निर्वाचनको मिति चाँडै तोक्न चौधरीको माग

Surendra Chaudharyवीरगन्ज- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले आउँदो मङ्सिरमा संविधान सभाको निर्वाचन हुनेमा कांग्रेस पूर्ण विश्वस्त रहेको बताएका छन्। नयाँ वर्षको उपलक्ष्यमा नेपाल निजामती कर्मचारी युनियन पर्साद्वारा यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, ‘वर्तमान सरकार निर्वाचनका लागि नै बनेका हुनाले विधिसम्मत तरिकाले संविधानसभा निर्वाचनको मिति चाँडोभन्दा चाँडो तय गर्न सरकारसँग आग्रह गर्छु।’
सभापति चौधरीले अब हुने चुनावमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित गराउन युनियनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। युनियनका जिल्ला अध्यक्ष सचितानन्द सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा युनियनका केन्द्रीय सचिव मनोज तिवारीले स्वच्छ, निष्पक्ष तथा भ्रष्टाचारमुक्त सेवामा युनियनको प्रतिबद्धता रहेको बताए।
कार्यक्रममा निजामती कर्मचारी, ट्रेड युनियनकर्मी, समाजसेवी र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता थियो। यसैबीच, वीरगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लामखुट्टे आतङ्क बढेपछि त्यसलाई नियन्त्रण गर्न र सहरको व्यवस्थित सरसफाइमा जोड दिन माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय समिति पर्साले नगरपालिकालाई एक ज्ञापनपत्र बुझाएको छ। रासस

Leave a Reply

Your email address will not be published.