चुरा र मेहन्दीले सजियो महिलाका हात

Chura And Mehandiकमला चौधरी, बुटवल- बाटोमा, बजारमा, पसलमा, सहरमा, गाँउमा, जताततै हातमा हरियो चुरा र मेहन्दी लगाउनेको भीड देखिन्छ। साना नानीदेखि वृद्धा महिलासम्मकाले हरियो चुरा लगाएको देखिन्छ। अहिले पसलेलाई हरियो चुरा र मेहन्दी लगाउन भ्याइनभ्याई छ। धेरैलाई त यसको महत्वबारे थाहा होला। तर के सबैले थाहा भएकैले लगाएका हुन् वा देखासिकीमा हरियो चुरा र मेहन्दी लगाएर रहर पूरा गरेका हुन्। विवाहित महिलाले श्रीमानको लामो आयुको कामना गर्दै हातमा हरियो चरा र मेहन्दी लगाउने गर्छन्। हरियो चुरा लगाइसकेपछि त्यसलाई सुनमा सुगन्ध थप्नका लागि हत्केलामा मेहन्दीको गाढा रङ्गले सजिएकी बताँउछिन् रुपन्देही, मुर्गियाकी पूजा चौधरी।

चौधरी मात्र होइन, अहिले गाउँ–सहर जहीँतहीँ जुनसुकै उमेरका महिलाले हरियो चुरा र मेहन्दीले आफूलाई सजाएका छन्। मुर्गियाकै लक्ष्मी चौधरीले साउन महिना भनेको हरियाली मौसम खेतबारी पनि हरियाली, वातावरण पनि हरियाली भएकाले पनि हरियो चुरा लगाएको बताइन्।
महिलाले कुनै न कुनै बहानामा साउन महिनामा हरियो चुरा र मेहन्दी लगाएकै हुन्छन्। ‘पोहोर सालदेखि लगाउन सुरु गरेकी हुँ,’ मुर्गियाकै फूलमाया चौधरीले हाँस्दै भनिन्, ‘हरियो चुरा र हत्केला मेहन्दीले रङ्गाएकी छु।’ उनले रहर लागेर मेहन्दी लगाएकी खुलाइन्।
अविवाहित युवतीले असल श्रीमान पाउँ भनेर पनि यस्तो रित पूरा गरेको मान्यता रहँदै आएको छ। ‘साउनमा हरियो चुरा लगाउनु, मेहन्दी लगाउनु मेरो सौख हो, अविवाहित मीना थारुले भनिन्, ‘असल र स्वस्थ श्रीमानको कामना गर्दै पनि मेहन्दी लगाएकी हुँ।’ उनले मुस्कुराउँदै हुनेवाला श्रीमानकै नामम हरियो चुरा र मेहन्दी लगाएको खुलाइन्।
बुटवलकी फूलमाया चारुलाई हरियो चुरा किन लगाउनु भयो भनेर सोध्दा उनले श्रीमानको लामो आयुको लागि भनेर उत्तर दिइन्। ‘म मेरो श्रीमानको लामो आयु र परिवारमा शुख शान्तिका लागि प्रत्येक वर्ष लगाउने गर्छु,’ उनले भनिन्।
साउनको हरियो चुरा प्रेमीका लागि प्रेम प्रकट गर्ने राम्रो माध्यम पनि बन्न थालेको छ। बुटवलका चुरा पसलमा आङ्खनी प्रेमीकालाई खुसी बनाउन चुरा किनिदिन जाने युवाको कमी छैन। चुरा पसलमै भेटिएका दर्शन श्रेष्ठले भने, ‘म मेरो प्रमिकाको लागि हरियो चुरा किन्न आएको हुँ। यो चुरा मैले उनलाई उपहारस्वरुप दिनेछु। यसले हाम्रो माया अझ प्रगाढ हुने विश्वाुस छ।’ उनले मायाको चिनोस्वरुप उनले स्वीकारे हाम्रो माया सधैं अटल रहने विश्वास ब्याक्त गरे।
यसरी सबैले आ-आफ्ना तरिकाबाट साउनमा हरियो चुरा र मेहन्दी लगाएर एउटा चाडजस्तै मनाउने गर्छन्। हरियो चुरा र मेहन्दीले नारीको सौर्न्दयता बढाउनुको साथै संस्कारी समाजको विकास पनि गर्छ।
साउनभरि हातमा हरियो चुरा र मेहन्दी लगाउँदा व्यापारीलाई पनि फाइदा हुने बारा घइ भइ बुटवलमा चुरा व्यापार गर्दै आएका शतेन्द्रकुमार गुप्ताले बताए। उनले भने, ‘साउनमा राम्रो व्यापार हुन्छ। सादा चुरा रु ३० र कडाइवाला रु ४० देखि २०० सम्मको बिक्री हुन्छ। सबै प्रकारको चुरा राम्रो व्यापार हुन्छ।’ उनले दिनमा ५ हजारसम्मको बिक्री हुने बताए।
साउनको प्रत्येक सोमबार महिलाहरु ब्रत बस्ने र बोलबाम जाने प्रचलन पनि बढ्दै गएको छ। हरियो चुरा, मेहन्दीमात्र नभएर महिलाहरु निराहर ब्रत बस्ने गर्छन्। प्रत्येक सोमबार बिहानै स्नान गरी मन्दिरमा पूजा गर्न जाने युवतीकै संख्या बढी हुने गर्छ।
हिन्दु धर्मअनुसार यो महिना ब्रत बसे आफूले खोजेजस्तो पति पाइने विश्वास छ। त्यसैले पछिल्लो पटक किशोरीहरु यो महिना ब्रत बस्ने र हरियो चुरा तथा मेहन्दीमा सजिने गर्छन्। हुन त चुरा महिलाको सौर्न्दर्यको उत्तम प्रसाधन हो। त्यसैमाथि धार्मिक आस्था जोडिएको कारण फेसनकै रुपमा अहिले हरियो चुराको क्रेज छ। मेहन्दी महिलाको ७ हजार वर्ष पुरानो सौन्दर्यसाधन भएको मानिन्छ। यही सौन्दर्यसाधनको धार्मिक विश्वासका साथ साउनमा यसको चलन बढेको छ। भगवान हरि ४ महिनाका लागि शयन गरेको महिना पार्वतीले भगवान शिव प्राप्त गरुँ भनि ब्रत बसेको र शिवलाई पाएको महिना पनि साउन रहेको हुँदा धामिर्क रुपले यो महिना विशेष मनिन्छ।
‘मैले मेरो श्रीमानका लागि ब्रत बसेकी हुँ, मुर्गियाकै अर्की प्रतिमा श्रेष्ठले भनिन्, ‘उहाँको आयु लामो होस्।’ उनले प्रत्येक पाइला सफल हुने मनोकामनाका साथ निराहार ब्रत बस्ने बताइन्।
हिन्दू महिलाले साउन महिनालाई विशेष महत्वका रुपमा लिने गर्छन्। साउनमा पार्वतीले शिवलाई पाउन ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धामिर्क विश्वासमा हिन्दु महिलाले श्रीमानको भलाइको कामना गर्दै ब्रत बस्दै आएका छन्।
साउन महिनामा रहेको ५ वटा सोमबारमा भगवान शिवको विशेष पूजा गरिन्छ। शिवको पूजा गर्नाले आङ्खनो मनोकामना पूरा हुने साथै पतिपरमेश्वरको आयु बढ्ने ज्योतिषहरुको भनाइ छ।
काठमाडौंको पशुपतिनाथ, नवलपरासीको त्रिवेणीधाम, रुपन्देहीको पर्रोहा परमेश्वर, कपिलबस्तुको लक्ष्मनघाट, गुल्मीको ऋणिमा अक्सर भक्तजनको भीड हुने गर्छ। हाम्रा सांस्कृतिक धरोहरहरुलाई जोगाइ राख्न के युवा के युवती वा वृद्धवृद्धा सबै लागि परे हाम्रो देश सधैंभरि सांस्कृतिक, धामिर्क सम्पदामा धनी भइरहनेछ।
जे होस् प्राकृतिकरुपमा हराभरा रहने यो महिनामा शिवको पूजा गर्दै महिलाहरु आफूलाई पनि हरियो चुरा र मेहन्दीबाट हराभरा बनाइरहेका छन्। आफूलाई फेसनमा सजक राख्नज खोज्ने तन्नेरी पुस्ता फेसनकै रुपमा भए पनि नारीको सौन्दर्य सामग्रीलाई प्रयोग गरेका छन्। यो एक महिना लामो समय गाउँघर, सहर, बजार, हिमाल, पहाड, तराई-मधेस हरियो चुराको छिनछिन्मा रमाइरहेको हुन्छ।

Leave a Reply

Your email address will not be published.