियो भने निश्चित रुपमा यसले शिक्षाको गुणस्तरलाई बढाउने काममा टेवा दिनेछ।
पुस्तक : सिकाईका विविध पक्षसंग निरन्तर मूल्यांकन प्रणाली
लेखक : कुछत नारायण चौधरी
मुल्य : रु. २००
पृष्ठ : १०९

 

Leave a Reply

Your email address will not be published.