अन्तिम लडाइँको तयारीमा मुक्त कमलरी

kamalariसन्तोष दहित, दाङ- कमलरीमाथि शृङ्खलाबद्धरुपमा भइरहेको हत्या हिंसा, बलत्कार र आगजनीविरुद्ध दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरी अन्तिम लडाइँको तयारीमा जुटेका छन्। गाँउगाँउ टोलटोलमा अहिले मुक्त कमलरी आफैं त्यहाँ पुगेर गाँउका महिला दिदीबहिनीलाई भेला गरी अन्तिम लडाइँमा सहभागिको लागि अनुरोध गर्न थालेका छन्। पछिल्लो चरणमा आफ्ना सहकर्मी साथी लालमटिया निवासी कमलरी सृजना चौधरीको ललितपुर जिल्ला चाकुपाटस्थित इनजिनियर युवराज पौडेलको डेरामा आगलागी मृत्यु भएको खबर पाएपछि उनीहरु अहिले संगठित हुन थालेका हुन्। 
कहिले हत्या, कहिले आत्महत्या, कहिले बलत्कार त कहिले कुमारी आमा भएको खबर सहन नसक्ने रक्षाका लागि आन्दोलनमा जानु परेको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष मन्जिता चौधरीले बताइन्। ‘हाम्रा साथीहरुमाथि दमन भइरहेको छ, हत्या भइरहेको छ,’ उनले भनिन्, ‘ती हत्यारा, ती अपराधीलाई सरकारले चाँडोभन्दा चाँडो कारबाही गरियोस्।
उनले कारबाहीका लागि पटक पटक जिल्ला प्रशासन र प्रहरी कार्यालय धाउँदा पनि सुनावाइ नभएको गुणासो गरिन्। ‘१२ वर्षीया सृजना चौधरीको विभत्स हत्या भएको छ,’ उनले भनिन्, ‘त्यसको निष्पक्ष छानबिनका लागि जिल्ला प्रशासनमा तथा जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाउँदा पनि अपराधि खुलेयाम घुमिरहेको छन्।

हत्याराको नाम किटानीसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिँदा पनि पक्राउ नगरेकैले कमलरीमाथि हत्या, बलत्कार र आगजनी भइरहेको छ। ती हत्यारालाई कानुनी कठघरामा उभ्याउनका लागि कानुनी प्रक्रियमा जाँदा पनि यहाँका कानुन गरिबका लागि केही गर्न नसकेको उनले बताइन्। ‘हामीले कानुनी तवरबाट धेरै आवाज निकाल्यौं,’ उनले भनिन्, ‘सम्बन्धित पक्षले नसुनेकै कारण सडक आन्दोलन गर्न बाध्य भयौं।’

‘केही दिनअघि दुई पश्चिम तराईमा दुई बन्द गर्दा पनि राज्यले छानबिन प्रक्रिया अघि बढाएन,’ उनले भनिन्, ‘त्यही भएर अहिले गाउँ गाउँ गएर आन्दोलनको तयारी गरिरहेका छौं। उनका अनुसार सबै भेला भएर कमलरीविरुद्धको दमनमा अन्तिम लडाइँ लड्ने बताइन्।
उनले अबको केही दिनमा अनिश्चितकालीन बन्दको घोषणा गर्ने तयारी भइरहेको बताए। त्यो आन्दोलनले ठूलो आँधीबेहरी ल्याउने उनको दाबी छ। उनका अनुसार अबको आन्दोलनमा हजारौंका संख्यामा महिला दिदीबहिनी सडकमा ओर्लिनेछन्।

उनले अन्तिम लडाइँमा थारु कल्याणकारिणी सभालगायत राजनीतिक पार्टीका भातृसंगठन गरी करिब तीन दर्जन बढी संघसस्थाको एक्यबद्धता रहनेसमेत खुलाइन्। उनका अनुसार दुई जना कमलरीलाई मट्टितेल खन्याइ आगो लगाइ हत्या गरिएको छ भने तीन जना कमलरीलाई घाटीमा पासो लगाइ हत्या गरिएको छ। २६ जना कमलरीलाई बेपत्ता गराइएको र ४० जना कमलरीलाई योन शोषण गरिएको तथ्यांक रहेको उनले बताइन्।
यस्ताखाले क्रियाकलाप गर्ने जोकोहीलाई कानुनी कठघरामा उभ्याउन नसक्दा झन् यस्ताखाले घटना मौलाउँदै गएको उनले बताए।
अन्तिम लडाइँले कमलरी सृजना चौधरीलगायतको हत्या छानबिनका लागि राज्यले एक उच्च स्तरिय छानविन टोली गठन गर्नुपर्ने। हालसम्म बेपत्ता कमलरीको अवस्थाबारे अध्ययन गरी कमलरीको अवस्था र बेपत्ता हुनुको कारण खोजी गर्न राज्यले तत्ककाल अध्ययन गर्नुपर्ने। हालसम्म कार्यरत कमलरीको अध्ययन गरी उनीहहरुको तत्काल उद्धार गरी जोखिमबाट बचाउनुपर्ने लगायतका मुद्दा माग गर्दै आन्दोलनमा जान लागेको उनले बताए।
आन्दोलनलाई सफल बनाइदिन सबै राजनीतिक दल, नागरिक समाज, उद्योग व्यापारी, व्यवसायी, मानवअधिकारर्मी तथा पत्रकारलगायत सबैमा विशेष सहयोगको अपिल उनले गरेकी छन्।

Leave a Reply

Your email address will not be published.