एक वर्षमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु

रत्ननगर- चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा १४ जनाको मृत्युभएको छ। चितवन राष्ट्रिय निकुञ्जले दिएको तथ्याङ्कअनुसार एक वर्षको अन्तरालमा हालसम्म बाघको आक्रमणबाट मात्रै सबैभन्दा बढी ७ जनाको मृत्युभएको छ। यस्तै हात्तीको आक्रमणबाट ६ जना र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ।

निकुञ्जका रेन्जर विष्णु थपलियाका अनुसार २०६९/२०७० को अहिलेसम्ममा वन्यजन्तुको आक्रमणबाट १५ जना घाइते भएका छन्। बँदेलको आक्रमणबाट ६ जना, गैँडा तथा बाघको आक्रमणबाट ७ जना र भालुको आक्रमणबाट २ जना घाइते भएका छन्।

हिजो बिहीबार मात्रै चितवनको गीतानगरमा एउटै बाघले २ जनाको ज्यान लिएको छ भने एक जनालाई घाइते बनाएको छ। यसको केही महिनाअघि मात्रै निकुञ्जमा देखिएको ध्रुवे नामको हात्तीले एक बोट दम्पत्तीसहित यहाँ ४ जनाको ज्यान लिएको थियो। निकुञ्जको तथ्याङ्कमा पनि पछिल्लो पाँच वर्षमा निकुञ्जका वन्यजन्तुबाट मानिसलाई आक्रमण गर्ने क्रम भने बढीरहेको पाइएको छ।

पाँच वर्षको अन्तरालमा वन्यजन्तुबाट ३५ जनाको मृत्यु भएको र ६६ जना घाइते भएकोमा सबैभन्दा बढी घटना यही पछिल्लो वर्ष नै भएको रेन्जर थपलियाले बताए।

वन्यजन्तु विज्ञहरूका अनुसार कतिपय घटनाहरू निकुञ्ज बाहिर बस्तीमा घटना घटेकाले भित्र बासस्थान र आहारा प्रजातिको अभाव भएको अनुमान गरिएको छ। त्यसैले वन्यजन्तु बस्तीमा छिर्ने क्रम बढेको जानकारहरूको भनाइ छ। रासस

Leave a Reply

Your email address will not be published.