धनगढीमा चट्याङले तीनको मृत्यु

धनगढी- गएराति हावाहुरी र वर्षासहित परेको चट्याङका कारण कैलाली र डोटी जिल्लामा गरी तीनजनाको मृत्यु भएको छ। कैलालीको मध्यक्षेत्रको बौनिया गाविस–२ मैनापोखरी गाउँका सोसुराम चौधरीको घरमा राति परेको चट्याङबाट उनकी श्रीमती अन्दाजी २६ वर्षीया टीकादेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
चट्याङ लागेर बेहोस भएकी चौधरीको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। चट्याङबाट बेहोस भएका सोसुराम र उनका १३ वर्षीय छोरा निराजनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटनामा चौधरीको एक चौपायासमेत मरेको छ।
यसैगरी, डोटीको पश्चिमी सीमा क्षेत्र घण्टेश्वर गाविस–३ घोरडी गाउँमा परेको चट्याङ लागेर स्थानीय ६० वर्षीय तारासिं मल्ल र ५५ वर्षीया रामकली डाँगीको मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मल्लले बताए।
चट्याङका कारण बेहोस भएका दुवै जनाको उपचारार्थ धनगढीतर्फ ल्याउँदै गर्दा बाटैमा राति मृत्यु भएको हो। उक्त घटनामा घाइते भएका अन्य १५ जनलाई उपचारार्थ अस्पतालतर्फ ल्याउँदै गरिएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बुझिएको छ।
हावाहुरीसहित भएको वर्षाले कैलालीमा भर्खरै काटेर खेतमा थुपारिएको गहुँबाली भिजेर क्षति पुगेको छ। रासस

Leave a Reply

Your email address will not be published.