अनिजद्वारा कैलालीका पत्रकारहरुलाई सम्मान

कैलाली- नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कैलाली जिल्ला शाखा कैलालीले दुई जना पत्रकार र एउटा सञ्चारगृहलाई समावेशी पत्रकारिता सम्मान २०७० द्वारा सम्मान गरेको छ। अनिज कैलालीको दोस्रो जिल्ला अधिवेशनको अवसर पारेर जनजातिको अधिकारको सवाल तथा जातीय पहिचानसहितको संघीयताका पक्षमा समाचार प्रसारण/प्रकाशन गरेको कदर गर्दै एबीसी टेलिभिजन सुदूरपश्चिम ब्यूरोलाई समावेशी पत्रकारिता सम्मान–२०७० ले सम्मानित गरिएको हो। ब्यूरो प्रमुख प्रकाश विक्रम शाहले उक्त सम्मान ग्रहण गरे। यस्तै सेती समाचार दैनिकका सम्पादक घनबहादुर शाह र पहुरा थारु दैनिकका सम्पादक प्रेम चौधरीलाई पनि समावेशी पत्रकारिता सम्मानले सम्मानित गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं अनिजका केन्द्रीय उपाध्यक्ष गणेश चौधरीले खाता ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए । अनिज कैलालीले सम्मानका लागि केन्द्रीय उपाध्यक्ष चौधरी संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ कैलालीका सचिव सन्तोष कठरिया र थारू कल्याणकारिणी सभा कैलालीका सचिव माधव थारू सदस्य रहेको तीन सदस्यीय मूल्यांकन समितिले सम्मानित हुने पत्रकार र सञ्चारगृह छनौट गरेको थियो ।
अधिवेशनबाट अनत चौधरीको अध्यक्षता नौं सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ। समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः दिलबहादुर चौधरी, राम दहित, सुमन कुमारी चौधरी र रविना चौधरी चयन भएका छन्। यस्तै, सदस्यहरुमा चम्पा कठरिया, लखन चौधरी, नरेन्द्र चौधरी र दिनेश दहित चयन भएका छन्। अधिवेशनले मुकेश टेंर्रा र मस्तवीर कर्‍याकङ्‍ग्रहवालाई जेठ २६ गते पोखरामा हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि चयन गरेको छ।

Leave a Reply

Your email address will not be published.