युरोपजस्तै युएई

europडी. विनोद- दुईचार पैसा कमाएर जिन्दगीमा केही गर्न चाहने नेपाली युवाहरूको सपनाको देश भएको छ, युएई। यहाँ राम्रो आम्दानीमात्रै हुँदैन, सामाजिक स्वतन्त्रता पनि पर्याप्त छ। ‘कतारलगायत अन्य खाडी देशभन्दा यहाँ स्वतन्त्रता र आम्दानी बढी भएकाले यहाँ आउनेको संख्या बढेको हो,’ दुबईमा कार्यरत मोरङका बाबुराम फुयाँलले इमेलमार्फत भने, ‘म पनि यहाँ आएको पाँच वर्ष भयो।’

युएई विश्वव्यापारीकरणको दिशामा चल्न थालेपछि यहाँ काम गर्ने वातावरण सहज छ। त्यसैले नेपालीहरूको आकर्षण बढेको हो। ‘यहाँ व्यापार क्षेत्रमा नेपाली कामदारको माग बढेको छ,’ फुयाँलले भने, ‘म पनि एक छापा कम्पनीमा मेसिनम्यानका रूपमा आएको हुँ। कडा मेहनत पर्दैन र राम्रो आम्दानी हुन्छ।’ उनी दुबईमा पूर्ण सन्तुष्ट छन्।

राजधानी आबुधावीस्थित एक अर्धसरकारी प्रेसमा कार्यरत सप्तरीका विनोद पौडेलले टेलिफोनमा भने ‘म यहाँ आएको तीन वर्ष भयो। यहाँ काम सजिलो छ र आम्दानी पनि राम्रो छ।’

युएईका फरक–फरक ठाउँ जाने नेपालीको संख्या कम छैन। अन्य खाडी राष्ट्रमा लाग्ने शुल्क र उक्त मुलुकमा लाग्ने शुल्कमा पनि त्यति फरक नभएपछि पाँचदश हजार रुपैयाँ बढी तिरेर भए पनि राम्रो आम्दानी हुने देश जानेहरूको संख्या बढ्न थालेको हो। ‘सातामा एक हजारभन्दा बढी नेपाली यहाँ आउने गरेका छन्,’ दुबईमा सेल्सम्यानको काम गरिरहेका खगेन्द्र अधिकारीले भने, ‘अहिले हाम्रो कम्पनीमा मात्रै झन्डै एक सय नेपाली थपिइसकेका छन्।’ त्यहाँको सेल्स कम्पनीमा कम्तीमा तीन सय नेपाली रहेको उनले जानकारी दिए।

वैदेशिक रोजगार विभागमा धाउनेहरू पनि दुबई जान प्रयास गर्ने कम छैनन्। ‘अहिले अरबमा युएई राम्रो भएकाले त्यहाँ जाने तयारीमा छु,’ विभाग परिसरमा श्रम स्वीकृतिका लागि आएका तनहुँ, बेनीका प्रमोद राईले भने, ‘मेरा थुप्रै साथीहरू दुबई जाने तयारीमा छन्।’

विभिन्न बहुराष्ट्रिय कम्पनीले दुबई शाखा विस्तार गरेका कारण पनि त्यहाँ जाने नेपालीको संख्या बढेको हो। गएको चैतमा मात्र कम्तीमा ११ हजार २४४ जना नेपाली युएईका लागि उडेका थिए। वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार १० हजार ५२३ जना पुरुष र ७२१ जना महिला त्यहाँ पुगेका थिए। ‘अन्य मुलुकको जस्तो घरेलु कामदारमा मात्र होइन, बहुराष्ट्रिय कम्पनीका अन्य विभागमा पनि नेपाली महिलाले रोजगारी पाउन थालेका छन्,’ दुबईमा रहेको केएफसी पिज्जा कम्पनीमा कार्यरत सुनसरीकी कविता बस्नेतले भनिन्।

पछिल्लो समय खाडीका कतार, ओमान, बहराइन, लेबनान, कुवेतलगायत देशमा नेपाली कामदारको माग बढिरहेको छ। आर्थिक र सामाजिक सुरक्षा भएको र कानुनी अवरोध कम भएको युएईमा नेपाली जाने क्रम बढ्न थालेको छ। युरोपेलीहरूको पर्यटकीय देशका रूपमा विकास भइरहेको युएईमा निर्माणको काम कम र अन्य काम ज्यादा हुन थालेपछि त्यहाँ नेपाली जाने क्रम बढेको हो। गत साउनदेखि चैतसम्मको आधिकारिक तथ्यांकलाई नियाल्दा श्रम स्वीकृति लिएर त्यहाँ जाने नेपालीको संख्या ७५ हजार ७२३ पुगिसकेको छ। ‘अन्य मुलुकभन्दा सुविधा र आम्दानीमा राम्रो हुने भएपछि युएईमा काम गर्न सहज छ,’ केही महिनाअघि नेपाल फर्किएकी बस्नेतले शुक्रबारसँग भनिन्, ‘युरोपजस्तै छ युएई।’

Leave a Reply

Your email address will not be published.